तथ्यमा आधारित सहकारी अभियान र हाम्रो भूमिका–दिलिप शर्मा


प्रविधिमैत्री, रोजगारीमूलक, आयआर्जन र जीविकोपार्जन सहित संस्था सञ्चालन आजको आवश्यकता हो । संस्थामा स्थापित नीति, संस्थाद्धारा प्रदान गरिने सेवा र हामीले अवलम्बन गर्ने विधि राम्रो भएमा संस्था छिटो अगाडि बढ्ने निश्चित छ । यसका लागि समयानुकुल छिटो र छरितो रुपमा कार्य सम्पादन गर्न र शेयर सदस्यहरुको विस्वास आर्जन गर्न संस्थालाई प्रविधिसँगै उच्च व्ययवस्थापन पक्ष मजबुद बनाउनु पर्दछ । व्यवस्थापन मायी र यस्ता खालका बिषयहरु हेरिएन भने संस्था जहाँको त्यही रहन्छ अगाडि बढ्न सक्दैन । संस्था समयको माग अनुसार गतिप्रदान गर्न सकेमा शेयर सदस्यहरुको चाहना, सहकारी मूल्य, मान्यता तथा सिद्धान्तलाई अनुसरण गर्न हामी कहिँ कतै चुक्दैनौ र शेयर सदस्यको समेत समृद्धि हुन्छ अनियसले सजिलै गतिलिन सक्दछ । सहकारी संस्था सञ्चालनमा गुणस्तरीयता कायम गर्नका लागि र सिंगो सहकारी अभियानलाई अगाडि बढाउनका लागि हाम्रो जिम्मेवारी, दायित्व अनि भूमिका कस्तो रह्यो ? भन्ने महशुस सहित हामी सहकारीकर्मीहरुको सहकारी प्रतिको जिम्मेवारीको भावना अनि बिचारहरु सम्प्रेषण गर्दा खुलेर छलफल तथा बहस चलाउन हामी तयार हुनु पर्दछ । हाम्रो कार्यगत क्षमता र दक्षताका आधारमा कामको मापन गर्दै हामी सक्षम भयौं कि भएनौं भन्ने बारेमा मूल्यांकन गर्न सकिन्छ । सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि राज्य तथा नीजि क्षेत्रबाट भएको प्रयासहरु के कति अगाडि बढ्दै छन् वा चासो कतिको रहेको छ भन्ने बिषयमा पनि छलफल हुनु अनिबार्य छ । बितेका दिनका कमि कमजोरीहरुलाई सम्झेर सुधार गर्नु पनि राम्रो मानिन्छ । वि.सं. २०१० साल देखि नै सहकारीको अभियान अगाडि बढाउनका लागि राज्यको तर्फबाट सहकारी विभाग स्थापना सहित प्रकृयागत हिसावले प्रयास थाले पनि औपचापरिक रुपमा २०१३ साल देखि नै सहकारीको सुरुवात भएको पाईन्छ । आजभन्दा १७५बर्ष अगाडि औपचारिक रुपमा बेलायतको सहकारिताको ईतिहासलाई हेर्ने हो भने राज्यमा रहेका आम नागरिक जो दुःखी छन् जसलाई बिहान बेलुकाको छाक टार्नका लागि समस्या छ र जहाँ बेरोजगारीको अवस्था छ र शोषण र अपहेलित भएर जीवन गुजारा गर्नुपरेको छ त्यस्ता समस्यामा रहेका ब्यक्तिहरुले आफ्ना समस्या निराकरणका लागि थालिएको सामूहिक प्रयासलाई सहकारीको सुरुवातहो भन्न सकिन्छ ।
