शिक्षा र कृषिको विकास नै देश विकासको मेरुदण्ड हो–प्रल्हाद दाहाल


सामाजिक प्राणी मानिसहरुको सामुहिक बसाई नै समाज हो । मानिसहरु एक आपसमा आफुलाई सर सहयोग र मर्दापर्दाको लागि समाजलाई अपरिहार्य अंगको रुपमा लिने गर्दछन् । एकापसमा सरसापट, ऐचोपैंचो, दुःख, सुख साटासाट गर्ने पहिलो थलो भनेकै समाज हो । समाज प्रत्येक मानिसको लागि पाठशाला जस्तै हो । राम्रा ,नराम्रा , सहि, गलत सबै कुरा समाजबाट नै सिक्ने हो । समाजमा राम्रो कुरा नभइ गलत संगत भयो भने त्यसको सिधा असर प्रत्येक घरपरिवारसँग जोडिन्छ । सभ्य समाज निर्माण नै सभ्य नागरिक निर्माणको जग हो । त्यसैले हरेक कुराको सकारात्मक परिवर्तन आउनको लागि समाजको प्रमुख भुमिका हुने गर्दछ ।

धेरै किसिमका सभ्य समाजबाट नै असल राष्ट्र बन्ने हो । सबैभन्दा पहिला असल समाज बनेपछि असल देश बन्छ। समाज सबल बनेपछि मात्र राष्ट्र विकसित र समृद्ध हुन सक्छ भन्ने कुरा बुझ्न अत्यन्त जरुरी देखिन्छ। नेपाल एउटा विकाशोन्मुख देश हो । यहाँ विभिन्न किसिमका समाजहरुको सञ्जाल छ । हाम्रो समाजमा अन्धविश्वास, खराब संस्कार, आधुनिकता, विसङगतिलाई निरुत्साहित नगरी यो समाजको मौलिक समुन्नतिको परिकल्पना गर्न कठिन छ । त्यसैले समृद्ध तथा सबल समाज निर्माणका लागि सम्पूर्ण समुदाय जागरुक भैइ आजका दिनबाट नै यस्ता नकारात्मक कुरा हटाउन लाग्नु पर्दछ । आजको युग अनुकुल पुरानो युगलाई समायोजन गरि यो समाजलाई डोर्याउन अघिल्लो पुस्ताले नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै सभ्य, समुन्नत र विकसित समाज निर्माणका लागि युवा पुस्तालाई सँगसँगै लिएर हिड्नु नै आजको मुख्य दायित्व हो । त्यसैले अबको परिवर्तन युवाको मुख्य सरोकार हुनुपर्छ । परिवर्तन भनेको पुरानो समाज र सामाजिक सम्बन्धको अवसान र नयाँको जन्म वा निर्माण मात्रै होइन । सबै कालका व्यक्ति, समाज र सामाजिक सम्बन्ध जोडिएर नै ऐतिहासिक नव युगको निर्माण हुन सक्छ भन्ने कुरा हामीले बुझ्न आवश्यक छ । हामी अहिले परिवर्तनको मुख्य समयमा छौ । घर, समाज, टोलछिमेक सबैतिर परिवर्तनको क्रम तीव्र रुपमा बढेको छ । हरेक पुस्ता तीव्र रुपमा नयाँ खोज र परिवर्तनमा लागेको पाइन्छ । युवा जमात आफ्नो गाउँघर, थातथलो मात्र होइन अब देश नै छाडि नयाँ पेशा व्यवसाय अँगाल्न लालायित छन् । सबभन्दा डरलाग्दो कुरा चाहिँ हाम्रो समाजको पुस्तौदेखि चल्दै आइरहेको आफ्नोपन हराउँदै जानु हो छ । यसरी एकातिर परम्परागत धर्म, संस्कृति, रितिरिवाज, मौलिक उत्पादन, भौतिक आधार, सामाजिक सम्बन्ध र जीविकोपार्जनको पद्धति नै हराउँदै छ भने पश्चिमा शैली दिनदिनै मौलाउदै गइरहेको छ । यो सबैभन्दा डर लाग्दो कुरा हो ।

