गुर्जो कोसेली बाढ्दै मुक्ति, के हो गुर्जो ? कसरी ठिक हुन्छ कोरोना ?


काभ्रे, कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त बनेको बेला काभ्रेका एक युवा भने प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जडीबुटी गुर्जाे दैनिक रुपमा निशुल्क वितरण गर्दै आईरहेका छन ।
उनीहुन बनेपा–१० का मुक्ति विष्ट । बिहान सबेरै उठ्यो, गुर्जो कता पाइन्छ खोज खबर ग¥यो र गुर्जो पाइने जङ्गलका बुट्टा बुटामा पुगेर ठुलठुला रुखका बोटमा बेरिएको गुर्जो झार्नु, सङ्कलन गर्नु र त्यसलाई स–सना टुक्रा पारी सङ्कलित गुर्जोलाई निःशुल्क बाँड्दै हिँड्यो यहि हो उनको अहिलेको दैनिकी । विष्टले सङ्कलित गुर्जोलाई बाइकमा राखेर दैनिक जसो प्रहरी, सेना र स्वास्थ्यकर्मीहरूको कर्मथलोमा पुग्ने र वितरण गर्ने गरेको पाइन्छ । कोरोना महामारीमा विश्व नै लडिरहेको छ । जनस्वास्थ्यका लागि अग्रपक्तीमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सबैभन्दा बढि जोखिममा छन् । त्यही भएर आफू उहाँहरूको स्वास्थ्यका लागि केही गर्न सकिन्छ कि भनेर यो अभियानमा लागेको विष्टले बताए ।
गुर्जोले मानिसको स्वास्थ्यमा फाइदा गर्ने र मानिसको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले जनस्वास्थ्यमा खट्नेहरूका लागि आफूले निस्वार्थभावले यो काम गरिरहेको बताउदै विष्टले भने ‘हाम्रा घर आँगनमै धेरै थरी औषधी मूलक वोटविरुवाहरु छन्, यो प्रयोग गर्न सके महामारीको समयमा बच्न सकिने’ छ । महामारीमा मानिसहरू सबैलाई आ–आफ्नै स्वास्थ्यको चिन्ता छ । विष्टलाई भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको चिन्ता धेरै छ । ‘हामी नागरिकलाई बँचाउन त उहाँहरू लागिरहनु भएकै छ, हाम्रो पनि त उहाँहरूप्रति केही कर्तव्य हुन्छ’ विष्टले भन्छन त्यही भएर आफू सङ्कलित गुर्जोलाई बाइकमा राखेर दैनिक जसो प्रहरी, सेना र स्वास्थ्यकर्मीहरूको कर्मथलोमा पुग्ने गरेको छु । आफ्नो अभियानबाट प्रभावित भएर अहिले अन्य युवाहरूले पनि आफूलाई सघाई रहेको उनले बताए ।

विष्टले जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाग्मती प्रहरी प्रदेश कार्यालय, भक्तपुर स्थित जगाती प्रहरी पोष्ट, प्रहरी चौकी साँगा, नेपाल प्रहरी महाविद्यालय, भक्तपुर दुवाकोट प्रहरी पोष्ट लगाएत जिल्लाका प्राय क्वारिनटिन रहेका क्षेत्रमा पुगेर गुर्जो वितरण गरि सकेका छन ।
उनलाई अहिले बनेपाका राम दुवाल, रवीन्द्र देउजा, अविश विष्ट, नालका सन्तोष घिमिरे, मिठाराम घिमिरे, बेथानचोकका प्रेम लामा, राजेश लामा, वेद प्रसाद तिमिल्सिना, तुलसी बहादुर थापा लगायतले सहयोग गरिरहेका छन । हामीहरू गुर्जो वितरण मात्र गरिरहेका छैनौ गुर्जोको फाइदा र यसको खेती बारे पनि सिकाउँदै हिँडेका छौ उनले भने ।

रस पिउँदा कोरोना ठीक हुन्छ–रामदेव

भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड–१९)सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बताएका छन् । उनले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने बताएका हुन् । रामदेवले गुर्जोका साथै अन्य ४ घरेलु जडीबुटीको मिक्स रस पिउँदा प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने सल्लाह दिएका हुन् ।

रामदेवले भस्त्रीका, कपालभाती र अनुमोल विलोम, प्राणायम र हल्दी, मरिज, गुर्जो, अदुवा र तुलसीको रस बनाएर नियमित खाए कोरोना भाइरसको संक्रमणले नछुने बताए । उनले यसलाई बिहान बेलुका खान पनि भनेका छन् । कोरोना लागेका मानिसले पनि यी औषधिको रस खाएमा आराम मिल्ने उनको दाबी छ ।
के हो गुर्जो
यो नेपाललगायतका देशमा पाइने जडीबुटी हो । वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकहरूले यसमा रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन धेरै मद्दत गर्ने बताएका छन् । रोगसँग लड्न प्रतिरोध क्षमता बढाउने भएकाले गुर्जोको सेवन गर्ने सल्लाह आयुर्वेदिक चिकित्सक दिँदै आएका छन् ।

यो गाउँघरमा गुर्जोको नामले चिनिन्छ । यो एक प्रकारको लहरा हो । नेपालमा यसलाई पहिला ज्वरो, रुघाखोकी, चिसो र बाथ रोगको उपचारमा प्रयोग हुँदै आएको छ । विभिन्न खाले एलर्जी, छालाको रोग र पेटका रोगको उपचारका लागि पनि यसको प्रयोग हुँदै आएको छ । यसको प्रयोग मधुमेहको उपचारका लागि पनि प्रयोग गर्ने गरेको आयुर्वेदिक चिकित्सक बताउछन् ।

यो लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदीदार हुन्छ । यसका आँख्लाहरूबाट जरा निस्केका हुन्छन् । यसको बोक्रा कागज जस्तो पातलो हुन्छ । बोक्रामा सेता गन्थीका थोप्ला हुन्छन् । यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन् । गुर्जोको वैज्ञानिक नाम टिनोस्पोरा कर्डिफोलिया हो । यसमा फूल पनि फल्दैन र पल पनि लाग्दैन । योलाई वैज्ञानिकहरूले श्रेणीविहीन रानुन्कुलालस गणमा राखेका छन् ।
यो एशियाका नेपाल, भारत, चीन, श्रीलंका, म्यानमार, थाइल्याण्ड, मलेसियालगायतका मुलुकमा पाइने गरेको छ । यो जस्तोसुकै माटोमा पनि हुर्कन्छ । गर्मी ठाउँमा राम्ररी हुर्कन्छ । यसका लहरा फागुन चैततिर काटेर रोप्न सकिन्छन् । कोरोनाको बिरुद्धमा गुर्जो उपयोगी हुने देखिन थालेपछी केही समय यता गुर्जोको माग पनि धेरै हुन थालेको छ । व्यापारीले ५०० प्रती किलोसम्म यसलाई बेच्न थालेका छन ।
यसको सेवन
गुर्जोको केही सानो सानो टुक्रा पानीमा हालेर, विहान, वेलुका त्यो पानी खान सकिन्छ । आयुर्वेदका जानकारहरुका अनुसार सुत्केरीले बाहेक सबैले गुर्जो प्रयोग गर्न मिल्छ । – नव क्षितिज साप्ताहिकबाट

 

प्रतिक्रिया दिनुहोस्