नेकपाको नेतृत्वलाई खुल्ला पत्र


–पूर्णचन्द्र सिग्देल
      प्रिय नेतागण न्यानो अनि संग्रामी अभिवादन,
तर्पांहरुलाई हाम्रो सन्चो बिसन्चोको मतलव नभए पनि यहाँहरुको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दछु ।
सर्वप्रथम त यो पत्र पढेर अचम्म नमान्नु हुन अनुरोध गर्दछु । यहाँहरुलाई यसरी पत्र लेखिरहनु मेरो रहर होईन, तपाईंहरुकै गतिविधिको वाध्यता हो । त्यसैले तपाईंहरु प्रति माया र सद्भाव राख्दै केही सुझाव तथा गुनासो राख्ने जमर्को गरेको छु । शव्द संयोजनको क्रममा केही तलमाथि भए अन्यथा नलिई पढिदिनु हुन पनि अनुरोध गर्दछु ।
अब लागौं विषयतिर । तपाईंहरु जो नेताहरु (शिर्ष र वरिष्ठ हुनुहुन्छ) आफैंले तत्कालीन नेकपा एमाले र नेकपा माओवादीलाई मिसाएर नयाँ नेकपा (नेकपा) बनाउँनु भयो, त्यो तपाईहरुकै सहमतिमा सिमित थियो । दुई दलका अध्यक्ष बसेर दुबै दलका केन्द्रीय समितिलाई समेत जानकारी तथा अनुमति नलिई दल एकिकरण गर्ने घोषणा गर्नुभयो । माथीको आदेश मानेर तलका कार्यकर्ता तिता मिठा अनुभवलाई दबाएर (विर्सिएर) हाम्रा महान नेताहरुले गरेको निर्णयको सहर्ष स्विकार ग¥यौं । तपाईंहरुले जे जे मा सहमति गर्नुभयो र तल पठाउनु भयो त्यो त्यो पनि ईमान्दारीता पूर्वक पुरा ग¥यौं । हामीले यी जिम्मेवारी पुरा गर्दै गर्दा तपाईंहरुले पाउनु भएको सांगठानिक तथा विभागीय जिम्मेवारी चै कति पुरा गर्नु भयो र अब के गर्न बाँकी छ भनेर काहीँ कतै कुनै प्रतिवेदन बुझाउनु भएको छ ? तपाईंहरु महत्वपूर्ण पद र भूमिकामा रहँदा तलका लाखौं कार्यकर्तालाई के के भूमिका दिनुभयो ? सुन्दै छु, तपाईंहरु भएको पदले नपुगेर थप पदलोलुप्तता देखाउँदै जनता र कार्यकर्ताले बनाएको पार्टिलाई खण्डित गर्ने नाटक मञ्चन हुदैछ रे । अहिल्यै र यति छिट्टै मिलेर बस्न नसक्नेले उतिखेर किन मिलेको ? एक मतदाताले यो प्रश्न गर्दा कार्यकर्ताले के जवाफ दिने आफ्ना मतदातालाई ? तपाईं एकाध नेताको जुंगाको लडाईंको कारण पार्टि र तमाम कार्यकर्तालाई बन्धक बनान मिल्छ ?