कृषि नै देश विकासको मुल आधार हो । तर विडम्बना भन्नु पर्छ जो जति युवा पुस्ता बसाइँ सरेर जता गएका छन् त्यो कुनै पनि ठाउँमा कोहि पनि कृषि पेशामा संलग्न छैनन् । यो पनि हाम्रो देशको विकासको लागि ठुलै चुनौती हो । जबसम्म देश खाद्यान्नमा आत्मनिर्भर हुन सक्दैन तबसम्म देश सधैं गरिब रहिरहन्छ । अहिले वार्षिक २ खर्बको खाद्यान्न आयात हुने गरेको छ । वार्षिक ३० अर्बको त चामल मात्र आयात हुन्छ । अबको नयाँ युवा पुस्तालाई कृषिमा समाबेश गराउने खालका नीति नियमका साथ आकर्षक कार्यक्रमहरु ल्याउनु पर्यो । खास कुरा चाहिँ अबका नयाँ पुस्तालाई कसरी व्यवस्थित गरि कृषिमा अगाडि बढाउने भन्ने विषय नै मुख्य चुनौती हो ।

हिजोको समय फरक परिस्थितिबाट गुज्रिरहेको थियो तर आज त्यो स्थिति छैन । समाजमा के भईरहेको छ ? के भयो ? र के हुनुपर्छ ? भन्ने विषयमा कसैको सक्रियता नदेखिनु दुःखद कुरा हो । यसमा चासो राखेर अब हामीले आवश्यक पहल गरि युवा पुस्तालाई बुझाउन सक्नुपर्छ । परिवर्तनको यो युगमा विज्ञान तथा प्रविधि, सूचना तथा सञ्चारको सदुपयोग गरि हामी जुन समाजमा हुर्कियौ त्यो समाजलाई समय सँगसँगै डोर्याउनु हामी सबैको जिम्मेवारी हो । विश्वसामु हाम्रो समाजलाई परिचित गराउन अवश्य पनि हाम्रो पहल कदमी आवश्यक हुनुपर्छ । आजको युगमा सकारात्मक कुराबाट प्रेरित भइ परिवर्तनलाई आत्मासात गर्दै समय अनुसार अगाडि बढ्नुको विकल्प छैन । समाज परिवर्तनका लागि अब दीर्घकालिन रणनीतिका साथ समाजका सबै पक्ष एकजुट भई अगाडि बढ्यौ भने अवश्य पनि हामीले परिकल्पना गरेको सभ्य, समुन्नत र विकसित समाजको निर्माण हुन धेरै समय लाग्ने छैन । अब सबैले चिन्तन मनन गर्नु पर्ने समय भएको छ । समाजका समस्याहरु के हुन ? तिनको समाधानका उपायहरु के के हुन सक्छन् ? अथवा समाज समृद्धिको आधार के हो ? समाजमा हाम्रो दायित्व के हो ? यसतर्फ अब हामी सबै सचेत भइ आआफ्नो ठाउँबाट लाग्नुपर्छ । समाजमा परिवर्तनका लागि अथवा समाजको विकासका लागि पहिलो कुरा भनेको समाजका समस्याहरुको पहिचान नै हो । जब समस्याको पहिचान हुन्छ तब मात्र समस्या हलका लागि समाधानका उपायको खोजी हुन्छ । समस्याको पहिचान नै नगरी समाज परिवर्तनमा लाग्नु भनेको भर्र्याङ्बिना तला उक्लनु जस्तै हो । अहिलेसम्म कोहि कसैले समस्याको पहिचान गरि छलफल गरि अगाडि बडेको पाइएन । धेरै प्रयासहरु भएका देखिए तर समाजमा रहेका मानिसहरुमा सकारात्मक सोच भर्ने काम भएनन् । जबसम्म सकारात्मक सोचको विकास हुँदैन तबसम्म्म त्यसको केही पनि अर्थ रहँदैन । सामाजिक समस्या पहिचानका लागि शिक्षाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ ।

