सिनेमा र फिल्म एक प्रकारको सञ्चार माध्यम हो ; निर्देशक समुन्द्र भट्ट


बनेपा, बिगत एक दशक देखि चलचित्र निर्देशन यात्रामा लागेकी निर्देशक समुन्द्र भट्ट नेपाली चलचित्र क्षेत्रमा एउटा गर्विलो नाम हो । सानै उमेर देखि चलचित्र क्षेत्रमा सक्रिय रहेर सिने नगरीमा स्थापित हुन सफल निर्देशक समुन्द्र भट्ट चलचित्र निर्देशक समाज नेपालको कोषाध्यक्ष हुन् । चलचित्र बिषयमा पढेर निर्देशनमा प्रवेश गरेकी उनि सामाजिक कार्यमा समेत परिचित नाम हो । निडर स्वाभाबकि भट्ट चाडैनै नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छिन । पछिल्लो समय म्युजिक भिडियो पनि निर्देशन गर्न सुरु गरेकी उनले नेपाली चलचित्र क्षेत्रलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याउन विभिन्न महत्वपुर्ण भूमिका निर्बाह गरिसकेकी छिन । ब्यबसायी समेत रहेकी कुशल चलचित्र निर्देशक समुन्द्र भट्टसंग नव क्षितिज साप्ताहिको लागी अरविन्द्र गौतमले गरिएको संक्षिप्त कुराकानी प्रस्तुत छ ।

० आजकाल के मा ब्यस्त हुनुहुन्छ ?
आजकल नयाँ चलचित्रको स्क्रिप्ट, गित फाइनलको तयारीमा लागेकी छु । त्यसैगरी आफ्नै ब्यापार ब्यबसाय र सामाजिक कार्यमा व्यस्त छु

० अहिलेको सिनेमाको मुलधार कता गइरहेको जस्तो लाग्छ ?
सिनेमा एउटा समाजको ऐना हो, जसले समाजमा देशमा र विश्वमा भएका मानचित्रलाई दर्शकसामु प्रस्तुत गर्दछ । तर हामीले सधैं मनोरञ्जनको साधन मात्रै मान्यौ । चलचित्र एउटा बिश्वबिद्यालय पनि हो । नेपालमा सिनेमा लाई केवल हलमा चल्नुलाई सफलता मानिन्छ । तर त्यो होइन । देशमा परिवर्तन ल्याउने बाटो पनि हो चलचित्र अनि मानिसको जीवनलाई परिबर्तन गर्ने माध्यम समेत हो । अहिले नेपालमा निर्माण भैरहेका नेपाली चलचित्रको मुलधार सस्तो मनोरञ्जन मात्रै हो । साडे दुई घन्टा दर्शकले सस्तो र भड्किला डायलग, हाउभाउ ,कटाक्ष , नारीको नाङ्गा नर्तक, यौन प्रदर्शन, अनावश्यक फाइट र समाजको भल्गारिटि लाई मात्रै हेर्नुपर्ने बाध्यता छ । त्यही हेरेर क्षेणिक आनन्द लिन्छन दर्शक । हल बाट बाहिर आउदा बिर्सनु पर्छ किनकि त्यस्ले दर्शकको मुटुमा मस्तिष्कमा स्थाइ प्रभाव पारेकै हुदैन । तसर्थ हामीले यथार्थपरक चलचित्र बनाउन समेत लाग्नु पर्छ । जसले गर्दा भोलिका पुस्ताहरुले हाम्रो क्रियसनलाइ ईतिहासको रुपमा याद गरुन ।

० निर्देशक समाजले के कस्ता काम गर्दै आएको छ ?
निर्देशक समाज एउटा संस्था हो । निर्देशक समाजले नेपाली चलचित्र क्षेत्रलाइ आन्तरिक तथा बाह्य रुपमा कसरि प्रबर्धन गर्न सकिन्छ र दर्शकहरुलाई कसरि राम्रो चलचित्र मार्फत मनोरंजनको साथमा शिक्षा प्रदान गर्ने र निर्देशकहरुको हकहित तथा उत्थानमा लागेर समग्र चलचित्र उधोगलाइ उकास्ने कार्यमा लागेको छ । कोभिड १९ र लकडाउनको मारमा परेका निर्देशकहरुलाई राहत वितरण गर्ने कार्य समेत गर्यो र अबका दिनमा चलचित्र उधोग पुनः सुचारु भएको अबस्थामा सम्पूर्ण निर्देशकहरु एकबद्ध भएर चलचित्र क्षेत्रलाइ उकास्ने सहकार्यमा लागेको छ।

० तपाई आफुलाई जनतासामु कसरि चिनाउन चाहनुहुन्छ ?
म एक चलचित्र निर्देशक हु, बिगत लामो समय देखि चलचित्र निर्देशनमा नै लागेकी छु । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु र राम्रो चलचित्र दर्शकहरुले दिने कोशिषमा छु । चलचित्र क्षेत्रलाइ प्रबर्धन गर्ने मेरो उदेश्य छ । चलचित्र निर्देशन संगै आफ्नो ब्यबसाय, सामाजिक कार्यमा समेत सक्रिय रहदै आएकी छु । यधपी म चलचित्रकर्मी भएर चलचित्र क्षेत्रको उत्थानमा लागिपरेको हुँदा चलचित्रकर्मी नै भनेर चिनाउन चाहन्छु ।