हो यतिखेर नेकपाभित्र तपाईंहरुकै कारणले राजनैतीक संकट गहिरिएको छ । अहिले तपाईंहरु विगतको सहमतिलाई पालना गर्दै तत् तत् जिम्मेवारीमै रहि महाधिवेशन शिघ्र गर्ने तयारी थाल्दै सरकार र पार्टि चलाउनुहोस । आफुलाई पार्टिभित्र अब्बल बनाउँदै आफ्नै गरिमा बढाउनुहोस । ताकी अब हुने महाधिवेशनले तपाईंको विकल्प नदेखोस । तपार्इंहरुले जिम्मेवारीलाई पुरा गर्नुको सट्टा थप पद प्राप्त गर्नकै लागि मर्यादा नै विर्सिएर अन्यत्र संग भेटघाट गर्दैमा त्यो सम्भव पनि नहोला । सरकार सञ्चालन र दल सञ्चालन तपाईंहरुले नै गरेकोले राम्रोको जस र नराम्रोको अपजस तपाईंहरुमै जान्छ । त्यसैले पदसंगै जवाफदेहिता महत्वपुर्ण हुन्छ । अहिले तपाईंहरु विगतको सहमतिलाई पालना गर्दै यथास्थानकै जिम्मेवारीमै रहि कुशलता पूर्वक काम गर्नुहोस । कम्युनिष्ट पार्टिका कार्यकर्ताको परिचयको गहनानै जिम्मेवारी प्रतिको जवाफदेहिता हो । त्यसैले अझै पनि विग्रिसकेको छैन, संगठनलाई प्रधान मान्ने र व्यक्तिलाई पात्र संझेर अगाडी बढ्नु जरुरी छ । तपाईंहरु कार्यकर्ताले चुनेको नेता बन्नु हुन्छ की आफुले आफैंलाई फूलमाला पहि¥याएर नेता घोषणा गर्नु हुन्छ ? त्यो मूख्य विषय हो । विदेशीको हस्तक्षेप बढिरहेको छ, विदेश विभागको भूमिका के रह्यो ? संगठनहरु छताछुल्ल र निष्क्रृय छन् यिनको बारेमा के के भयो ? कोरोनाले मुलुक अक्रान्त छ नयाँ स्वास्थ्य योजना के छ ? लाखौं युवा बेरोजगार भएर स्वदेश फर्किरहेका छन् तिनलाई व्यवस्थापन गर्ने योजना के छ ? अर्थतन्त्र धारासायी भैरहेको छ उकास्ने योजना के छ ? कृषि प्रधान देशमा आत्मनिर्भर बनाउँने योजना के छ ? शान्ति सुरक्षा र ढिलासुस्ति एवं भ्रष्टाचार नियन्त्रण गर्ने योजना के के छन् ? बारम्बार अनावश्यक भ्रष्टाचारको हल्ला बजारमा किन चलिरहन्छ ?
यतिखेर नेपालका राजनीतिक दलहरु आन्तरिक किचलोमै रुमल्लिई रहेका छन् । यस अगाडी भएका विभिन्न आन्दोलनहरुले नागरिकको राजनैतिक, साँस्कृतिक, सामाजिक, धार्मिक तथा सबैखाले अधिकार प्राप्त भैसकेको छ । अब एकपटक सबै राजनैतीक दल मिलेर मुलुककलाई सम्बृद्घ बनाउँनु पर्ने बेला आईसकेको छ । विश्वको केही देशको तथ्यांक हेर्ने हो भने हामी भन्दा निक्कै पछि रहेका मुलुकले ठुलै फड्को मारेर अगाडी बढीसके, हामी सापेक्षित विकाशमा बाहेक अगाडी बढ्न सकेनौं । अब देशको सम्पूर्ण शक्ति एकै ठाँउमा उभिएर ‘सम्बृद्घ नेपाल, सुखी नेपाली’ बनाउँने अभियानमा लागेनौ भने मुलुक अन्धकारमा त जान्छ नै भावी पुस्ताको भविष्य पनि तहसनहस हुने अवस्था नआउला भन्न सकिन्न ।
