बनेपा, आइतबारदेखि देशभर कोरोना भाइरस बिरुद्धको दोश्रो चरणको खोप अभियान शुरु भएको छ । काभ्रे जिल्लामा पनि आइतबारेदेखि कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप लगाउन शुरु गरिएको छ ।

नेपाल सरकारको निर्णय अनुसार देशभर जस्तै काभ्रेमा पनि फागुन २ गते देखि ७ गते सम्म दोस्रो चरणको खोप कार्यक्रम संञ्चालन गरिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए । पहिलो चरणमा जस्तै जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा गरि दुई ओटा खोप केन्द्रबाट खोप लगाईएको छ ।
बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतका ब्यक्तिहरु, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु, निजामती सेवामा कार्यरत कर्मचारीहरु, बैकमा कार्यरत कर्मचारीहरुलाई खोप लगाईने छ । त्यसैगरी नेपाल प्रहरी, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारीहरु, न्याय सेवा समुहका कर्मचारी, संचारकर्मीहरु, नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सूचीमा परेका ब्यक्तिहरुलाई लक्षित गरि खोप लगाउन शुरु गरिएको डाक्टर झाले बताए ।

हिजो लक्षित समुहमा परेका २ सय ९२ ले खोप लगाए । यस अघि पहिलो चरणको खोप अभियानमा काभ्रे जिल्लामा ३ हजार ४ सय ९४ जनालले खोप लगाएका थिए ।
लक्षित समुहमा परेका व्यक्तिहरुले खोप लगाउन आउँदा पहिचान खुल्ने परिचयपत्र अनिवार्य ल्याउन र तोकिएको अवधी भित्र खोप लगाउन स्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ ।