धुलिखेलमा शुरु भयो असहायका लागि सेवा घर


धुलिखेल, अब सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य काभ्रेका पिडितहरुले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षालगाएत पाउने भएका छन । जसको सेवाको लागि धुलिखेल नगरपालिका वडा नंं. ४मा भक्तपुर जिल्लामा केन्द्रिय कार्यालय रहेको मानव कल्याण समाजको शाखा कार्यालय खुलेको छ ।
भक्तपुरमा केन्द्रिय कार्यालय स्थापना गरी २०७५ बैशाख देखि सेवा शुरु गरेको उक्त संस्थाले काभ्रेपलाञ्चोक जिल्लामा भदौ १५ गते देखि सडक मानवको उद्धार गर्न शुरु गरेको भएपनि शुक्रबार औपचारिक उद्घाटन भएको छ । मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले सडक पेटी तथा सार्वजनिक स्थलमा कष्टकर जिवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गरिरहेको बताउनुभयो । भक्तपुरमा स्थापना भएको समाजले करिब दुई सय जनाको उद्धार गरिसकेको छ । गत भदौ १५ गतेबाट धुलिखेलमा काम गरिरहेको समाजले काभ्रेमा १३ जनाको उद्धार गरिसकेको छ ।
विभिन्न व्यक्तिहरुको सहयोगबाट सञ्चालन हुँदै आएका संस्थाले सेवा घर मार्फत परिवारमा पुनः मिलन गराउने, उत्प्रेरणात्मक तालिम, केही गर्न सक्ने भएर पनि अवसर नपाएर सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताईरहेका हरुकालागी विभिन्न सिपमुलक तथा आयमुलक स्वरोजगारका तालिम सञ्चालन गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने छ ।

सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्यतालाई लक्षित गरेर सेवा घर सञ्चालनमा ल्याइएको हो । सेवा घरको एक कार्यक्रमका बीच शुक्रबार धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार व्याञ्जु र कलाकार सरिता लामिछानेले समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुदै नगरप्रमुख व्याञ्जुले राज्यले गर्नुपर्ने काम मानव कल्याण समाजले गरेको भन्दै नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउदै संस्थालाई नगरले निःशुल्क घर उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले संस्थाले मानविय क्षेत्रकै विशिष्ठ काम गरेको भन्दै संस्था सञ्चालनमा आइपर्ने कानूनी तथा अन्य समन्वयका लागी सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा धुलिखेल कलाकार लामिछाने, नगरपालिका उपप्रमुख बिमला शर्मा चौलागाई, धुलिखेल नगरपालिका वडा नं. ४का वडा अध्यक्ष रविन्द्र कर्माचार्य, प्रशिक्षक विके रमण भट्टराईलगायतले मन्तव्य राख्नुभएको थियो । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्