कला कर्म, धर्म र साधना हो ; गोपाल ढकाल (छन्दे)


पश्चिम नेपालको गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाको भिमादमा पिता स्व. चुडामणी ढकाल र माता टेलुका माया ढकालको गर्भबाट सन् १९८६ फेब्रुअरी १८ मा कलाकार गोपाल ढकाल उर्फ छन्देको जन्म भएको हो । समयको गति सँगै राजधानी काठमाडौँलाई अध्ययन र कलाकर्म साधनाको केन्द्र बनाउनुभएका गोपाल ढकाल छन्देको प्रारम्भिक शिक्षा भिमाद २ तनहुँस्थित श्री बाल बिधाश्रम प्राथमिक बिधालयबाट सुरु भएको हो । त्रिभुवन बिश्वबिधालयबाट मानबिकी तथा कलाशास्त्रमा स्नातक गरेका ढकाल बिगत १८ बर्षदेखि नेपाली कलाकारिताका क्षेत्रमा समर्पित छन् । बिधालय जीवनदेखि नै अभिनयलाई जीवनको कर्म ठान्दै आएका उनले चर्चित हाँस्यकलाकार, गायक, अभिनेता, निर्देशक एवं लघुकथा लेखकका रुपमा आपm्नो परिचय स्थापित गरेका छन् ।
जीवनलाई सार्थक बनाउनका लागी इमान्दार, मेहेनती र नैतिकतावान भएर आफूले रोजेको कर्ममा लाग्नुपर्छ भन्ने गोपाल ढकाल सामान्य स्टेज कार्यक्रमदेखि सडक नाटक, टेलिचलचित्र, ठूलो पर्दाका दर्जनौँ नेपाली कथानक चलचित्र लगायत युरोप, युकेका बिभिन्न देशहरुमा साथै एसियाका आधा दर्जन भन्दा बढी राष्ट्रहरुमा आफ्नो प्रस्तुति पस्किसकेका प्रतिभा हुन् । हाँस्यकलाकार, हाँस्य गायक गोपालले भारतीय राजदुताबासको छात्रबृत्तिमा, भारतको पुणेमा अवस्थित फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफ टि आई आई)बाट अभिनयको विशिष्ट कोर्स पुरा गरेका छन् ।

कलाकारिता र कलाकर्मको दौडानमा बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्याण्डस, लग्जमबर्ग, बेलायत, स्कटल्याण्ड, वेल्स, कतार, दुबई, मलेसिया, थाईल्याण्ड, लाओस जस्ता देशको भ्रमण गरिसकेका उनी एक परिपक्व, रसिक र भर्सटाईल व्यक्तित्व हुन् । कला, अभिनय, संगीत, गायन भनेपछि हुरुक्कै हुने ढकाल बाल्यकालदेखि नै अभिनयका पारखी थिए । बिहानीलो दिउँसोको प्रतिबिम्ब झल्काउँछ भनेझै ग्रामिण परिवेश र स्कुले जीवनदेखि नै उनले कलाको यात्रामा आफूलाई होमिसकेका थिए । नेपाली मौलिकता र स्वपनलाई कलामा ज्यादा प्राथमिकता दिने कलाकार ढकाल तितो सत्य टेलि श्रृंखलाबाट उदाएका कलाकार हुन् । सर्जकले नै सिर्जना बुझ्दछ भनेझैँ गोपाल ढकाल भित्रको सर्जक व्यक्तित्व चिन्ने मुख्य श्रेय भने कलाकार दिपकराज गिरी, दीपाश्री निरौला र चलचित्र निर्देशक राजु शाहलाई दिन्छन् । सुप्रसिद नृत्य निर्देशक एवं नेपाली सिने जगतका एक युग राजु शाहको राजश्री डान्स एण्ड मल्टिपल ट्रेनिङ्ग सेन्टरमा ६ बर्षभन्दा बढी अभिनय प्रशिक्षकका रुपमा काम गरेका ढकाल अनुभवी अभिनय प्रशिक्षक समेत हुन् । बिभिन्न एफ, एम, रेडियो, टेलिभिजनमा कार्यक्रम प्रस्तुत गरेर आरजे, भिजेका रुपमा नाम कमाईसकेका उनी चर्चित उद्घोषक समेत हुन् भने एभरग्रीन वल्डवाइड ईन्टरटेन्टमेन्ट प्रा. लिका निर्देशक पनि हुन् । बिभिन्न टिभी प्रोग्राम, सयौँ स्टेज पर्फमेन्स दिईसकेका उनले दर्जनौँ टेलिभिजन च्यानलबाट लाईभ प्रस्तुति समेत दिईसकेका छन् ।


जीवनको हरेक क्षणलाई खुशीका साथ अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गोपाल, नेपाल चलचित्र कलाकार संघका निर्वाचित सदस्य, टेलिभिजन आर्ट वर्कस् फोरम नेपालका सदस्य, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)का सदस्य सचिब बनेर सेवा गरिसकेका व्यक्ति हुन् । नेपाल चलचित्र कलाकार संघको निर्वाचित केन्द्रिय सदस्य रहेका गोपालले फूलमा माहुरी, इन्डियामा जागिर खाको छु, कान्छी सानी छ, उडायो रेलैले ठाडो कपाल तोरिको तेलैले, झ्याप झ्याप्प लभ, धोती न टोपी, काली गोरी आदि लगायतका दर्जनौँ कमेडी गीतमा गायक, गीतकार, संगीतकार र मोडलका रुपमा स्थापित गर्ने अनौठो रेकर्ड समेत राखेका छन् ।

