बिपत्तिमा सहकारीको भूमिका र राज्यको समन्वय


दिलिप शर्मा
सचिव
जिल्ला सहकारी संघ लि. काभ्रे

 

नेपालभर कूल ३४,५१२ वटा विभिन्न प्रकृतिका सहकारी संस्थाहरु छन् । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक सहित २२ वटा केन्द्रिय सहकारी संघहरु सञ्चालनमा छन् । केन्द्रमा भूमिव्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय छ । ७ वटै स्थानीय तहहरुमा प्रदेशस्तरका मन्त्रालयहरु रहेका छन् । केन्द्रको अधिनमा रहने गरी सहकारी मन्त्रालय पनि छ । सबैको काम भनेको सहकारी क्षेत्रको प्रवद्र्धन, विकास र यसको संरक्षण गर्ने नै हो । देशभर रहेका सहकारी संस्थाहरुमा ६३०५५८१ जना महिला तथा पुरुष गरी शेयर सदस्यहरु समेत रहेका छन् । यसमा अझ महिलाहरुको सख्या झण्डै २ लाखले बढी देखिन्छ । यसमा ६०५१७ जना ब्यक्तिहरुले रोजगारी प्राप्त गरका छन् । जस मध्ये पनि २,४७,८२७ जना ब्यक्तिहरु सहकारी संस्थाका सञ्चालकहरु रहेको तथ्यांक २०७४ को असार मसान्तसम्मले ( सहकारी विभाग) ले स्पष्ट पार्दछ । मन्त्रालयको काम भनेको सहकारीका लागि आवश्यक पर्ने नीति निर्माण गर्ने नै हो किनभने यो निकाय भनेको सहकारी क्षेत्रको उच्च निकाय पनि हो । सहकारीलाई आवश्यक पर्ने नीति निर्माण गरी स्विकृतिका लागि सम्वन्धित निकायमा पेश गर्ने, सरकार र नीति निर्माणकर्ता (सरोकारवाला) बीचमा अन्र्तक्रिया गराउने, ऐन, नियमावलीहरुको कार्यान्वयन गर्ने गराउने जस्ता कार्यहरु पर्दछन् । यस्तै निति निर्माण नियमन, दर्ता खारेजी, अनुगमन गदै सहकारीमा सुशासन कायम गर्ने काम सहकारी विभागको रहेको हुन्छ । उद्देश्य अनुरुप सहकारी संस्थाहरु सञ्चालनमा रहेको नरहेको, र आवश्यक परेमा दण्ड र सजायको समेत अधिकार रहेको हुन्छ विभागमा । यस्तै कार्य सहकारी संघ÷संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि को पनि छ । सदस्य संस्थाहरुको हितका खातिर यसको प्रवद्र्धन, विकास र नेतृत्वदायि भूमिका निर्बाह गर्ने, सम्पर्क र समन्वय गर्ने, शिक्षा तालिम तथा सूचना प्रदान गर्नुका साथै राज्य र सहकारी बीचमा पूलको काम गर्ने नै हो । सहकारीका क्षेत्रमा काम गर्ने राष्ट्रिय सहकारी विकास बोर्ड पनि छ । यसले पनि केन्द्रमा रहेर सहकारी संघ÷संस्थाहरुको विकास र प्रवद्र्धनमा काम गर्ने गर्दछ ।
