बालबालिकामा कोभिडको असर र बाल दिवस–प्रल्हाद दाहाल


विश्व कोरोना भाइरस (कोभिड–१९)का कारण आक्रान्त छ । विश्वभरका मानिसलाई अहिले कसरी बाँच्ने र रोगबाट मुक्त हुने चिन्ता मात्र छ । त्यसैले यति बेला देशमा मनाउने चाडपर्व, रितितिवाज, दिवस आदि सबै ओझेलमा परेका छन् । त्यस्तै प्रत्येक वर्ष भाद्र २९ गते मनाइने बाल दिवस पनि यस वर्ष ओझेलमा पर्यो । मुलुकका धेरै ठाउँमा विभिन्न खालका कार्यक्रमहरु हुने गर्थे । यस बर्ष सरकारी तवर वा निजि क्षेत्र कतैबाट पनि भौतिक रुपमा उपस्थिति भएर कार्यक्रम हुने अवस्था रहेन । खास कार्यक्रम नभए पनि कतै कतै अलि अलि भर्चुअल रुपमा कार्यक्रमहरु भने भए । तर जुन तवरले सामुहिक रुपमा उपस्थित भैइ गरिने कार्यक्रमको महत्व हुन्थ्यो त्यो चाहिँ यसरी गरिने कार्यक्रमको हुँदोरहेनछ । तर समयको आवश्यकता अनुसार जे जे परि आउँछ त्यो गर्नै पर्ने हुन्छ । कोरोना महामारी कै कारण यस वर्ष लाखौ अभिभावकहरुले आफ्ना बालबालिकाले प्रत्येक वर्ष प्रस्तुत गर्ने कार्यक्रमहरु हेर्न नपाए पनि बाल दिवसका सन्दर्भमा सरकारी अधिकारीहरुको धारणा भने टेलिभिजनका पर्दाहरुमा सुन्न पाउनुका साथै सिंहदरवार, बालुवाटार, पत्रपत्रिका आदि मुख्य ठाउँबाट केही बक्तव्य सुन्न, देख्न र पढ्न भने पाउनुहुने छ । यत्रो समयदेखि एउटा बन्दी जस्तो गरि घरभित्र बस्नु परिरहेको पिडाको बिच मनाइने यस बाल दिवसले अहिलेको समयमा औपचारिकताभन्दा अरु कुनै हर्ष थप्न सक्ने अवस्था छैन । यसरी बाल दिवस मनाइरहँदा यस वर्षको पढाई, पढ्दै नपढी बित्तै गएको शैक्षिक सत्रका बारेमा भने गहिरिएर सोच्नुपर्ने समय भएको छ ।

आम बालबालिकाले आफ्नो जीवनको महत्वपूर्ण समय विद्यालयमा बिताएका हुन्छन् । तर यस वर्ष कोरोना महामारी फैलिएसँगै शैक्षिक सत्रको आधा समय बालबालिकाले विद्यालयको मुखै देख्न नपाई बिताउनु पर्यो । हाम्रो देशमा अहिले करिब ९० लाख बालबालिका छन् । ती बालबालिका योभन्दा पहिले निरन्तर विद्यालय जान्थे भने आज ती तमाम बालबालिका बन्द कोठाभित्र बन्दी जीवन बिताइरहेका छन् । अझ यस्ता अरु लाखौं बालबालिका जो कहिल्यै विद्यालयमा पाइला टेकेका छैनन् तिनको बारेमा त कसैले कुनै आवाज नै उठाको पाइदैन । तिनको लागि यो बाल दिवस अनि तपाईं हामीले चलाउने गरेका यस्ता वहसले अहिलेसम्म छुन सकेको छैन । अब तपाईं हामीले यो विषयमा खुलेर वहस गर्नु पर्ने समय आएको छ । अबको समयमा शिक्षा मात्र होइन, जीवन सम्बन्धि विविध ज्ञान र सीप नै प्रमुख भैसकेको छ । यदि हामीले बेलैमा यो अवस्था बारे सोचेर उपयुक्त निकास निस्कन सकेनौ भने बालबालिकाको सिकाई कम हुने मात्रै नभई उनीहरुमा विभिन्न नकारात्मक प्रभाव समेत पर्न जान्छ । अहिले बालबालिकामा देख्न थालिएको नकारात्मक प्रभाव पनि विद्यालय बन्द भएकै कारणले सृजना भएको हुनसक्छ । अहिले यो अफ्ट्यारो समयमा बालबालिकामा देखिएको बिचलन तत्कालको मात्र समस्या होइन । यसले दीर्घकालिन रुपमा ठुलै असर पुर्याउन सक्छ ।

