पछिल्लो समय हाम्रो देशमा बसाइँसराइ अत्यन्तै बढ्दै गएको छ । अहिले यो तीन दशकको तथ्यांक हेर्दा बसाइँसराइ बढ्दो क्रममा छ । एकातिर आन्तरिक बसाइँसराइको समस्या छ भने पछिल्ला वर्षहरुमा आप्रवासन र प्रवासका समस्याहरु पनि थपिएका छन् । युवाहरू कामको सिलसिलामा शहर पस्ने र विदेशिने संख्या दैनिक रूपमा बढ्दो छ । चाहे त्यो अध्ययनको बहानामा होस् या कामको खोजीमा, डीभीको नाममा होस् वा अनेक बहानामा युवाहरू विदेशिंदै छन् । यो हुनै नहुने काम भइरहेको छ । यसमा राज्य पक्ष मौन प्रायः छ । दैनिक हजारौं युवाहरु बिदेशिएर पुरै गाउँ नै रित्तो हुँदासम्म राज्य पक्षले कुनै सुनुवाइ गर्दैन भने यो राज्यसँग अरु थप अपेक्षा के गर्न सकिन्छ त ? आजको दिनमा यो गम्भीर प्रश्न भएर आएको छ ।
पहिले धेरै चहलपहल हुने गाउँघर अहिले सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन बाँझो भएका छन् । पहिला प्रत्येक घरमा कम्तीमा ६–७ जना परिवारका सदस्य हुनेमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्धवृद्धा बुबाआमा मात्र भेटिन्छन् । उनीहरु बिरामी पर्दा अस्पताल लैजाने मान्छेसम्म कोहि गाउँघरमा छैनन् । यो सब देख्दा गाउँघरमा वृद्धवृद्धाको अवस्था एकदमै नाजुक भएको अनुभुति हुन्छ । लगभग सबै जसो गाउँघरको अवस्था त्यस्तै छ । त्यहाँ युवाहरू छैनन्, वृद्धवृद्धा मात्र छन् । वृद्धवृद्धा बिरामी हुँदा अस्पतालसम्म पु¥याउने व्यक्ति कोहि छैनन् भन्ने कुरा छोराछोरीलाई थाहा हुँदा हुँदै पनि उनीहरु बाध्यताले विदेशीन बाध्य छन् । यो कुरा राज्यले बुझेर कि त युवाहरूलाई विदेश जानबाट रोक्न सक्नुपर्छ या त बृद्धअबस्थामा रहेका आम नागरिकलाई सुविधा सम्पन्न आश्रममा राख्न पहल गर्नुपर्छ । होइन भने हाम्रो देशमा आम वृद्धवृद्धाहरुको अवस्था दिनानुदिन नाजुक बन्दै जाने निश्चित छ ।
अहिले धेरै जसो युवाहरु विशेष गरि चितवन, सुनसरी, सिन्धुपाल्चोक, रामेछाप, सर्लाही, पश्चिमका केही जिल्ला लगायत विभिन्न अन्य जिल्लाका गाउँमा युवाहरु एकदमै कम भएको विभिन्न अध्ययनले बताउँछ । त्यहाँका युवा कोही कामको लागि शहर पसेका छन् भने केहि विदेशिएका छन् । घरमा अशक्त, रोगी या वृद्धवृद्धा मात्र छन् । यो अत्यन्तै दुःख लाग्दो कुरा हो । हाम्रो देशमा राज्यले कुनै पनि सुविधा नदिएको कारण छोराछोरीले नै घरमा बुवाआमाको हेरविचार गर्नु पर्ने अवस्था छ । तर युरोप, अमेरिकातिर १८ वर्ष पुगेपछि परिवारसँग अलग भएर बस्ने चलन छ । त्यहाँ त्यसबेला वृद्धवृद्धालाई सरकारले नै हेरचाह गर्छ । नेपालमा भने परिवारसँग नै बस्ने चलन छ । हाम्रो देशको संस्कार अनि चलन वृद्ध अवस्थामा आफ्ना बुवा आमालाई सन्तानले हेरचाह गर्नुमा हामी सबै गौरव गर्दछौं । यो हाम्रो कर्तव्य पनि हो । तर युवाहरू धमाधम विदेशिएका कारण हेरचाह गर्ने सन्तान पनि छैनन् र सरकारले पनि हेरचाह गर्दैन, जसले गर्दा आजभोलि वृद्धवृद्धामा निराशपन देखिन थालेको छ ।