वास्तवमा हामी नेपाली गरिब छैनौं । हाम्रो संर्किण सोचाई र दुरदर्शिता नभएर हामी गरिब जस्तो देखिएको हो । हामीसँग प्रशस्त जमिन , जल , जङ्गल, प्रकृतिका अनेकौं उपहार छन् । हामीलाई यी यस्ता प्रशस्त धन दिएको छ तर हामीले हामीसँग भएका मौलिक ज्ञानको भण्डारलाई सही सदुपयोग गर्न सकिरहेका छैनौं । हाम्रो देश विकास नहुनुको प्रमुख कारण यहि नै हो । हामी हाम्रो घर, समाज,कसैले बनाईदेओस् भन्ठान्छौ । हामीसँग के छ त्यो कहिल्यै खोजिगरेनौ । अरुले औल्याइदिएको समस्यालाई मात्र देख्यौ तर आफुले खासै पहलकदमी नै गरेनौं । त्यो नै हाम्रो मुख्य समस्या हो । त्यसैले अब हामी आफैंले समाजमा विद्यमान यस्ता समस्याहरुको निर्मुल पार्ने तर्फ ध्यानदिनु अत्यावश्यक भएको छ ।

समाजको सर्वाङ्गीण विकासको पहिलो आधार नै शिक्षा हो । शिक्षा विकासको मेरुदण्ड भएका कारण शिक्षाले समाजलाई गति दिँदै, सकारात्मक सोचको विकास गर्दै, सचेतनाको विस्तार गर्दै समृद्ध समाजको परिकल्पना गर्छ । त्यसैले समाज सुहाउँदो, समाजको आवश्यकतालाई पूर्ति गर्ने, मौलिक ज्ञानको संरक्षण गर्दै समय सुहाउँदो असल शिक्षाको विकासबाट मात्रै अहिलेको आवश्यक अनुसार मौलिक समाजको निर्माण हुन्छ । मानिसलाई बाँच्नका लागि धेरै कुराको आवश्यकता पर्दछ र ति आवश्यकताहरु समय अनुसार वृद्धि भईरहेका हुन्छन् । समय र युग अनुसार मानिसलाई नभई नहुने आवश्यकताहरु नै मानविय आधारभूत आवश्यकताहरु हुन । अहिलेको सन्दर्भमा स्वास्थ्य, विद्युत, खानेपानी, सञ्चार तथा यातायातको विकासका साथै समय अनुकुलको प्रविधि र पूर्वाधारकोे विकास अत्यावश्यक छ । मानिसले आफ्नो जीवनस्तर उकास्न र समय अनुसार चल्न प्रविधि र वैज्ञानिक पद्धती अनुसार चल्न जान्नु पर्दछ । तिनै भौतिक पूर्वाधारको विकासले समाजलाई सहज र सरल बनाउँछ ।

मानविय जीवन निर्वाहका लागि विभिन्न किसिमका सिप, क्षमता तथा कलाको आवश्यक हुन्छ । तिनको उपयोगद्धारा समाजमा मानिसलाई जिउन सहज भएको हुन्छ । यसले समाजमा पनि योगदान पुगेको हुन्छ । समाजमा सिप, क्षमता र दक्षताको विकास गराउनु भनेको अत्यन्तै सकारात्मक पक्ष हो । जसका कारण हामी आत्मनिर्भर उन्मुख हुनसक्छौ । यसले मानविय अस्तित्व रक्षा गर्नुको साथै समाजको गौरव पनि बढाँउन मद्धत पुग्दछ । तयसैले हामी जो जससँग जे सीप छ त्यही प्रयोग गरेर आफु नि फाइदा लिने र अरुलाई फाइदा दिन लागौं । हाम्रो देश कृषि प्रदान देश भनेर चिनिन्छ। नेपाल अधिकांश गाउँ नै गाउँले भरिएको देश हो । जहाँ हरेक किसिमका उत्पादनहरु सहज रुपमा गर्न सकिन्छ । हाम्रो देशको लागि प्रमुख आय श्रोत तथा उत्पादन भन्नु नै कृषि व्यवसाय हो । हाल नेपालमा परम्परागत तरिकाबाट निर्वाहमुखि तरिकाले कृषि व्यवसाय चलिरहेको छ । यसलाई व्यवसायिक रुपमा आधुनिक रुपले विकास गर्नसके आर्थिक उन्नतिको प्रमुख आधार बन्न सक्छ । दीर्घकालिन कृषि योजना बनाई अगाडि बढ्न सके पक्कै पनि हामीलाई विदेसिनु पर्ने बाध्यता कम हुन सक्ने थियो । हामी आफ्नै भुमिमा मौलिक ज्ञानका आधारमा काम गरेर आर्थिक उपार्जन गर्न सक्ने थियौं । हामी अहिले भएको मौलिक तरिकालाई आवश्यक अनुसार सुधार गरि अगाडि बढ्ने हो भने हामी भोलि समाजलाई भनेको जस्तो परिवर्तन गरि भावी सन्ततिलाई सहज रुपमा गरिखान सक्ने बनाउन सक्नेछौ ।

