यसो गर्दा सुध्रिन सक्छ–देशको कृषि क्षेत्र–प्रल्हाद दाहाल


 

नेपालका अधिकांश क्षेत्रमा अझै पनि निर्वाहमुखी र परम्परामा आधारित कृषि प्रणाली कायमै छ । अहिलेको ग्रामीण परिवेशलाई हेर्ने हो भने व्यक्ति विशेषले ( सामान्य कृषकले ) चाहेर पनि कृषिमा सुधार गर्न सक्ने अवस्था छैन। मूख्य पेशा कृषि भए पनि शिक्षित तथा दक्ष जनशक्तिहरु अवसरको खोजीमा शहर केन्द्रित हुनुका अतिरिक्त विदेशी भूमितिर आफ्नो भविष्य खोज्न थालेकाले पनि यो क्षेत्र थप चुनौती देखिन्छ । यसको मूल कारण स्थानीयदेखि सङ्घीय सरकारसम्म कृषि क्षेत्रको विकासमा उदासीन देखिनु नै मुख्य कारण हो । सरकारका तर्फबाट कृषकका नाममा उपलब्ध हुने विभिन्न प्रकारका अनुदान तथा सहयोगमा वास्तविक कृषकलाई पहुँचबाट टाढा राखिन्छ । अझ भनौं यस्ता खाले अनुदान वा सहयोग कर्मचारी र नेताहरुकै आफन्त तथा कार्यकर्ता पोस्ने काममा प्रयोग हुन्छ । कृषि क्षेत्रको विकासमा केन्द्र र प्रदेश सरकार भन्दा स्थानीय सरकारले यस्ता सहयोगमा थोरै पनि इमानदारिता देखाइदिने हो भने हामीले चाहे जस्तो परिवर्तन आउन धेरै समय खर्च गर्नुपर्ला जस्तो लाग्दैन । कृषि क्षेत्र सुधारका लागि निम्न अनुसार गर्न सके सुधार गर्न सकिने देखिन्छ ।
१. हरेक गाउँपालिका वा नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका जग्गा–जमिनलाई विशेष गरी आवास योग्य र कृषि योग्य गरी वर्गीकरण गर्ने । (आवश्यकता अनुसार बजारक्षेत्र, वनक्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक क्षेत्र आदि पनि छुट्याउने )
२. कतिपय स्थानीय निकायहरुमा रहेका कृषि ज्ञान केन्द्र लगभग निष्कृय जस्तै देखिन्छन् । हरेक कृषकलाई उन्नत, व्यावसायिक तथा आधुनिक कृषि प्रणाली अवलम्बन गर्न उत्प्रेरित गर्ने काम कहीँकतै गरेको पाइँदैन । यसका लागि हरेक जनप्रतिनिधिहरुले आ–आफ्नो वडामा प्राविधिकहरु खटाई कृषकहरुसँग समन्वय र सहकार्यका लागि सहजीकरण गर्ने ।
३. स्थानीय हावापानी (मौसम), भूबनोट र माटोको प्रकृति हेरी मौसमी र बेमौसमी तरकारी, फलफूल, माछा,मासु तथा दूध जन्य उत्पादन लगायत आय–आर्जनसंग जोडिएका ज्ञान,सीप एवम् प्रविधि हस्तान्तरणमा सहयोग पुर्याउने ।
४. कृषकहरुलाई मलखाद, बीउ बिजन, कीटनाशक औषधि, कृषि उपकरण, कृषि प्राविधिक लगायतका सामाग्रीहरु सस्तो र सुलभ व्याजदरमा उपलब्ध गराउन स्थानीय निकाय आफैंले निश्चित मापदण्द तोकी कृषि ऋण तथा आर्थिक सहायताका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासंग समन्वयकारी भूमिका निर्वाह गर्ने ।
