बनेपा, अमेरिकाको फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड–१९ विरुद्धको फाइजर खोप नेपालमा पनि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ ।
जसका लागि सरकारले अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज खोप ल्याउन लागेको छ । युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप दिइने फाइजर–बायोएनटेक कम्पनीले जनाएको छ । फाइजर–बायोएनटेकले ११ वर्षमाथिका किशोरकिशोरीका लागि यसअघि नै यो खोप ल्याइसकेको छ । अमेरिकामा १२ देखि १७ वर्षसम्म उमेर समूहका ११ मिलियन (१ करोड १० लाख) बालबालिकाले फाइजर खोप लगाइसकेका छन् ।

अमेरिकाकै फाइजर–बायोएनटेक र मोडर्ना खोपका कारण युवाहरुमा ‘साइड इफेक्ट’का रुपमा मुटुमा समस्या (म्योकार्डिटिस) नदेखिएको एडमिनिस्ट्रेसनले जनाएको छ । १६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन एडमिनिस्ट्रेसनले पूर्ण अनुमति दिइसकेको छ भने कम्तीमा १२ वर्ष पुगेका व्यक्तिहरुलाई खोप लगाउनको लागि भने अनुगमनसहितको अनुमति दिएको छ ।

परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड–१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर–बायोएनटेक कम्पनीले दाबी गरेको छ । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई १० माइक्रोग्राम मात्र भएको दुई डोज खोप दिइएको थियो । १२ वर्षभन्दा माथिका बालबालिकालाई भने यही मात्राको खोपको तेस्रो डोज पनि दिइएको थियो । परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको छ । –नव क्षितिज साप्ताहिकबाट