० जिबन अनि जीवनका भोगाइहरु के हुन् ?
’सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ । हाम्रो जीवनको महत्वाकांक्षा, सपना, भोगाई, सोचाई र देखाईको वरिपरि केन्द्रित छ । जीवन जिउनु एक कला हो जन्मिएपछि हामी एकदिन मर्नुनै पर्छ । तर, हामी हाम्रो जिबनकालमा कस्तो जीवन बाँच्छौं भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरिय जीवन बाँच्छन्, कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाई छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ ।’ जन्म पश्चात् जीवनलाई सफल बनाउनु महान वीरता हो । जीवनमा सफलताको लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नुपर्छ । शुभ इच्छा र त्यसअनुसार कर्म गर्ने व्यक्तिले नै ज्ञान शक्ति प्राप्त गर्छ । जब निराकार आत्मा, साकार शरीर, इन्द्रिय र मनको साथ मिल्छ, तब शरीरमा शक्तिको सञ्चार हुन्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो । जीवनमा हरेक मानिसको सपना हुन्छ। अधिकांश मानिस आफूलाई सफल, सबल र सक्षम बनाउन चाहान्छन । तर पनि किन हुन्न हरेक मानिसको जीवन सोचे जस्तो ? किन सबै मानिस सफल हुन सक्दैनन् ?

० तपाइको बिचारमा सिनेमा भनेको के हो ?
सिनेमा र फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ । संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्दछन् । धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र भवनमा देखाउन सकियोस । चलचित्र श्रव्य दृश्य माध्यम भएकाले यसमा हामी त्यस्ता दृश्यहरू देख्न सक्छौ ं। समाजलाई अभिव्यक्त गर्ने र प्रभावित गर्ने काम फरक धारका चलचित्रहरूको हो, व्यावसायिक चलचित्रहरूको होईन । व्यवसायिक चलचित्रको एक मात्रै उद्देश्य मनोरञ्जन दिनु हो । दर्शकलाई भरपुर आनन्द दिन सकियो भने व्यवसायिक चलचित्रको कर्तव्य पूरा हुन्छ । संसारमा जति पनि कला रूपहरू छन्, ती सबै अटाउन सक्ने एउटै मात्र कला भनेको चलचित्र नै हो । साहित्य, संगीत, गायन, नृत्य, चित्र कला, मूर्ती कला, वास्तु कला, अभिनय कला, स्थापत्य कला आदि जति पनि कलाहरू छन्, ती सबैको उपयोग चलचित्रमा हुन सक्छ ।

० यस्तो अवस्थाबाट चलचित्र क्षेत्रलाई माथि उकास्न के गर्नुपर्छ ?
कोभिड १९ तथा लकडाउन गर्दा थालिएको चलचित्र उधोगमा कलाकार र कन्टेन्ट राम्रो भए उकास्न समस्या छैन । तर, अब फिल्मको लगानी घटाउनुपर्छ । दुई तिन करोड लगानीका फिल्महरु रु.१ करोड सम्ममा निर्माण गर्नुपर्छ । थोरै लगानीमा उत्कृष्ट काम गर्न सक्यो भने घाटा लाग्दैन । लगानी घटाउन कलाकार, प्राविधिक अथवा निर्देशकलाई कम ज्याला दिएर चाहिं हुँदैन । बरु कलाकारलाई सेयर दिनुपछ । निर्देशन पक्षलाइ पनि सवल बनाएर कथालाई न्याय दिएर हामीले दर्शक सामु पुर्याउन सक्यो भने चलचित्र क्षेत्रलाइ उकास्न सकिन्छ ।

० अन्त्यमा के भन्न चाहनुहुन्छ ?

कोरोनाले गर्दा चलचित्र उधोग अझ बढि मारमा परेको छ । भर्खरै मात्र सिनेमा घरहरु खुले पनि दर्शकहरु गएर चलचित्र हेर्ने बाताबरण मिलेको छैन । यस्तो अबस्थामा सरकारले अन्य क्षेत्रलाइ जस्तै उच्च प्राथमिकतामा राखेर सहुलियत पूर्ण ऋण उपलब्ध गराई धरासायी बनेको चलचित्र क्षेत्रलाइ उकास्न मद्दत गर्नु पर्ने देखिन्छ । महामारीमा अझ नसकिएको हुँदा सबै उमेर र वर्गका मानिसहरू आ–आफ्नो क्षेत्रमा सजग र सुरक्षित रहनु हुन विनम्र आग्रह छ । एक अर्कालाई सकेको मानवीय सहयोग गर्न हार्दिक अपिल गर्दछु । गित संगीत, चलचित्र, मोडलिङ र पत्रकारिता क्षेत्रलाइ ब्यबस्थित बनाउन लागि परौ । अन्त्यमा मलाई आफ्नो कुरा राख्ने मौका दिनु भएकोमा संचारकर्मी अरविन्द्र गौतम लगायत सम्पूर्ण टिम लाइ धेरै धेरै धन्यबाद ब्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्