कलाकारीता क्षेत्रमा कोरोनाको प्रभाव


सिरोज दाहाल ( कलाकार )

काभ्रेपलान्चोक – चिनको बुहानबाट सुरु भएको कोरोनाले विश्वलाई नै अहिले आनो पञ्जाभित्र पारिसकेको छ । शैक्षिक, व्यापारिकदेखि लिएर सम्पूर्ण आर्थिक गतिविधिहरूमा यसले नराम्रो प्रभाव पारेको छ, मान्छेलाई नराम्रोसँग हल्लाएको छ ।

यसका कारणले विश्वका अन्य भागमाजस्तै नेपालमा पनि नकारात्मक असरहरू देखिन थालेका छन् । झन् नेपालजस्तो विकासोन्मुख देशमा हातमुख जोर्ने समस्या बढ्दै गएको छ । शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्रजस्तै नेपाली सिनेमा र कलाकारिता क्षेत्रमा पनि यसले नराम्रो असर पारेको छ । गत चैतदेखि बन्द भएका सिनेमाहल, प्रदर्शन हुनबाट रोकिएका फिल्महरू, बन्द भएका नाटकघरहरू र कलाकारितालाई पेशा बनाएर जिविकोपार्जन गर्ने र प्रत्यक्ष अप्रत्यक्ष रूपमा यस पेशासँग जोडिएका हजारौँको रोजिरोटी खोसिएको छ ।

बिस्तारै बिस्तारै व्यवसायिक रूप लिन थालेको कलाकारिता क्षेत्रमा कोरोनाको प्रभावका कारण भयावह अवस्था सिर्जना भएको छ ।

व्यापार व्यवसायहरू बिस्तारै खुल्दैछन् । बिहान बेलुका गरेर भएपनि बजारहरू खुलेका छन् ।

उद्योगधन्दाहरू पनि सुरक्षित उपाय अपनाएर सञ्चालनमा आउन थालेका छन् । शैक्षिक संस्थाहरूले अनलाइन कक्षाहरू सुरू गरेको अवस्था छ तर कुनैपनि कोणबाट सकारात्मक निकास नदेखिएको फिल्म क्षेत्र देखिन्छ । यस क्षेत्रमा लागेका कलाकारहरू, प्राविधिक पक्षसँग जोडिएका पेशाकर्मीहरू, स्पटब्वाय लगायतका जनशक्ति अहिले बेरोजगार भएका छन् ।

बिहान बेलुका हातमुख जोर्ने समस्या छ । यस्तोमा न त सरकारले ध्यान दिन सकेको छ, न त कलाकारसँग सम्बन्धित संघ संगठनले नै । बिस्तारै वातावरण सहज भएपनि हलसम्म पुगेर मानिसहरूले फिल्म हेर्ने वातावरण बन्न लामो समय लाग्ने देखिन्छ । एक दुई म्युजिक भिडियो, एक दुई वेभसिरिज, एक दुई टेलिफिल्महरूले सम्पूर्ण कलाकारहरूको आवश्यकतालाई सम्बोधन गर्न नसकिने देखिन्छ ।

कलाकारहरूलाई सधैँ राष्ट्रको गहना मात्र भनिरहने तर उनीहरूका आवश्यकतामा सधैँ मौन रहिरहने परिपाटीले नेपाली कलाकारिताको क्षेत्रलाई घाटा पु¥याउने देखिन्छ । अब पनि सम्बन्धित निकायले कलाकारिता क्षेत्रमा आइपरेका समस्याहरूमा ध्यान नदिने हो भने यो क्षेत्र अझै बिसौँ बर्ष पछाडि धकेलिने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्