वृद्धवृद्धासँग आफ्नो कुरा सुनिदिने पनि कोही छैनन् । उनीहरुलाई आफ्नो सन्तान आफूलाई छाडेर बाहिर नजाउन् भन्ने त हुन्छ, तर देशमा भविष्य नदेखेपछि आफ्ना छोराछोरीहरु विदेशिन बाध्य भएको कुरामा उनीहरु चित्त बुझाउँछन् । विदेशिएका सन्तानले पैसा त पठाउलान् तर समस्या परेको बेला सहयोग गर्ने कोही हुँदैनन् । बिरामी परेको बेला अस्पताल पु¥याउने मान्छे समेत भेटिंदैन । यो समस्यालाई मध्यनजर गर्दै राज्यले कुनै न कुनै उपाय निकाली यो समस्या तत्काल हल गर्न लाग्नुपर्छ ।
बुढेसकालमा त्यसै पनि कमजोर हुनेहुन्छ । यो अवस्था भनेको आरामले सबैको साथमा रमाउँदै बस्ने समय हो । शरीर कमजोर हुन थाल्छ , स्मरण शक्ति र सहनशक्ति निकै कम हुन्छ, साथै विभिन्न रोगले सताएको हुन्छ । प्रायः सबै कामका लागि अरुको भर पर्नुपर्ने हुन्छ । यी सबै कुरालाई सहेर बसिरहेका वृद्धवृद्धामा एक्लोपनको समस्याले झन् धेरै सताउँछ । वृद्ध अवस्था भनेको बालापन जस्तै संवेदनशील हुन्छ । यस्तो बेला भनेको विशेष हेरचाह, रेखदेख, साथ, सहयोग, माया, सद्भावको आवश्यकता हुन्छ । तर आजभोलि प्रायः घरमा वृद्धवृद्धा मात्र हुन्छन् । सन्तान काम र पढाइको लागि शहर वा विदेश गएका हुन्छन् । जसले गर्दा वृद्धवृद्धामा मानसिक समस्या बढिरहेको छ । वृद्धावस्थामा सन्तानको माया र हेरचाह नपाउँदा वृद्धवृद्धामा विभिन्न किसिमका मानसिक समस्या समेत देखिन थालेका प्रशस्तै उदाहरणहरु देख्न सकिन्छ ।
संयुक्त परिवारमा बस्ने हाम्रो नेपाली समाज बिस्तारै एकल परिवारतिर मोडिन थालेको छ । आजभोलि आमाबुबा र छोराछोरी तीन–चार जनाको मात्र परिवार हुन्छ । त्यो तीन–चार जनाको परिवारमा पनि छोराछोरी पढाइ तथा कामका लागि विदेशिदा बुढा बाबुआमा मात्र घरमा हुन्छन् । संयुक्त परिवारमा बस्दा एउटाको कुरा अर्कोले सुन्छ, सहयोग गर्छ, जसले गर्दा वृद्धवृद्धा तनाव मुक्त हुन्छन् । तर वृद्धा अवस्थामा सन्तानसँग छुट्टिएर एक्लै बस्दा अनिद्रा, चिन्ता र निराशा बढ्छ । यो कुरा सबैलाई थाहा भएर पनि थाहा नभएको जस्तो गर्नु परेको छ । एक्लोपनले एन्जाइटी, डिप्रेसन र साइकोसिस जस्ता मानसिक रोग निम्त्याउँछ । वृद्धावस्थामा तनाव कम गर्न कतिपयमा रक्सी सेवन गर्ने लत समेत बसेको देखिन्छ । जुन कुरा अत्यन्तै नराम्रो हो ।
वृद्ध उमेरमा एक्लै बस्दा विभिन्न मानसिक समस्या आउने हुन्छ । यस्तो अवस्थामा छोराछोरीले बेलाबेलामा भेट्न जानुपर्छ । यो सम्भव नभए फोन वा भिडियो कलमा कुराकानी गरिरहनुपर्ने हुन्छ । बच्चा सानो हुँदा आमाबुबाले कति धेरै हेरचाह गरेर हुर्काएका हुन्छन् । बुढो भएपछि आफूलाई पनि सन्तानले यसरी नै हेरचाह गरोस् भन्ने आश उनीहरूमा हुन्छ । त्यसैले सँगै बसेर हेरचाह गर्न सकिंदैन भने पनि उनीहरूलाई भिडियो कल गरेर सञ्चो बिसञ्चो सोध्ने, आवश्यकता के छ सोध्ने, उनीहरूलाई आफ्नो कुरा सुनाउने, उनीहरूको कुरा सुन्ने गर्नुपर्छ । यसले एक्लोपनका कारण वृद्धवृद्धामा देखिने मानसिक समस्या कम गर्न सहयोग गर्छ ।