अब कांग्रेसले देखान देख्नु हुन्न–केशवराज चौलागाई


 

विश्व राजनीतिमा पहिलो पटक, नेपालमा कम्युनिष्ट पार्टीको दुईतिहाई जनमतको सरकार पनि देखियो ।
कर्मचारी स्वतःप्रधानमन्त्री भएको पनि देखियो । मनोनित सदस्यलाई पनि प्रधानमन्त्री बनाईयो । कांग्रेसको प्रजातन्त्र, एमालेको जवज र माओवादीको जनवाद पनि देखियो, राजा आफै प्रधानमन्त्री भएको पनि देखियो । मधेशी राष्ट्रप्रमुख भएको पनि छ, महिला त अझै छंदैछन् । कुनै दिन मुश्लिम वा कृश्चेन अथवा कुनै राष्ट्रप्रमुख बनेको समयमा यो मुलुकको सांस्कृतिक विघटनको दिन आउंछ कि आउन्न कुन्नी ! त्यो पनि कुनै दिन पूरा हुनेछ ।
यो मुलुक कतातिर गैरहेको छ ? कुन संस्कृति र संस्कार बसाउंदै छौं । जनवादी केन्द्रीयतामा विश्वास राख्ने आफुलाई समाजवादी भन्छ जो समाजसंग छलफल नै गर्दैन । आफुलाई लोकतन्त्रको प्राय ठान्नेहरु सभापति भन्दा अरुको कामै देख्दैनन् । के कथनी र करणीमा अलि अलि भएनि मेल खाओस न ! के खोजेको होला हामीले सायद हामीलाई नै थाह छैन ।
२०४६ देखि २०५८ सम्मका सम्पुर्ण कुशान कुलङ्गार राजाको थाप्लोमा हाल्दिएर हामी पानी माथि ओभानु भएका छौं । आफ्नो कुल शाशनको रक्षा गर्न नसक्ने कमजोर राजालाई पाखा पाखै हटाएर वहुत गर्वका साथ केवल एउटा पक्ष, केवल एउटा समुहले वनाउने निश्चित राजनैतिक सिद्धान्त बोकेकालाई उक्त स्थान दिएर आफ्ना ऐतिहासिक भुलहरुलाई पुर्ने प्रयत्न गरिरहेका छौं ।
जालझेल, पक्षपात, भ्रष्टचार, वलात्कार, जाती विभेद , दलाली, तस्करी विरुद्ध रगत पीउन तयार भएकाहरुकै शाशनकालमा त्यही कुकृत्यले ईतिहासकै रेकर्ड तोडेको छ । सुकुम्वासीका टहरा जलाएको घटना सुन्दा त सर्वत्र घृणा पैदा हुन्छ । एउटा मायालु दलित कुटी कुटी मारिन्छ । अब नेपाली जनताले आशा गर्ने के ?
छरछिमेकमा हाम्रो उपस्थिति काउछो भएको छ । उ मुर्खले काउछो हटाउन चाह्यो भने उस्को त भर्सेलो पर्ला हाम्रो के हुने हो ? किसान सडकमा दूध वैराउंछ, देश भीखमागेर दूध किन्छ । निजी कलेज, निजी अस्पताल, निजी निर्माण, निजी बैंकका मालिकहरुले समाजवाद ल्याईदिन्छन भनेर अझै यही तन्त्रको गान गाउंने हामीहरु करौंतिमा बेरिएको सर्प जस्तै त भएका छैनौं ? एक पटक विचार गरौं ।
यो सरकारले कृषि अनुदानको नाममा आफ्ना कार्यकताहरुलाई राज्य ढिकुटी बाढीरहेको छ । विकासका बजेटहरु कार्यकर्तालाई वाडीरहेको छ ।
कर्मचारी तन्त्रले हुकुमी शासन व्यहोरी रहेको छ । यति पक्षपाती सरकार पञ्चायती शासनमा पनि थिएन होला ? कुनै कुनै नियुक्ति हेर्दा चोरलाई चौतारी, साधुलाई शुली हुँदै जाने खतरा बडीरहेको छ ।
नागरिकमा तिव्र निराशा, असन्तुष्टी, र वेचैनी आकाशिदो छ । भरोसा कतै नदेखिएको अवस्थामा जनअसन्तुष्टिले अराजकताको रुप लिन सक्छ अनि मुलुक वैरीहरुको परेड स्पोर्ट बन्न वेर छैन । त्यसैले अब नयां शिराबाट सोच्न ढिला भईसकेको छ ।
खासगरी मुलुक दुई कित्तामा विभक्त छ । बामपन्थीहरु सत्तामा छन लोकतन्त्रवादीहरु प्रतिपक्षमा । सत्ता पक्षको कारण यो मुलुक युगान्डा, सुडान, अफगानिस्थान तिरको यात्रामा धकेलिदैं जांदा प्रति पक्षले देखान देख्दै जाने हो भने नरहे बाँस नबजे वाँसुरीको अवस्था न आउला भन्न सकिन्न । त्यसैले अब कांग्रेस पार्टीले देखान देख्नु हुन्न ।

राष्ट्रिय एकता र लोकतन्त्रको रक्षार्थ अब नेपाली कांग्रेसले वि.पि. वादको लिकमा आफुलाई गुडाएर बृहद मेलमिलापको नीति अवलम्वन गर्नु पर्दछ । सत्ताईतरका सबै असन्तुष्ट पक्ष सम्मिलित गोलमेच सभाको आयोजना गरेर निर्मित संविधानको पुनरावलोकन गरोस् । आजसम्मको सत्ता संचालनको अनुभववाट देखिएका त्रुटीहरु सच्याउने साहस गर्नु पर्छ ।
सास्कृतिक पहिचानका आधारमा प्रदेश (शाशकीय एकाई) निर्माण गरौं ।
मुलुकलाई आस्तिक बनाऔं( धार्मिक स्वतन्त्रता)
तटस्थ राष्ट्र प्रमुख( संसदबाट नियुक्त सांस्कृतिक राजा)
असंलग्न प्रराष्ट्रनीति सद्भाव पुर्ण छिमेक नीति त्यसमा पनि निर्भर्ताका आधारमा पहिलो दोश्रो ।
प्रत्यक्ष निर्वाचित संसद, सर्वजातीय राष्ट्रिय सभा
तहगत अल्पसंख्यकलाई विशेष अधिकार ।
जननेता वि.पि. कोईरालाले निर्णय गर्न दुविधा भयो भने देशको माटो हातमा लिनु आफै दिशा निर्देश हुनेछ भन्नू भएको छ । म त यो माटोमा राजा(तटस्थ राष्ट्रप्रमुख) देउता परम्पराको सुगन्ध भेट्टाउंछु । सबै खाले शासन पद्धति स्थान विशेषका लागि उचित होलान तर सबै समाजमा सबै राजनैतिक दर्शन उपयुक्त हुन्छ भन्नू मानव समाज र सास्कृतिक विविधतालाई अस्वीकार गर्ने जडता हो ।

– (लेखक नेपाली कांग्रेस दोलखाका महासमिति सदस्य हुन)

प्रतिक्रिया दिनुहोस्