आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर कतिपयले कात्तिक ३० गते अर्थात् आइतबार लक्ष्मीपूजा मनाउनुपर्ने बताएका छन् ।

तर नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशी भने कात्तिक ३० गते लक्ष्मी पूजा मनाउनुपर्छ भन्नु शास्त्रीय मान्यता विपरीत भएको बताउँछन् । उनले यसलाई धर्ममा राजनीतिकरण भएको रुपमा बुझेका छन् ।

‘केही समूहले राजनीतिक उद्देश्य प्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका छन्, तिथिमा घटबढ यसअघि वि.सं २०६६, २०६७, २०७६ र त्यसअघि पनि भएको हो, यस वर्षको पात्रो गत वर्ष माघमै निस्किए पनि तिहारको मुखमा विवाद निकाले’, जोशीले भने ।

राजनीतिक उद्देश्यबाट प्रेरित भई गरिएको आह्वान पुराना पात्रोसम्मत समेत नभएकाले यसअघि लक्ष्मीपूजा, आत्म (म्ह) पूजा र भाइटीका मनाइएको तिथिमिति हेर्न सदस्य जोशीले अनुरोध गरे । राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उनको आरोप छ ।

धर्मशास्त्र र ज्योतिषशास्त्र विपरीत गरिएको चाडपर्वको निर्णय मान्य नहुने उनको भनाइ छ । त्यसअनुसार चाड पर्व मनाउन आह्वान गर्नेले पात्रो गणना गरेर सार्वजनिक गर्नुुपर्ने समिति सदस्य जोशीको सुझाव छ ।

online khabar