विगत सरकारहरुको तुलनामा वर्तमान प्रधानमन्त्री के. पी ओली सरकारले संघीयताको स्थायित्व, दलहरुबिचको राजनैतिक संकटको व्यवस्थापन, कानूनहरुको निर्माण, संविधान मान्दैनौं भन्दै हिडेका मधेशवादी दललाई सरकारमै पु¥याउनु लगाएतका केही महत्वपूर्ण काम प्रधानमन्त्री के. पी. ओलीले गरेरै देखाई दिए । त्यती मात्र होईन भारतले वर्षाैं वर्ष देखि मिचेको नेपालको भूमि समेटिएको नक्शा सार्वजानिक गर्नु, धेरै वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउँनुले पनि प्रधानमन्त्री ओलीले चाहे भने देशका निम्ती केही गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गरिसकेका छन् । यतिखेर विपक्षी दलहरुले समेत सरकारको कामलाई ईतिहासकै राम्रा काम भनरे मुक्त कण्ठले प्रसंसा गरिरहेका बेलामा आफ्नै दलबाट अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा माग्नु अचम्मको कुरा छ । यसमा भारत पनि प्रधानमन्त्रीलाई हटाउने योजनामा छ भन्ने कुरा त त्यहाँबाट प्रसारण भएका समाचारहरुले पनि छर्लंग पारेका छन् । भारतले जे गर्न खाज्दैछ, त्यसैलाई सहयोग पुग्ने गरी आफ्नै दलका शिर्ष नेताले प्रधानमन्त्रीलाई अफ्ठेरोमा पार्न खोज्नु नेपालको राजनीतिमा अनौठो र गंभिर विषय बनेको छ ।
नेकपाको वरिष्ठताको तहमा रहेका केही नेताहरु यो सरकार ढाल्न सके आफ्नो स्वार्थ पुरा हुने गरी चलखेलमा जुटेको जस्तो देखिए पनि हजारौं कार्यकर्ताको वलिदानीबाट निर्माण भएको नेकपाको माया नेतालाई भन्दा कार्यकर्तालाई बढी छ । विगतमा आ आफ्नो स्वार्थ अनुसार फुट्दै र जुट्दै आएका नेताहरु फेरी पनि नफुट्लान भन्न त नसकिएला तर पार्टी फुटाउन विगतको जस्तो सजिलो भने छैन । नेकपा बन्नु अघि दुई दल बिचमा भएको सहमतिलाई कार्यान्वयन गर्ने र महाधिवेशन पूर्व गर्नु पर्ने काम तत्काल शुरु गरी महाधिवेशनबाट सबै कुराको टुंगो लगाउँनु नै अहिलेको संकटको समाधानको मूख्य सुत्र हो ।
अहिले नेकपा भित्रको असहमति वा केही किचलो सांगठानिक जिम्मेवारी प्रतिको गैरजिम्मेवारीपन मूख्य कारक हो । पार्टीको संगठन केन्द्रदेखि वडासम्म व्यवस्थित ढंगबाट हुन नसक्दा सबै खाले जनप्रतिनिधिहरु अनिनियन्त्रीत एवं स्वेच्छाचारी भएका छन् । अहिलेका जनप्रतिनिधिमा पार्टिको टिकटले चुनाव जित्ने अनि यो त पार्टिको जित होईन मैले जितेको हो भन्ने अहंकारले गाँजेको छ । यो समस्याले भोली संगठनलाई ठूलो असर पार्ने छ । त्यसकारण पनि सिघ्र पार्टि संगठनको कामलाई चुस्त दुरुस्त बनाई सबै प्रकारका जनप्रतिधिलाई संगठनको दायरामा ल्याई पार्टि प्रति जिम्मेवार बनाउँनु जरुरी छ । अहिलेको नेकपा (नेकपा) बन्नको लागि लाखौ कार्यकर्ताको योगदान मात्र होईन धेरैले जीवन बलिदान दिएका छन् । सहारा विहिन, घाईते, अपांग, गरिबी र निमुखाको मुहारमा खुशी ल्याउँन र शहिदको सपना पूरा गर्न छाडेर जनताले दिएको बहुमतको सरकारको राजीनामा हैन पाएको जिम्मेवारीलाई काँध थाप्ने र आई परेको समस्यालाई सामना गर्नु पर्ने चुनौती छ, यसैमा विवेक पुगोस । नत्र आफुले खनेको खाल्डोमा आफैं नपरिएला भन्न सकिदैंन । हवस त अहिलेलाई यति मात्र, बाँकी आवस्यक प¥यो भने मात्र अर्कै अंकमा लेख्यौंला । धन्यवाद ।।    उहि तपाईंहरुकै शुभ चिन्तक ।

प्रतिक्रिया दिनुहोस्