बाल्यकालको समय नै बालबालिकाको लागि सबैभन्दा महत्वपूर्ण र संवेदनशील समयको रुपमा लिइन्छ । यो समयमा भोगेका, देखेका, सिकेका, बिगारेका आदि सबै कुराहरुले जीवनलाई पछिसम्म प्रभाव पारिरहेको हुन्छ । त्यसैले यो समयमा विद्यालय, घरपरिवार, समुदायमा गरिने सबै गतिविधिहरु बालबालिकाको उमेर, क्षमता र अवस्था अनुरुप सुहाउँदो र सरल हुनुपर्दछ । सानासाना कुराहरुले पनि बालबालिकाहरुमा ठुलो प्रभाव पारिरहेको हुन्छ। बालबालिकाको हरेक कुरामा विद्यालय, घरपरिवार, समाज सजग हुन जरुरी छ । विद्यालयको भौतिक अवस्था, उनीहरु प्रति गरिने वयवहार र गतिविधिहरुले बालबालिकाको मनस्थितिमा धेरै नै फरक पार्दछ । यो अहिलेको प्रमुख विषय भएकोले सम्बन्धित सरोकारवालाहरुले समयमै ध्यान दिन अत्यन्त जरुरी छ । प्रत्येक बालबालिकाले पढ्न पाउनु उनीहरुको प्रथम अधिकार हो भने अभिभावक, समाज र राज्यले यस कार्यमा सघाउ पुर्याउनु सबैको दायित्व हो । समाजका सबै पक्षले बालबालिकाको आधारभूत अधिकारको संरक्षण गर्नुपर्दछ ।

यहाँ नेपाल लगायत संसारका १९२ भन्दा बढी राष्ट्र्हरुद्वारा अनुमोदन गरिएको संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धी महासन्धि–१९८९ को पनि स्मरण गर्न आवस्यक छ । बर्तमान संविधानको भाग ( ३ मौलिक हक र कर्तब्य, दफा ३९ मा बालबालिकाको हकको व्यवस्था १० वटा उपदफाहरुमा गर्दै उपदफा ८ मा प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ भनि स्पष्ट व्यवस्था गरिएको छ । संविधानले परिकल्पना गरे अनुसार बालबालिकाका सम्बन्धमा कुनै पनि दुब्यवहार वा अन्याय गरिनु हुँदैन । यो सम्बन्धमा आम अभिभावक, समाज, राज्य वा उनीहरु अध्ययन गर्ने विद्यालय सबै पक्ष यो विषयमा गम्भीर भएर सोच्नु पर्दछ । विद्यालय जाने उमेर समुहका विद्यार्थीहरुका विषयमा अझ सम्बन्धित पक्ष बढि जिम्मेवार हुन आवस्यक छ । विद्यालयमा कुनै पनि ढङ्गले बालबालिकालाई भेदभाव गरिनु हुँदैन । सामान्यतया जातीयता, आर्थिक, लिङ्ग, उनीहरुको पृष्ठभूमि आदि कुनै पनि आधारमा शिक्षक तथा विद्यार्थीहरु स्वयमद्वारा जानी वा नजानी कुनै पनि भेदभावपूर्ण व्यवहारहरु भैरहेका हुनसक्छन् । कक्षाकोठा भित्र पढाईमा राम्रो भएका र कमजोर भएकाहरुको बीच पनि भेदभाव भैरहेका हुनसक्छन् ।यस्ता विषयमा हामी सरोकारवालाहरुले बिचार गरि बेलैमा समस्या हल गर्नतिर लाग्नुपर्छ
ि

विद्यालयमा सम्बन्धित पक्षले आफ्नो भौतिक पक्षभन्दा बालबालिकालाई मनोबैज्ञानिक रुपमा सुरक्षित महसुस हुने गरि डर, त्रास र भयरहित वातावरणमा कसैलाई हेला, र्दुव्यवहार, यातना, भेदभाव तथा होच्याउने कार्यबाट टाढा राखि पढ्नुपर्ने हुन्छ । विद्यालयमा बालिकाहरुलाई जिस्क्याउने, नराम्रो बोल्ने लगायत कुनै पनि ढङ्गले यौन दुव्र्यवहार हुने स्थिति आउन नदिन आवश्यक उपायहरु अपनाउनु पर्दछ । यस्ता कार्य विद्यार्थी माझैबाटै, शिक्षक तथा कर्मचारीबाट, विद्यालय वरिपरिका मानिसहरु जो सुकैबाट हुन सक्छ भन्ने कुरामा सम्बन्धित पक्षले बेलैमा ख्याल गर्नु पर्ने हुन्छ। बालबालिकाको विकासको स्तर, क्षमता र सिक्ने बुझ्ने शैली अनुसार क्रमबद्ध पाठ्यक्रम र सिक्ने सिकाउने तरिकाको विकास गरिनुपर्दछ । अहिलेको यो समयमा शिक्षकले भनेको एकोहोरो सुनेर भन्दा आफैं सहभागी भएर धेरै कुराहरु राम्रोसँग सिक्दछन् र जान्दछन् भन्ने कुरा शिक्षक वर्गले बुझ्न पर्ने हुन्छ ।

