साउन १५ र हाम्रो खिर खाने चलन–प्रल्हाद दाहाल


 

नेपाल चाडपर्व धेरै मनाइने देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएको छ । दहि, मासु, खिचडी, सेल, घ्युचाकु, दहि चामल, दहि चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गरिन्छ ।
यि सबै चाडपर्व मनाउँदाका आ–आफ्नै विशेषता छन् । त्यसै गरि प्रत्येक वर्ष साउन १५ गते खिर खाएर चाड मनाउने गरिन्छ । पुर्खाहरुले हाम्रो देशमा यसरी नै संस्कृतीलाई जोगाइ राखेका छन् । यो हाम्रो लागि ठूलो उपलब्धि हो । यसले देशको पहिचान बढ्नुका साथै पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुग्दछ । हाम्रो देशको संस्कृती भनेको विश्वको नमुना हो । यस्तो संस्कृती कतै पनि छैन् । तर अब भने यसको जर्गेनाको पाटो ठूलो कठिनाई छ । यसमा आम जनमानस सबैको चासो रहन आवश्यक छ ।
साउन १५ लाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ । नेपालमा प्राचिन कालदेखि खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइन्छ। आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । यस दिन खिर खाएमा शुभ हुने मान्यता रहेको छ । यस महिनामा वर्षा हुने र विभिन्न किसिमका रोग लाग्ने र विरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाईन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको सुनिन्छ। वर्षायाममा चिसो हिलोले सर्दी लाग्ने र त्यसले विभिन्न संक्रमण ल्याई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस् र संक्रमण नहोस्, थकान नलागोस्, फुर्ति बढोस्, सर्दी हटोस् आदि भनेर मरमसला टन्न राखेर खिर खाने गरेको पाइन्छ । गर्मी महिना भएको कारणले शरिरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ। यि यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन साउन महिनामा दुध र दुधजन्य पदार्थको बढि नै सेवन हुने गरेको पाइन्छ ।
गाउँघरमा मिठो मसिनो कमै खाईने र खान पनि कठिन हुने भएकोले खानामा सन्तुलित होस् भनेर हाम्रा पुर्खाले शरिरलाई आवश्यक पर्ने सबै खाले खाना खाने चाडपर्वको व्यवस्था भएको पाइन्छ । यसले गर्दा सबै मानिसले दैनिक सबै किसिमका खाना खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन मद्दत पुग्ने गरेको देखिन्छ । यि सब कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाहरुले धेरै सोचबुझ गरेर चाडपर्वको महत्व विस्तार गरेको पाइन्छ । अनि आम नेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भएता पनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिने गरि कम्तिमा वर्षको एकदिन भए पनि खानु पर्ने गरि चाडपर्वको व्यवस्था मिलाएको पाइन्छ । बैज्ञानिक तरिकाले पनि यो अति नै उत्तम मानिन्छ ।
आजभोलि सबै किसिमका खानेकुराहरु सबै समयमा पाइने भएता पनि त्यसको सहि उपभोग भएको पाइन्न । यसले गर्दा अन्य धेरै समस्या उत्पन्न भएको पाइन्छ । त्यस कारण पहिले पहिलेका चाडपर्वले गर्दा सन्तुलन भोजनको लागि लाभदायक भएकोे देखिन्छ । आजकाल चाडपर्व फेसनको रुपमा पनि मनाउने गरेको पाइन्छ । स्कुल, कलेज, अफिसमा पनि साथीभाईहरु मिलेर खिर खाने चलन बढेको छ । यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा लगभग ६ गुणा बढि हुने गर्दछ । दैनिक उत्पादनको दुधले नपुग्ने भएकोले डेरी उद्योगहरुले दुई चार दिन अगाडि देखि नै दुध भण्डारण गरि राख्ने र नपुगेमा धुलो दुध ( पाउडर दुध ) मिसाएर बजारमा लाने गरिन्छ । यस पटक भने कोरोना भाइरसका कारण यसको महत्व कम हुन सक्ने अनुमान देखिएकोछ । आम मानिरहरु गत सालको चैत्र ११ गतेबाट लगभग धेरै समय जस्तो लकडाउनमा रहेका र शहरबाट आम मानिस गाउँ घरतिर गएकाले पनि यस पटक पहिलेपहिलेको जस्तो दुध खपन नहुन सक्छ । संक्रमण बढिरहेकाले तत्काल पुर्ण रुपमा लक डाउन खुल्ने सम्भावना छैन । लक डाउन खुले पनि कोरोनाको प्रकोप झन बढ्ने भएकाले तत्काल नखुल्न सक्छ। त्यसैले धेरै मानिसहरु आ–आफ्नो काम छोडेर गाउँ घरतिर गएकाले गत वर्षहरुको जसरी यस पटक त्यति नमनाइन सक्छ । यो माहामारीका कारण शहरमा होटल,रेष्टुरेण्ट, स्कुल, कलेज, पार्टीप्यालेस, क्यानटिन आदि सबै बन्द भएका कारण दुधको खपत पनि कम छ । आजभोलि खपत कम भएकोले यस पटक पहिले पहिले जस्तो दुध त्यति अभाव नहुन सक्छ । आसा गरौं यस पटक सबै ठाउँमा आवश्यक मात्रामा दुध सहजै उपलब्ध हुनेछ। यसरी हामी आम नेपाली देशैभरी साउन १५ मा सबैजना खिर खाई साउन १५ भब्य रुपमा मनाउँदछौं । हामी सबै मिलि सबै किसिमका चाडपर्वको संरक्षण गरि हाम्रा भावि पुस्तालाई राम्रोसँग यस्ता सबै किसिमका चाडपर्वको महत्व बुझाउन सके यसले सकारात्मक सन्देश जानेछ । यसले हाम्रो देशको पहिचान दिनेछ । यसलाई सहि तवरले परिचालन गर्न सक्ने हो भने विदेशी पाहुना ल्याउन पनि मद्दत पुग्नेछ । हामीले अरुको देशको धर्म संस्कृतीको नक्कल गरेर आफ्नो देशका धर्म संस्कृतीलाई भुल्न हुँदैन । यस कुरामा हाम्रा सन्ततिलाई सधैं चनाखो राख्नुपर्छ । (लेखक–नेपाल डेरी एसोसिएशनका महासचिव हुनुहुन्छ ।) –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्