यत्रो संख्यामा रहेको सहकारी संस्था र यहाँ आबद्ध आम नेपालीहरुको तथ्यांकमा आधारित भएर हेर्ने हो भने ३ करोड नेपाली रहेको यस देशमा २० प्रतिशत भन्दा बढी हामी नेपालीहरु यस क्षेत्रमा आबद्ध छौं । देशमा बालवालिकाहरुको मात्र १ करोड भन्दा बढी देखिन्छ । बैदेशिक काममा जाने, जेष्ठ नागरिक छुट्याउने हो भने सहकारी संस्थामा आबद्ध अझ धेरै हामी नेपाली सहकारीको क्षेत्रमा बढ्ने संख्यामा बृद्धि हुनेछौं भन्ने नै हो । यसरी तथ्यांकलाई विश्लेषण गर्ने हो भने हामी ३४५१२ सहकारी संस्थामा आम नेपाली आबद्ध भएका छौं । यती ठूलो अनि बिशाल क्षेत्रलाई हामीले हाम्रो तर्फबाट समाज परिवर्तनको लागि लगाउन सकेको खण्डमा हाम्रो देश नेपाल सुन्दर शान्त अनि बिशाल बनाउन केहि बेर लाग्दैन । हरेक हिसावले सहकारी संस्थाले समुदायस्तरमा महत्वपूर्ण कामहरु गर्न सक्दछ । तर यहाँ सहकारीकै कुरा गरी रहँदा सहकारीको आवश्यकता र यसको क्षेत्रका बारेमा सहकारीकर्मीहरुका बारेमा छलफल तथा बहस चलाउनुपर्ने भएको छ । के सहकारी संस्थाहरु समुदायस्तरमा समुदायमा आधारित भएर सञ्चालन भईरहेका छन् त ? सहकारी संस्था भनेका आवश्यकताका आधारमा स्थापित तथा सञ्चालित हनुपर्दछ भन्ने मान्यताहरुलाई सबै सहकारी संस्थाले पालना गरेका छन् त ? भन्ने आम मानिसहरुको बुझाईलाई अभियानमा जोडिएका हामीले कसरी बुझ्ने ? राज्यका कुनै पनि स्तरका कामहरु सम्पन्न गर्नका लागि समुदायस्तरमा प्रत्यक्ष रुपमा जोडिएको एकमात्र क्षेत्र भनेको सहकारी नै हो । समुदायमा रहेका आम मानिसहरुका जीवनसँग सजिलै जोडिएको क्षेत्र भएका कारण पनि सहकारीले प्रत्यक्ष रुपमा सबैको मन जित्न सक्दछ ।
सहकारीको भूमिकालाई यति सजिलो रुपमा बुझ्न र लिन हुदैन यसको क्षेत्र फराकिलो रुपमा अगाडि बढाउनका लागि यसका नीति र सञ्चालनका लागि कार्यविधिहरु कतै अपुग भएको त होइन भन्ने आभाष बेलाबेलामा पाईन्छ । हाम्रा सहकारीका तहगत संरचना र निकायहरुले सहकारीलाई एउटै डालोमा ल्याउनका लागि अझै कसरत नपुगेको हो की भन्ने बिषय धेरै गम्भिर छ । समुदाय भित्र धेरै भन्दा धेरै घटनाहरु घटीरहेका हुन्छन यस्ता खालका समस्याहरु समाधान गर्नका लागि सहकारीले महत्वपूर्ण भूमिकाहरु निर्बाह गर्न सक्नुपर्दछ । यस सम्वन्धि अझ बढी शेयर सदस्यहरुसँगको बिषयहरुमा हामी कति गम्भिर भयौं ? हामीले के गर्न सक्यौं भन्ने कुरा पहिलो हुन जान्छ । २०७२ सालको महाभूकम्प जाँदा शेयर सदयहरुका समस्यालाई हामीले के नीति अवलम्बन गर्नसक्यौं ? रातौं रात पालमूनी बस्नुपर्दाको पिडाहरु हामीले किन बुझ्न सकेनौं हामी कहाँ चुक्यौं ? यस्ता पक्षहरुका बारेमा समेत हामीले एक अर्कामा आपसी समझदारिमा समन्वयमा काम गर्न खासै सकिरहेका छैनौं । समुदायमा हुने हरेक प्रकारका व्यवसाय विकास र प्रवद्र्धनमा, सामाजिक उत्तरदायित्वमा, आर्थिक सहजिकरण सहित आय आर्जन रोजगारी जस्ता बिषयमा काम गर्न सकिने हाम्रो