अहिले परिमार्जन भएको पाठ्यक्रममा पनि सानैदेखि प्रोजेक्ट वर्कलाई धेरै महत्व दिईएको छ । अब हामीले यसलाई सही ढङ्गले कार्यान्वयन गर्न जोड दिनु पर्दछ । बालबालिकालाई निश्चित एक–दुई कुरामा मात्रै वा परीक्षामुखी मात्रै भएर सिकाउनमा सीमित नभै सबै पक्षमा गुणस्तरीय सिकाई हुने कुरामा जोड दिइनुपर्दछ । लेख्ने, पढ्ने, बोल्ने, सुन्ने एवम् भाषा तथा गणित लगायतको क्षमता बढाउँदै जीवन सम्बन्धी विभिन्न सामान्य ज्ञान प्राप्त हुने खालको सिकाईमा ध्यान दिनु पर्दछ । बालबालिकालाई विश्लेषणात्मक तरिकाले सोच्न सक्ने, प्रश्न गर्न सक्ने तथा आफ्ना भावनाहरु निसंकोच व्यक्त गर्न सक्ने क्षमता अभिबृद्धि गर्ने प्रकारको सिकाई हुनु पर्दछ । विद्यालय बालबालिकाका लागि धेरै कुराहरु सिक्ने ठाउँ हो । बालबालिकाको जिवनमा अनुशासन भनेको गहना हो । त्यस कारण हामीले विद्यालयमा यसलाई महत्वका साथ सिकाउनु पर्दछ । तर अनुशासन सजायको डरले नभई यसको महत्व बुझाई जीवनको एक अभिन्न अङ्ग हो भन्ने रुपमा बुझ्न सक्ने वातावरण सृजना गर्नु पर्दछ । बालबालिकालाई अनुशासन विहीन पनि हुन दिनु हुँदैन र कडा, कठोर अनुशासनले पनि बालबालिककको स्वभाविक विकासमा बाधा पुर्याउँछ । अनुशासनका नाममा बालबालिकाहरुलाई अमानवीय सजायहरु पनि दिईएको पाईन्छ । सजायले तत्काल एक छिनलाई समस्या समाधान भएको जस्तो देखिएता पनि यसको दीर्घकालीन परिणाम भने राम्रो हुँदैन । अनुशासन कायम गराउन डरभन्दा पनि समझदारी र सहभागितालाई प्राथमिकता दिनुपर्दछ ।अरु अनुशासनमा बसेको देख्न चाहनेले आफु पनि अनुशासनमा रहनु पर्छ भन्ने भन्ने कुरा हामी सबैले कहिल्यै बिर्सन हुँदैन ।

विद्यालयमा बालबालिकालाई पढाइने कुराहरु वास्तविक जीवनमा आधारित जीवन उपयोगी हुनु पर्दछ । हिजो जे भयो त्यसलाई छाडेर अब निर्माण गरिने पाठ्यक्रममा अतिरिक्त रुपमा भए पनि जीवन उपयोगी कुराहरु सिकाउन थाल्नुपर्छ। विद्यालयमा सिकाइने कुराहरु बाबालिकाको आधारभूत मानवअधिकार सम्मान गर्ने खालको हुनुपर्दछ । विद्यार्थीलाई किताबी किरोका रुपमा मात्रै सीमित रहन नदिइ उनीहरुको प्रतीभालाई प्रस्फुटन गराई फराकिलो पार्न उनीहरुको दृष्टिकोण र सोचाइलाई व्यापक बनाउन हरसम्भव प्रयत्न प्रयास राख्नृुपर्दछ ।
यस वर्षको बाल दिवस मनाइरहँदा बालबालिकाहरुले आधा शैक्षिक सत्र विद्यालयको मुख देख्न नपाई विताउनु परेको छ । उनीहरुले यो समयमा गाउँघरमा गैइ आफ्ना अभिभावकसँग खेतबारी, वनपाखा, डाँडाकाँडा, घरगोठ सबै कुराको प्रत्यक्ष अवलोकन गर्न पाए। यसले थोरै भए पनि उनीहरुको सिकाईमा परिवर्तन ल्याएको हुनुपर्छ । अब हामीले सिकाउने शिक्षा भनेको प्रत्येक बालबालिकाको इच्छा र उनीहरुसँगको क्षमताको आधारमा व्यवस्था गर्न सकियो भने बल्ल देशमा आवश्यक दक्ष जनशक्ति उत्पादन हुन सक्थ्यो । शहर बजारमा देखेका सुनेका वा भोगेका ब्यवहारिक ज्ञानले मात्र जीवन सफल र सार्थक बन्छ भन्ने चाहिँ होइन । हिजो, आज र भोलीलाई बुझेर हामीले अगाडि हिड्यौ भने पक्कै पनि हामी सफल बन्न सक्छौं । यसको लागि आम हामी नेपालीमा सोच परिवर्तन गर्न आवश्यक छ । अनि मात्र देशले सोचेको जस्तो विकास हुन सक्छ नत्र भने यी सबै प्रयासहरु व्यर्थ हुने छन् । -प्रल्हाद दाहाल,नि.सचिव नेशनल प्याव्सन

प्रतिक्रिया दिनुहोस्