राज्यको तीनखम्बे अर्थ व्यवस्थामा सहकारीलाई एक खम्बाका रुपमा लिइ रह्ँदा वा यो ६७ बर्षको अवधिमा सहकारीका क्षेत्रमा भए गरेका वा देखिएका सस्यामा समाधानका लागि के कति र कसरी अनि कस्ता प्रयासहरु भएका छन् त भन्ने बारेमा आम सहकारीकर्मीहरुले बुझ्न जरुरी पनि छ । प्रत्येक बर्ष सहकारी दिवस वा विभिन्न खालका सहकारीले सञ्चालन गरेका क्रियाकलापहरु सञ्चालन गरिरहँदा र हामीले अभियानका दौरान गरिने र्याली, जुलुस र सहकारीका भाषणले आम समुदायमा सहकारी प्रति वितृष्णा जगाउने र जागरुकन ल्याउने र समस्याहरु ज्यूँ का त्यूँ राख्ने हाम्रो प्रयास हो भने हामी सहकारीकर्मीहरुको भूमिकामा प्रश्न उब्जन सक्छ । राष्ट्रिय सहकारी दिवका अवसरमा सहकारी आन्दोलनले स्थापित गरेको मूल्य, मान्यता तथा दर्शनहरुमा रहेर केहि कार्यहरु पनि भएका छैनन त भन्ने बिषय पनि आउन सक्छ । सहकारी अभियानको वास्तविक अर्थमा गतिलिएको भनेको २०४६ साल पश्चात नै हो । यस अवधिमा सहकारिताको क्षेत्रमा कामहरु नै नभएका भने पक्कै होइनन् । सहकारीको बारेमा पञ्चायत कालमा पनि औपचारिक रुपमा बिद्यालयमा पढाइ नै हुने गर्दथ्यो । सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपमा सशक्तिकरणको बिषयलाई समुदायमा लगेर सचेतना जगाउने एक सशक्त माध्यम सहकारी भएकाले यसको व्यवहारिक रुपमा अगाडि बढाउन कुनै पहलउक्त समयमा नभएको भने पक्कै हो । २०४६ सालमा प्रजातन्त्रको आगमनसँगै सहकारी संस्थाहरुले नेपालका प्राय सबै कुना कुनामा उपस्थिती जनाउन सफल भएका भने अवस्य हुन । यस अवधिमा सहकारिताको क्षेत्रमा कार्यहरु सशक्त रुपले अगाडि बढाउन विभिन्नतह र तप्काका निकायहरु क्रियाशिलताका साथ अगाडि बढाउनु पनि सहकारी क्षेत्रलाई राज्यले लिएको चासो को रुपमा लिन सकिन्छ । नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा यसका मातहतमा रहेको सहकारी विभाग तथा सहकारीको उपल्लो छाता संगठन राष्ट्रिय सहकारी महासंघ, २० वटा केन्द्रिय संघ, ३०० बढी सहकारी संघ सबै जिल्लामा जिल्ला सहकारी संघहरुको क्रियाशिलताले नेपालमा सहकारीताको प्रवल र गुणात्मक बृद्धि भएको अनुभव गर्न सकिन्छ ।
सहकारी विभाग नयाँ बानेस्वरको आ. व. २०७३÷०७४ मा प्रकाशन गरेको तथ्यांक अनुसार नेपालमा ३४५१२ वटा विभिन्न प्रकृतिका जस्तै बचत तथा ऋण, बहुउद्देश्यीय , कृषि, तरकारी, फलफुल, चिया, उखु, बिद्युत, उपभोक्ता, स्वस्थ्य, मौरी, जडिबुटि, जुनार आदि सहकारी संस्थाहरुको गठन भइसकेको छ । जसमा सबै भन्दा बढी सहकारी १३५७८ वटा सहकारी संस्था त बचत तथा ऋणसँग सम्वन्धित नै छन् । सहकारी संस्थाहरुमा सञ्चालक समितिमा आबद्धता पनि महिलाको हकमा ९७,५१२ र