५. वस्तुको उत्पादन परिमाण र सो को दिगोपना हेरी हरेक वडामा उपयुक्त क्षमताको शीत भण्डार र खाद्य भण्डारको व्यवस्था मिलाउने ।
६. उत्पादित कृषिजन्य वस्तुको समय सापेक्ष (उचित) मूल्य निर्धारण गरी खरीद–विक्रीको प्रबन्ध मिलाउने ।
७. कृषि क्षेत्रमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन कोष खडा गरी कृषकलाई सम्भावित जोखिम तथा विपदबाट कसरी जोगिने ? सो सम्बन्धी व्यवहारिक ज्ञान दिलाउने ।
८. कृषि विज्ञहरुको सल्लाह तथा परामर्श बमोजिम सुख्खा क्षेत्रमा वैकल्पिक सिँचाइको समेत व्यवस्था गर्दै अन्तरबाली पकेट क्षेत्र तयार गरी स्थानीय आवश्यकता अनुसार समूह गत वा व्यक्तिगत रुपमा कृषकहरुलाई नै जिम्मा दिने र आवश्यक परे स्थानीय तहबाटै प्रदेश तथा केन्द्रका तालुक निकायसँग समन्वय गर्ने गरी कृषकसँग दिगो ,सहज र प्रत्यक्ष सम्बन्ध कायम राख्दै कार्यक्रम सञ्चालनमा एकरुपता कायम गर्न जनप्रतिनिधि, कृषक, कृषिविज्ञ तथा सरोकारवालाहरुको समेत उपस्थितिमा कार्यविधि तयार गरी लागू गर्नुपर्ने ।
९. बाली व्यवस्थापन एवम् कृषि प्रवर्ध्दनमा टेवा पु्र्याउन सकियोस् भन्ने उद्देश्यले नमूना क्षेत्र छनोट गरी कृषकहरुलाई स्थलगत अवलोकन भ्रमण गराउने ।
१०. आवश्यक कृषिविज्ञ तथा प्राविधिकहरु तयार गर्न सो को अध्ययन तथा तालिमका लागि छात्रवृत्तिको व्यवस्था गर्ने ।
यसरी सबै सरोकारवालाहरु मिलि आवश्यक काम गर्न सके हाम्रो देशको कृषि क्षेत्र सुधार हुन धेरै समय लाग्दैन । यसको लागि कसैले भनेर कर बललेभन्दा पनि सरोकारवालाहरु आफैंले अन्तर आत्माले नै गर्नुपर्छ भनेर लाग्ने हो भने यो क्षेत्रको सुधार गर्न केहि बेर नै लाग्दैन । तर विडम्बना भन्नुपर्छ यहाँ काम गर्न चाहेर पनि गर्न सक्ने वातावरण नै बन्दैन । एउटाले गरेर यहाँ केहि पनि हुँदैन । पुरै यहाँको सिस्टम नै परिवर्तनको आवश्यक छ । यसो गर्दा हुन्छ, यहाँ कमजोरी छ भन्ने थाहा हुँदा हुँदै पनि त्यो सुधार गर्न कोहि पनि अगाडि नसर्नुले भने आम सर्वसाधारणलाई अचम्म लागेको छ । अब यसैगरी केहि नगरी दिन दिनै गिर्दो अवस्थामा छोड्ने हो भने हाम्रो देशको कृषि क्षेत्र झन् झन् बिग्रने निश्चित छ । जबसम्म देशको कृषि क्षेत्र सुध्रिदैन तबसम्म त्यो देशको अरु क्षेत्रको पनि विकास हुँदैन । देशको धेरै मुद्रा खर्च नै खाद्यान्नमा हुने हो । त्यही खाद्यान्न नै यहाँ उत्पादन नभएर आयत गर्न पर्यो भने देश झन् झन् उँदो गतितिर जाने निश्चित छ । आशा गरौं अब सबैले यो कुरा बुझेर कृषि क्षेत्रको विकास गरि देशलाई अगाडि बढाउन सहयोग गरौं ।

प्रतिक्रिया दिनुहोस्