हामीसँग हाम्रो समाजमा विश्वमा नपाइने कयौं विविध किसिमका प्रशस्त सम्पदाहरु छन् । विश्वको अग्लो सगरमाथादेखि लिएर विश्वको कतै नपाइने यार्चागुम्बा हाम्रो देशमा पाइन्छ । जसको संरक्षण, सम्वर्धन र परिचालनबाट हामीले हाम्रो मौलिक पहिचानलाई स्थापित गर्न सक्नेछौं । जसले गर्दा हाम्रो देशमा अवलोकनको लागि विश्वबाट पर्यटक आउछन् र पर्यटन व्यवसाय फस्टाउन सहयोग पुग्न सक्छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु, सम्वर्धन गर्नु हाम्रो कर्तव्य पनि हो । भविष्यमा समाजको पहिचान र परिचयका लागि पनि मौलिक धरोहरहरुको संरक्षण र सम्वर्धन अति महत्वपूर्ण छ । यो नै हाम्रो देशको मुख्य पहिचान हो । त्यस्तै हाम्रो देशमा प्रशस्त प्राकृतिक स्रोतहरु छन् । यि प्राकृतिक स्रोतहरु उपयोग नभई खेर गईरहेका छन् । यिनलाई व्यवस्थित रुपमा उपयोग गरी हाम्रो दैनिक आवश्यकताहरु पुर्ति गर्ने माध्यम बनाउन सकिन्छ र व्यावसायिकताको विकास समेत गराउन सकिन्छ । समृद्ध समाजका लागि स्थानिय स्रोत र साधनको उपयोग नै हाम्रा लागि प्राप्त हुन्छ । जलस्रोत, वन जङ्गल, खनिज तथा अन्य स्रोतहरुबाट प्राप्त उत्पादनले हाम्रो देशको विकासमा महत्वपूर्ण योगदान पुग्न सक्छ । हामी सबैजना अब राम्रोसँग बुझेर अध्ययन गरि यसमा लाग्ने हो भने हामीले कहिल्यै पछाडी फर्खेर हेर्नु पर्दैन ।