सहकारी अभियानको दिशालाई हामीले किन खुम्चाएर राखका छौं भन्ने कुरा वा बिषयमा पैरवी गर्नुपर्ने समय आएको छ । समुदाय भित्रका आम समस्या र विकासका कामहरु जस्तै बाटोघाटो, पुल पुलेसा, बत्ति, पानि जस्ता बिषयहरु र आम नागरिकका सरोकारका बिषयहरुलाई समेत आशा लाग्ने तौरतरिकाबाट गर्न सकिने कामहरुमा हामी गम्भिर हुन किन सकेका छैनौं ? राष्ट्रिय रुपमा गरिने भिटामिन ए क्याप्सुल होस वा दादुरा रुवेलाका बिषयहरु हुन, अथवा समुदायमा हुने गरेका स्थानीयस्तरका बिभिन्न योजनाहरु हुन किन हामीले गर्न सकेका छैनौं ? भखैरै मात्र सुरु भएको महामारीको फैलिरहेका कोरोना भाइरसका बारेमा हाम्रो भूमिका के रहने ? के सामाजिक बिषयहरुमा हाम्रो जिम्मेवारी केहि छैन त ? भन्ने प्रश्नहरु उठ्ने गरेका छन् सहकारी अभियन्ताहरुका बीच ।
कुनैपनि बिषम परिस्थिती बाजा बजाएर आउँदैन । अप्ठ्यारोका समयमा शेयर सदस्यहरुको माझ छिटो र सरल तरिकाले आम सदस्यहरुमा सचेतनाका कार्यक्रमहरु लैजान सहकारी भन्दा अरु कुनै माध्यम बन्न सक्दैन राज्यको दायित्व आम नागरिकहरुलाई सुरक्षित राख्नु र स्वस्थ बनाउनु हो त्यसमा सहकारी संस्थाहरुले आ आफ्नो स्थानबाट थोरै मात्रामा भएपनि होस्टेमा हैसे गर्ने हो भने जस्तोसुकै कठिन परिस्थितीमा पनि सहकारीले उच्च कार्य सम्पादन गर्न सक्दछ भन्ने सन्देश दिनका लागि मात्र भएपनि हामीले हाम्रो भूमिकालाई परिवर्त गर्नु आवश्यक रहेको छ । हाल रहका ६३ लाख भन्दा बढी शेयर सदस्यहरु बोकेर हिडेको सहकारी अभियान आफ्ना सदस्यका लागि यो कठिन परिस्थितीमा के काम लाग्यो त ? भनेर प्रश्न कसैले गरिहाल्यो भने हामी माझ केहि उत्तर नै छैन कसले जवाफ दिने ? सामान्य रुपमा हामीले हाम्रा सदस्यहरुका बीचमा एउटा चेतनाका कार्यक्रमहरु समेत गर्न सकेनौं । के हाम्रो काम शेयर सदयहरुबाट पैसा उठाउन अनि पैसा लगानी गर्ने काम मात्र हो र ? यस बिषयमा सहकारी अभियानमा सहभागि हुनुहुने सम्पूर्णले ध्यान दिनु उचित हुनेछ । सहकारी अभियानमा लाग्ने विभिन्न तह र तप्काका ब्यक्तिहरु महासंघ, विभाग, विकास बोर्ड, केन्दिय संघ, तथा संस्था सञ्चालनको जिम्मेवारी प्राप्त गर्नुहुने लगभग ३ लाख सञ्चालक समिति तथा ६० हजार भन्दा बढी कर्मचारीहरु एकै स्थानबाट एउटै सन्देश लिएर यस्तो विपदको बेलामा एकै पटक विस्वलाई नै सन्देश दिने गरी समाज सेवामा निस्कन सक्यौं भने हाम्रो अभियान वास्तवमै विस्वमा उत्कृष्ट हुनेछ । खोई हाम्रो तदारुकता ? सहकारीले नै अप्ठयारो परिस्थितीमा काम गर्न सक्दछ भन्ने मूल्य र मान्यतालाई टिकाइ राख्न हामीले हाम्रो अभियान तिखार्नु पर्दछ ।