पुरुषहरुको उपस्थिती १,५०,३१५ रहेको छ । तथ्यांकका आधारमा नै हेर्ने हो भने नेपालभर सहकारीमा आवद्ध शेयर सदस्यहरुमा ६३,०५,५८१ रहेको छ भने यसमा महिलाहरुको सँख्या ३२१३५१४ र पुरुषको संख्या ३०९२०६७ रहेको पाईन्छ । करिव ३ करोडको जनसंख्या रहेको देशमा यो ६२ बर्षे अवधिमा ६३ लाखभन्दा बढी आबद्ध हुनु नै ठूलै उपलब्धि मान्न सकिन्छ । ३४५१२ सहकारीहरु कतिको सँख्यामा चलेका छन् वा छैनन यो अनुगमन तथा विश्लेषणको बिषय होला तर जे जति सँख्यामा तथ्यांकमा आधारित भएर सहकारी विभागले संख्या सार्वजनिक गरेको छ उक्त संख्यामा आधारित भएर हेर्ने हो भने रोजगारीको आधारमा पनि ६०५१७जनाले प्रत्यक्ष काम पाएका छन् । जसमा महिलाहरुको संख्या २९०४२ र पुरुषको ३१४७५ रहेको देखिन्छ । बेरोजगारीको समस्या समाधान गर्नका लागि सहकारीले राज्यलाई गरेको सहयोगको यो ठूलै नमूना उदाहरण नै हो भन्न सकिन्छ ।
हुनत यो तथ्यांक प्रस्तुत गरिरहँदा अन्य धेरै भन्दा धेरै सहकारीहरुको संख्यामा बृद्धि भइसकेको हुनसक्छ । आ.व. २०७६÷०७७ सम्मको ३ आ. व. को तथ्यांकले अरु धेरै कुराहरु ल्याउलान । बढ्दो सहकारी प्रतिको आकर्षण र बदलिंदो समय र परिस्थितीमा सहकारी संस्थाहरुको फैलावट वा सञ्चालन तथा व्यवस्थापन पनि बढ्दै गैरहेको हामी पाउँदछौ । सहकारी संस्थाहरु जे जती जुन अवस्थामा विकास भएर गएका छन् उक्त सहकारी संस्थाहरु कसरी सञ्चालन भएर अगाडि बढ्दै छन् त भन्ने बिषयहरुमा समेत एक पटक हाम्रो दायित्व र जिम्मेवारीका बिषयहरु पनि छलफल गर्ने बेला आयो की भन्ने महसुश गर्ने समय सायद यहि होला की भन्ने लागेको छ । वास्तविक समस्यामा रहेका शेयर सदस्यहरुलाई न्यायदिने कार्यहरु हाम्रा सहकारीले गरेकी गरेनन भन्ने मननगर्दा मात्र पनि आधाजति सहकारीको समस्याहरु समाधान नै हुन्छ ।हामीले कुनै न कुनै अभियान वा कार्यक्रममार्फत सबै जिल्लाहरुबाट सहकारीका सिद्धान्त, मूल्य र मान्यताहरुलाई स्थापित गर्नेगरी कुनै न कुनै रुपमा नयाँ नयाँ बिषयहरुको उजागर गर्दै नयाँपन ल्याउने कोसिश अवस्य अभियानकर्ताहरुले गर्नै पर्छ ।
काभ्रेपलाञ्चोक जिल्लामा पनि सहकारीको अवस्थालाई हेर्दा आ.व. २०७४÷०७५ मा डिभिजन सहकारी कार्यालय मार्फत १३ वटा स्थानीय तहहरुलाई १४९५ वटा सहकारी संस्थाहरु हस्तान्तरण गरेको छ । हस्तान्तरण गरेका सहकारी संस्थाहरुलाई के कसरी कार्यहरु सम्पादन गर्ने भन्ने बिषयमा समेत स्थानीय सरकार मौन रहेको बुझिएको छ । सहकारी सम्वन्धि ज्ञान वा कर्मचारीको अभावका कारण सहकारीले स्थानीय तह हरुमा गति