हाम्रो समाजमा परापूर्व कालदेखि विभिन्न पेशाहरु स्थापित रहँदै आएका छन् । अबका दिनमा यस्ता पेशालाई समय अनुसार वैज्ञानिक ढंगले विकास गर्दै जगेर्ना गर्नुपर्ने हुन्छ । हामीले यस्ता र भएका अन्य पेशा तथा व्यवशायको विकास गरी उत्पादन संरचनामा विकास गर्न सकिन्छ । हाम्रो समाजमा आर्थिक उपार्जनका धेरै उपायहरु छन् । बेलैमा यिनलाई उपयोग गर्दै समय अनुसार परिमार्जन गरि काम गर्ने हो भने देशको विकासलाई सहयोग पुर्याउन सकिन्छ । हाम्रो देशमा कति अवसर छन् भने कति समस्या पनि छन् । अबको चुनौति भनेको अव्यवस्थित सहरीकरण र वस्ती विकासको व्यवस्थापन प्रमुख हो । जसका कारणले समाजमा धेरै किसिमका समस्याहरु उत्पन्न हुँदै गएका छन् । त्यसैले नयाँ वस्ती विकास गर्दा र पुरानै वस्तीलाई पनि दीर्घकालीन रुपमा व्यवस्थित हुने गरी व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको छ । जसबाट सबैलाई सेवा र सुविधा पुग्ने र हेर्दा पनि सुन्दर देखिने हुन्छ । व्यवस्थित वस्ती बनाउने र त्यसमा सबैलाई समान सेवा सुविधाको वितरण गर्न सक्ने हो भने हामीले कल्पना गरेको वस्ती हामीले पाउने थियौं ।सामाजिक समानता तर्फ सकारात्मक वातावरणको सिर्जना
हाम्रो समाजमा जाति, भाषा, धर्म, लिङ्ग र वर्ग भनेर विभेद गर्ने चलन छ । यस्तो किसिमको सामाजिक विभेद र संकिर्ण व्यवहारले समाजको प्रगति हुँदैन । त्यसैले सम्पूर्ण वर्गलाई समानता हुने र सबैले समान रुपमा सबै अवसरहरु प्राप्त गर्ने वातावरणको सिर्जना हुनु नै सामाजिक समानता हो । सामाजिक असमानताले वर्ग विभाजनको समस्या उत्पन्न हुन्छ र यसले दीर्घकालिन रुपमा समाजलाई बिखण्डन तिर लानसक्ने खतरा हुन्छ । त्यस कारण यस तर्फ पनि हामीले बेलैमा ध्यान दिनुपर्नेछ । समाज भनेकै एक किसिमले सामुहिक भावनाबाट बनेको विकसित संरचना हो । समाज भित्र पनि विभिन्न खालका समुदाय हुन्छन् । ति सबै समुदायमा फरक फरक व्यक्ति हुन्छन् । कोहि कसैको एक्लो प्रयासबाट भन्दा सामुहिक प्रयासबाट लक्ष्यमा पुगि सफलता प्राप्त गर्न सहज हुन्छ । समाजको सर्वाङ्गिण विकासको लागि पनि सामुहिक भावनाको विकास हुन अत्यन्तै आवश्यक छ ।
हाम्रा समाजमा चलिआएका मौलिक सामुदायिक संघ संगठनहरुको प्रयासले सामुदयिक सद्भाव र विकासमा ठूलो टेवा पुर्याएको छ । अहिले पनि तिनको सान्दर्भिकता त्यत्तिकै छ । अबका दिनमा पनि त्यस्तै किसिमका सामुदायिक संघ संगठनहरुको आवश्यकता रहिरहन्छ । विभिन्न उपभोक्ता समितीहरु, आमा समुहहरु, महिला समुहहरु, सहकारी, युवा समुहहरु, बाल समुहहरु तथा अन्य धेरै सामुदायिक संघ संगगठनहरुको समन्वय र सहकार्यबाट नै समाजमा विकास गर्न सजिलो भएको छ । समाज विकासको सबभन्दा मुख्य आधार भन्नु नै सामुहिक भावनाको विकास हुनु हो । हामीले यि कुराहरुलाई प्राथमिकतामा राखि दिर्घकालिन लक्ष्य लिएर समाज समृद्धिको परिकल्पनालाई साकार पार्न सक्यौ भने वर्षौं वर्षसम्म यसको महत्व झक्लिरहनेछ र समाजमा तिब्र परिवर्तन देखिने छ ।

हामीले भोलि के हुन्छ ? कस्तो परिवर्तन हुन्छ ? त्यो परिवर्तनलाई हामीले वर्तमान समय अनुसार कसरी संकेत गर्न सक्छौं ? वर्तमानको कामले भविष्यमा कस्तो प्रभाव पार्छ ? हाम्रो संकेत कति सकारात्मक हुन्छ र कति नकरात्मक हुन्छ ? भन्ने कुराहरुमा स्पष्ट भएर अगाडि बढ्नुपर्छ सबै किसिमका समस्या हल हुनुका साथै सुनौलो भविष्यको समेत सुनिश्चित गर्न सकिन्छ । कुनै काम गर्दा अन्योलमा, अनिश्चितता थाहा हुँदाहुदै , अध्यारोमा झटारो हान्ने काम कहिल्यै पनि गर्नु हुँदैन । कसैको अन्धो विश्वास र नक्कलले समाजलाई गन्तव्यहिन दिसातर्फ पुर्याउँछ । कुनै पनि कुरा गर्नु पुर्व राम्रोसँग बुझेर त्यसको विषयमा अध्ययन गरि फाइदा बेफाइदाको अनुमान गरेर मात्र आफ्नो माटो सुहाउँदो कुराहरु मात्र अरुको अनुसरण गर्नुपर्छ । अन्यथा हामीले खोजेकोभन्दा फरक नजिता पाउँछौ । त्यसैले हाम्रो आफ्नो समाज निर्माणका लागि आजैदेखि सकारात्मक सोचका साथ आफ्नो मौलिकता जोगाउदै अगाडि बढौ हामी पक्कै पनि हाम्रो गन्तव्यमा पुग्नेछौ र हाम्रो देश एक दिन विश्वको नमुना देशमा गनिनेछ

प्रतिक्रिया दिनुहोस्