सरिता हत्यामा संलग्न सबै थुनामा


धुलिखेल,मण्डनदेउपुर–६, सिपाघाटकी सरिता दुलालको हत्यामा संलग्न परिवारका ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला न्यायधीश दुर्गा खड्काको इजलासले बिहीबार श्रीमान् सुदिप, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीतालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
सरिताका श्रीमान सुदिपले सामुहिक रुपमा हत्या गरेको बयान दिएको जनाइएको छ । दुलाल परिवारमा सम्पत्ति र सरिताको नागरिकता तथा सरिता दम्पतीबाट बच्चा नभएको विषयमा विवाद रहेको स्थानीयवासीले बताउँदै आएका छन् ।
१३ वैशाखमा घरमै घाँटीमा निलो डोम भएको अवस्थामा सरिताको शव फेला परेको थियो । उनको परिवारकै सदस्यवाट हत्या भएको भन्दै स्थानीयको दवावपछि प्रहरीले पाचँ जनालाई नियन्त्रणमा लिएको थियो । चार जना प्रतिवादीले अदालतमा इन्कारी बयान दिए पनि हत्या गरिएकी सरिताका श्रीमान् सुदिपले आफै मात्रैले हत्या नगरेको भन्दै सामुहिक रुपमा हत्या गरेको बयान दिएपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको थियो । मृतकका श्रीमान् सुदिपले प्रहरी बयानमा बुबा पिताम्बर, आमा रोमकुमारी, दाई केशव र भाउजु संगीता समेतले धेरै बेसी भएकी छ यसलाई नमारी हुन्न भनेर उस्काएपछि हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्