सुतेर समय कटाउनु भन्दा कर्म गरेर जीवन बचाउनु बेस भन्ने उखानलाई गोपालले शिरोधार्य गरेका छन् । टेन्सन साफ हाँस्य टेलिश्रृंखलाका लेखक तथा निर्देशक उनले बुद्धको पाईला, हिजो आजका कुरा, तितो सत्य, गीतान्जली, भद्रगोल, परिचय, मेरी बास्सै, बाउन्न घुस्सा त्रिपन्न ठक्कर, घैँटामा घाम, ताइ न तुइ पारा उही, जालझेल, टेन्सन साफ, साहारा, राजश्री फिल्मी चक्कर, टेन टु फाईभ, ट्वाक्क टुक्क रिटन्र्स्, शेर्पा दाई आदि जस्ता अनेकौँ टेलिफल्म तथा भिडियो फिल्ममा अभिनय साथै कतिमा लेखन निर्देशन समेत गरेका छन् ।

ढकाल प्रशस्त मात्रामा स्वावलम्वी, योग्य राष्ट्र निर्माणका लागि अब्बल नागरिक बनाउने हो भने सानैदेखि बालबालिकालाई अवसर, मार्गदर्शन र अभिभावकत्व प्रदान गर्नुपर्दछ भन्ने मान्यता राख्दछन् । स्कुले बिधार्थी र बालबालिकाप्रति उनको सहृदयता उत्तिकै छ । देशभरिका ५५ भन्दा बढी जिल्लामा पुगेर आफ्नो प्रतिभाद्धारा नेपाली जन र मनलाई हँसाइसकेका ढकाल अनेकौँ बिधालयमा गई सकरात्मक सन्देश दिने प्रहसन, नाटक, बिधागत अभिनय पस्केका छन् जसले गर्दा विधालय पढ्न मात्र होईन आफ्नो भविष्यको सम्भवना उमार्ने थलो हो भन्ने कुरा विधार्थीहरुले बुभm्ने गरेका छन् । अभिनय, गायन, टेलिभिजन शोहरुमा लाइभ, निर्देशन, सम्पादन, लेखन, गीत रचनाका क्षेत्रमा उनी जति परिचित छन् त्यो भन्दा बढी कमर्सियल विज्ञापनका क्षेत्रमा उनको अभिनय अझै रोचक देखिन्छ अर्थात व्यवसायिक धारका प्रतिष्ठित कम्पनीहरुले उनलाई अत्यन्तै बिश्वास गरिएको पाईन्छ । बेस्ट टेलिभिजन कमर्शियल अवार्ड प्राप्त गर्न सफल शालिमार सिमेन्टको ब्राण्ड एम्बास्डर रहेका गोपालले शालिमार सिमेन्टका धेरै बिज्ञापनहरु, वाइ वाइ ५०—५० चाउचाउ, बोनस चाउचाउ, डन साबुन, इको रुफिङ्ग, अनुपम पेलेट दाना, मनकामना मनि एक्सप्र्रेस, कान्तिपुर मल, भोटाहिटी जुत्ता बजार, ज्योति बजार सपिङ्ग मल लगायत अनेकौँ कमर्सियल टिभिसी बिज्ञापनहरुमा आफ्नो व्यवसायिक अभिनय पस्किसकेका छन् भने रैथाने, घरेलु शिल्पकला उधोग र पर्यटनसंग सम्बन्धित स्थान बिशेष मौलिक पहिचान दिने बस्तु र सेवाको प्रबर्दनमा समेत योगदान दिएका छन् । नेपाली सिने जगतका चर्चित चलचित्रहरु सावधान, भाईमारा, बिष, छ एकान छ, दाईको ससुराली, दानवीर, देशदेखि बिदेश, हात लाग्यो शून्य, इशारा, जंगबाज, जुत्ता खाने बुहारी, खोज, मन परेपछि,नमस्ते, पहिलो पहिलो माया, नमस्ते नेपाल, पर्खीबसेँ, सपनाको नौलो संसार ,वडा नं छ, युद्ध, लभ यु हमेशा, पोइ पर्यो काले आदिमा अभिनय गरेका हाँस्यकलाकार गोपाल मिलनसार एवं सहयोगी पनि छन् । कोभिड १९ को माहोलमा असहाय, दुखि, पीडित व्यक्तिहरुलाई राहत बितरण गरी सामाजिक काम पनि गरेका छन् ।

नेपाली, हिन्दी, अंग्रेजी भाषामा पारंगत उनको मूल पहिचान हाँस्यकलाकार भएपनि उनको चरित्र निर्वाह बहुआयमिक, भर्सटाइल र अत्यन्तै प्रभावशाली छ । देश बिदेशका बिभिन्न अवार्डहरु, सम्मानहरुबाट सम्मानित उनी बेस्ट कमेडियन आर्टिस्टका रुपमा सुपरिचित छन् । अनेक कोणबाट हेर्दा उनी साँच्चै बहुमुखी प्रतिभा हुन् । नेपालीकला जगतले उनको योगदानको यथोचित कदर गर्ने नै छ । उनको योगदान अझै निरन्तर रहोस भन्ने कामना गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्