जहाँ छौं, त्यही दशैं मनाऔं, बढ्दै छ गाउँघरमा सङ्क्रमणको जोखिम


 

बनेपा, चाडपर्व नजिकिएसँगै बजारमा मान्छेको चहल पहल बढेको छ । संगै कोरोना भाइरस सङ्क्रमणको दरपनि बढेको छ । केहि समयदेखि काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा बढेको दर अब भने गाउँघरमा बढ्ने अवस्था छ ।
चाडपर्वमा धेरै मान्छेहरु घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो । अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको छ अब ती मानिस दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जाने भएकाले गाउँघरतिर सङ्क्रमण फैलिने खतरा रहेको छ । यो संभावना हेरेर सरकारले जहाँ छौं, त्यही दशैं मनाऔं भनेको छ । हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको हो । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।
साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन । बन्दाबन्दी खुलेसँगै अहिले बजारमा मानिसको चहलपहल बढेपछि सङ्क्रमित सङ्ख्या पनि ह्वात्तै बढेको छ । हिजो मात्रै पनि २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ । अब तीनै मानिस गाउँघरमा जाँदा सङ्क्रमण गाउँघरमा फैलिने डर रहेको छ ।

यो तथ्यांकलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको हो । मन्त्रालयले सकभर दशैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्