लिन नसकेको भन्ने बुझाइ पनि छ । जिल्लामा बचत तथा ऋण सहकारी संस्था ५३७, बहुउद्देश्यीय सहकारी संस्था १९३, कृषि सहकारी संस्था ३५४, दुग्ध उत्पादक सहकारी संस्था २७१, उपभोक्ता सहकारी २८, बिद्युत सहकारी १८, तरकारी तथा फलफुल सहकारी संस्था २०,कफि उत्पादक सहकारी संस्था १६, जडिबुटि सहकारी संस्था लि. ६, मौरि पालन सहकारी संस्था लि. ४, सञ्चार सहकारी १, स्वास्थ्य ३ र अन्यप्रकृतिका सहकारी संस्थाहरु ४५ गरी १४९५ वटा सहकारी संस्थाहरु रहेको विभागको तथ्यांकमा रहेको देखिन्छ । जसमा पुरुष सञ्चालक सदस्यको संख्या ५०४६ र महिलाको संख्या २१६९ गरी जम्मा७२१५ रहेको देखिन्छ । सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरुको संख्यामा हेर्ने हो भने महिलाको संख्यामा ६६९३० र पुरुषहरु ६५१०७ गरी जम्मा १३२०३७ रहेको देखिन्छ । भने कर्मचारीको अवस्थामा हेर्ने हो भने सहकारीको क्षेत्रले जिल्लामा ३८३ महिला तथा ३९१ गरी ७७४ जनालाई रोजगारी दिन सफलभएको बिभागको आ. ब. २०७३÷०७४ को तथ्यांकले देखाएकोछ । यसमा अझ राम्रो तथ्यांकमा जिल्ला सहकारी संघ लि ले यस आ.व. को अन्त्यसम्मको सहकारीको जिल्लाको तथ्यांक सम्पन्न गरि सकेको हुनाले केहि दिन भित्र यसको सार्वजनिकिकरण गर्ने तयारी गरेको छ ।

सहकारी सस्थाहरुको अन्तराष्ट्रिय अवस्था, राष्ट्रिय अवस्था तथा जिल्लाको तथ्थ्यांकको अवस्था हेर्दा सहकारी अभियानले छोटो समयमा नै ठूलै फड्को मार्न सफल भएको आभाष पाईन्छ । तर यस भित्रका गुणात्मक बृद्धि, विश्लेषण, समस्या तथा चूनौती अनि सहकारी आन्दोलनले अंगिकार गरेको मूल्य, मान्यता, दर्शन, सिद्धान्तहरुका आधारमा हामीले सहकारी संस्थाहरु सञ्चालन गर्न सक्यौं कि सकेनौ वा प्रयास सम्म पनि गर्न सक्यौं कि सकेनौं भन्ने बिषयमा पनि अभियानसँगै जोडेर छलफल गर्न अव ढिला पो भएको हो की ? भन्ने लागेको छ । सहकारी सस्थाहरुको गुणस्तरीयता मा आँच आउन नदिनका लागि यसका कार्य क्षेत्र, सुशासन, पारदर्शीता, जवाफदेहिता, कर्मचारीको क्षमताविकास, सञ्चालक समितिहरुको क्षमता विकास, राष्ट्रिय ऐन, निति, नियमावली र परिपत्रहरुको खोजि र अध्ययनगर्दै आआफ्नै स्थानीयतह र जिल्लाहरुबाट नै सहकारीको अभियान सुरु गर्ने हो भने हामीले साचेको गुणस्तरीय सहकारी संस्था स्थापित रुपमा अगाडि बढ्न सक्छ जसबाट हाम्रो नैतिक जिम्मेवारी, कर्तब्य अनि दायित्व समेत पुरा हुन सक्दछ । र हामी सहकारी अभियानमा संलग्न ब्यक्तिहरुको भूमिका पनि यहि नै हो भन्ने लाग्दछ । जय सहकारी

प्रतिक्रिया दिनुहोस्