अभियानका बिषयमा जे जसरी हामीले छलफल चलाइरहँदा अभियानको मूख्य बागडोर सम्हालेर रहेको मन्त्रालय, बिभाग, महासंघ, बोर्ड तथा केन्द्रिय तहहरुमा पनि यो बिषम परिस्थिती आइपर्दा के कसरी कामहरु गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो कर्तब्लाई भूल्नुहुन्न भन्ने लाग्दछ । नीति निर्माण तहमा रहेका हामीले सहकारी संस्था तथा अभियानका लागि के कस्तो खालको नीति बनायौं ? यसलाई परिचालन गर्ने हाम्रो कार्यविधिहरु के कस्ता छन ? भन्न सोच्नु जरुरी देखिएको छ । राज्यबाट निर्देशित नितिमा चल्ने सहकारी संस्थाहरुले समाज प्रतिको दायित्व के कसरी निर्बाह गरिरहेका छन ? र अवका दिनहरुमा कसरी अगाडि बढ्ने भन्ने योजनाहरु गरेका छन भन्ने निक्र्योल गर्ने अधिकार राज्यको हो । हाल देखिरहेको कोरोना तथा यस्तै भविस्यमा हुने कठिन परिस्थितीमा सहकारी संस्थाहरुलाई परिचालन गर्ने र समुदाय वा शेयर सदस्यहरु प्रति जिम्मेवारी पूर्ण तरिकाले प्रस्तुत हुने तौर तरिका तथा कार्यविधिहरु निर्माण गर्नु उपयूक्त हुन्छ । २०७२ सालको महाभूकम्पको चपेटामा परेका र भोगका हाम्रा अभियानले हामीलाई धेरै कुराहरु सिकाएको हुनुपर्ने हो शेयर सदस्यहरु बारी र खेतमा खुल्ला आकाशमुनी रात बिताउँदा, परिवारलाई भाकै राख्दा, घरका सामानहरु पुरिएर निकाल्न नपाएर आंङमा एकसरो कपडा नहुँदा पनि सहकारी संस्थाले अर्बौ रुपैयाँको ब्यालेन्स सिट बनाउँदै गर्दा हामीले आफ्नो कर्तब्य पुरा गर्न सकेनौं । एउटा पाल, एक बोरा चामल, एक लिटर तेल अनि १ किलो दालसम्म पनि शेयर सदस्यहरुलाई बाँड्न नपाउँदाको पीडाहरु हामीमा छन् । तर हामीले उक्त कुरा बिर्सिएसकेका छौं । अहिले पनि यस्तै परिस्थिती आएको छ । नीतिगत रुपमा नै यस्तो जोखिम अवस्थामा कोषहरुलाई व्यवस्था गर्न सकिने नीतिगत व्यवस्था हामीले गर्न सकेका छैनौ । बिपद पर्दा सम्झने अनि अलि हलुका महशुस हुन्छ फेरी बिर्सने क्रम निरन्तर छ । हालको यस समयमा पनि स्वास्थ्य सहकारी, उपभोक्ता सहकारी, दुग्ध सहकारी, तरकारी उत्पादक सहकारी, कृषि सहकारी, बचत तथा ऋण सहकारीहरुले आ आफ्नो तहबाट जे जती जसरी सकिन्छ त्यसरी कार्यहरु अगाडि बढाउन केन्द्र देखि नै समन्वय र परिचालनका नीतिहरु निर्माण गरेर अगाडि बढेमा जस्तोसुकै परिस्थितीमा पनि सहकारी संस्थाहरु समुदायस्तरमा खम्बा भएर आम मानिसहरुको ढुकढुकी भएर स्थापित हुने कुरामा दुईमत छैन । र आम मानिसहरुमा समेत अप्ठ्यारो पस्थितीमा सहकारी संस्थाहरुले सजिलै समुदायमा गएर कार्यहरु अगाडि बढाउँदछ भन्ने सन्देश विस्वमा छर्न सकिन्छ । जय सहकारी

प्रतिक्रिया दिनुहोस्