सरकारले जिम्मा लियो एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध सरकारले गर्ने घोषणा गर्नु भएको छ । एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको ब्यवस्थापनको निर्देशन समेत दिनु भएको हो ।

घटना घटेको अवस्था देखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाई खर्च तथा ब्यवसाय तथा रोजगारीका लागि सरकारले जिम्मा लिने प्रधानमन्त्रीले घोषणा गर्नु भएको थियो । गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाम्फे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिव समेतको उपस्थितिमा भएको उक्त अन्तक्र्रियामा सम्बन्धित मन्त्रालय र निकायहरुलाई आ–आफ्नो कार्यक्षेत्रको जिम्मेवारी पूरा गर्न प्रधानमन्त्रीले निर्देशन समेत दिनु भएको थियो ।

प्रधानमन्त्रीको घोषणा अनुसार एसिड आक्रमणबाट पीडितहरुको कानुनी उपचारका लागि अध्यादेश ल्याउने, स्वास्थ्योपचारका लागि राजधानीको त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पताललाई डेडिकेटेड युनिट स्थापना गरिने छ ।

प्रधानमन्त्रीको पाँच घोषणा

कार्यक्रममा प्रधानमन्त्री ओलीले एसिड आक्रमणमा परेकाहरुको पक्षमा ५ महत्वपूर्ण घोषणा गरेका छन् ।

पहिलो, एसिड आक्रमण नियन्त्रण र खुला विक्री वितरणलाई नियमन गर्न कानूनमा देखिएको समस्या सम्बोधन गर्ने गरी १५ दिनभित्र मस्यौदा बनाउन निर्देशन दिएका छन् ।
दोस्रो, सजाय कम भएको गुनासो जायज छ, यसलाई कानून बनाउँदा सम्बोधन गर्नुस् ।
महान्यायाधिवक्ता खरेलले भने, ‘पीडितहरुले हाम्रो घाउ हेरेर होइन, हाम्रो पीडालाई बुझेर सजायसम्बन्धी व्यवस्था गर्नुस् भन्नु भएको छ । प्रधानमन्त्रीले पनि यसलाई गम्भीर रुपमा लिनुभएको छ । ’
अहिले ३ देखि ८ वर्षसम्म सजय हुने व्यवस्था छ । अब यो बढ्ने बताइएको छ । एसिड खरिद बिक्रीको निमयन गर्न एउटा र एसिड आक्रमणको सजायबारे अर्को कानून बनाउने तयारी छ । अहिले संसद नभएकाले अध्यादेशमार्फत दुबै कानून आउन सक्छ ।
तेस्रो, एसिड अक्रमणका घटनालाई निरुत्साहित गर्न नयाँ कानूनबारे प्रचात्मक अभियान चलाइनेछ । प्रधानमन्त्रीले सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा बनाउने बताए ।
चौथो, एसिड आक्रमणमा परेकाहरुको उपचार निःशुल्क गरिनेछ । यसका लागि वीर, त्रिवि शिक्षण, पाटन र कीर्तिपुर अस्पताल तोकिएको छ ।
पाँचौं, एसिड आक्रमणमा परेकाहरुले चाहेको अध्ययन वा उद्यम गर्न सरकारले सहयोग गर्नेछ । प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक बन्दोबस्त गर्न शिक्षा र उद्योग सचिवलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्