पनौती नगरपालिकाको जनमुखी काम, विपन्न परिवारको निःशुल्क बीमामा नाम


 

पनौती, पनौती नगरपालिकाले विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । पनौती नगरपालिका वडा नम्बर ५ चौकोटका रामकृष्ण कुवा श्रेष्ठको ४ जनाको परिवारको स्वास्थ्य बिमा गरेर मेयर विपन्न स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरिएको हो ।
उक्त परिवारलाई नगर प्रमुख भिम न्यौपाने र उप–प्रमुख गिता बञ्जाराले संयुक्त रुपमा स्वास्थ्य बीमा परिचयपत्र हस्तान्तरण गर्नुभएको छ । यससँगै अब श्रेष्ठ परिवारले १ लाख बराबरको उपचार निःशुल्क प्राप्त गर्नेछ । आर्थिक अभावकै कारण स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम सुरु गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । बीमा कार्ड लिँदै रामकृष्णका जेठा छोरा कपिलले यसअघि परिवारमा कोहि बिरामी हुँदा पैसाका लागि आफन्त र सहकारीको खोजीमा धेरै भौतारीनुपरेको गुनासो गर्नुभएको छ । नगरपालिकाले आफुहरुलाई पनि सम्झेर कार्यक्रम सुरु गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

पनौती नगरपालिकाले वडा समितिको सिफारिस अनुसार विपन्न दलित, जनजाती, अपांगता भएका व्यक्ति र एकल परिवारको निःशुल्क बीमा गर्ने योजना बनाएको छ । जसअन्तर्गत नगरपालिकाका ६ सय परिवारको नगरपालिकाले निःशुल्क बीमा गरिदिने स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो । नागरिकका लागि पहिलो सेवा लिने स्थान धुलिखेल अस्पताल र रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपा तोकिएको छ । पनौती नगरपालिका वडा नम्बर ५ मा ५६ परिवारको निःशुल्क बीमा गर्ने सुब्बागाउँ स्वास्थ्य चौकीका इन्चार्ज विनोद प्रसाद कुँइकेलले बताउनुभयो । स्वास्थ्य बीमाप्रति चासो राख्नेहरु पनि बढ्दै गएका दर्ता सहयोगी संगिता गिरीको भनाई छ । सरकारले ७० वर्षमाथीका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिरहेको । यस्तै ५ जनासम्मको परिवारले ३५ सय रुपैयाँ शुल्क तिरेर १ लाख बराबरको बीमा गर्न सकिन्छ भने त्यसभन्दा माथी प्रतिव्यक्ति ७ सय रुपैयाँ शुल्क थपिने छ । पछिल्लो समय बीमा प्रति आकर्षण बढ्दै गएको छ । पनौती नगरपालिकाले सुरु गरेको निःशुल्क सवास्थ्य बीमा कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको अर्को महत्वपुर्ण कार्यक्रम मानिएको छ । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्