लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान


बनेपा – हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिन मनाईने लैङ्गिक हिंसाविरुद्धको अभियान सकिएको छ । कोभिड–१९का कारण गत बर्षहरु झै बिशेष कार्यक्रम भने यो बर्ष भएनन । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय यता प्रत्येक बर्ष २५ नोभेम्वर देखि १० डिसेम्वर १६ दिनसम्म यो दिवश मनाउदै आइएको छ ।

लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरी यो अभियान मनाउने गरिन्छ । प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका विभिन्न अध्ययनले देखाइरहदा यस्को अन्त्य गर्ने उद्धेश्यले यस्ता कार्यक्रमको आयोजना गरिएता पनि अझै सार्थकता पाएको छैन् । कतिपय महिलाकर्मिहरु नै ऐन कानुन नै परिमार्जन गर्नुपर्ने बताउदै आएका छन् ।

पछिल्लो एक वर्षमा बलात्कार १ हजार ८ सय ७७, बहुविवाह ६ सय ३७, बालविवाह ५९, बोक्सिको आरोप ३४, घरेलु हिंशा ९ हजार २ सय ७९, बाल यौनदुव्र्यावहार २ सय ५ गरी अन्य बिभिन्न गरी जम्मा १२ हजार ८ सय ७ ओटा महिला हिंशाका घट्ना घटेको प्रहरी प्रधान कार्यालय अन्तर्गत सञ्चालित अपराध अनुसन्धान विभागको तथ्यांङ्क छ ।

यसैबिच नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान प्रदेश सांसद चन्द्र लामाको प्रमुख आतिथ्यतामा बिहीबार समापन भएको छ ।
लैंगिक हिंसा न्यूनिकरणका लागि नगरस्तरीय लैंगिक हिंसा तत्काल उद्धार तथा राहत समितिका अध्यक्ष एवं नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश सांसद चन्द्र लामाले समाजमा देखिएका भन्दा नदेखिएका हिंसा बढी रहेको बताउँदै हिंसा अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले महिला सशक्तिकरणका कुरामा नमोबुद्ध नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । अब गोष्ठी, भाषण सेमिनार लगायतका कुराले मात्रै महिला सशक्तिकरण नहुने भन्दै उनले उद्यमशिलतालाई जोड दिनुपर्ने बताए । उपप्रमुख एवं नगरपालिकाको न्यायिक समिति संयोजक रामदेवी तामाङले हिंसामा परेका महिलालाई संरक्षणका लागि नगरपालिका क्रियाशिल भएको बताइन् । अब रुने होइन संघर्ष गर्दै अघि बढ्ने समय आएको भन्दै उनले आफूले एकल महिला, हिंसापीडित महिलाका लागि विशेष अभियानसहित अघि बढेको बताइन् ।
कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले काभ्रेमा लैंगिक हिंसाको अवस्था, हिंसापीडित महिलाका लागि कानुनी उपचारको व्यवस्था लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्