जिल्लामा आधा भन्दाबढी सकियो रोपाई


 

बनेपा, गत वर्षहरुको तुलनामा यस वर्ष मनसुन चाँडो सुरु भएका कारण धान रोपाइँ चाँडो सुरु भएर चाडै सकिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार ४३ प्रतिशत रोपाइँ सकिएको छ ।
रोपाइँको तथ्यांक हेर्दा गतवर्षको सोही अवधिको तुलनामा ८ दशमलव ४१ प्रतिशत बढी रोपाइँ भएको देखिन्छ ।
काभ्रेमा हिजोसम्ममा ६० प्रतिशत धान रोपाई भएको छ । मुलुकभर अहिलेसम्म ४३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मुलुकभर १५ लाख ५२ हजार हेक्टर भूभागमा धान रोपाइँं हुँदै आएको छ । आकासे पानीको भर पर्नु पर्ने कतिपय स्थानमा भने पर्याप्त बर्षा नहुनु तथा सिंचाई सुविधाको समेत अभावमा अझै ५५ प्रतिशत भन्दा बढी खेतीयोग्य क्षेत्रमा धान रोपाइँ बाँकी छ । जिल्लामा विशेष गरी रोशी क्षेत्र, नालाभेग, पाँचखाल, मण्डनदेउपुर क्षेत्र, बनेपा, पनौती, धुलिखेल क्षेत्रमा धान खेति हुने गरेको छ । एकातिर चैतमा रोपेको धान साउनसम्म भित्राउने र त्यही ठाउँमा फेरि धान रोप्ने चलन जिल्लाका केही भागमा छ । जहाँ सिचाईको सुविधा भएको छ । काभ्रे जिल्लामा कुल ११ हजार ३५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको बताएपनि पछिल्लो समयमा जिल्लाको धान खेतीयोग्य जमिनहरुमा बढ्दो सहरीरकणका कारण अब्यवस्थित बस्ति विस्तार, प्लटिङ, उद्योगधन्दा कलकारखानाहरु सञ्चालनमा ल्याउनु र विशेषगरी खेती गर्ने जनशक्ति विदेशीने गरेका कारण धान खेती र उत्पादनमा कमि हुँदै आएको किसानहरु को भनाई छ । यो बर्ष भने कोरोना भाईरसका कारण भएको लकडाउनले धेरै मान्छेहरु गाउँ बसेकाले खेति बढी भएको पाईन्छ ।
काभ्रे जिल्लाको कुल क्षेत्रफलको १ लाख ४० हजार ४ सय ८६ हेक्टर क्षेत्रफलमध्ये ६१ हजार ५ सय ९४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ । जिल्लामा मकवानपुर–१, खुमल–४, खुमल–१०, खुमल –११, खुमल –१३, सावित्री, टाईचिन, मन्सुलीलगायतका प्रजातिका धान लगाइने गरिन्छ ।

त्यसैगरी राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो महत्व पनि राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसैअनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ । देशमा कुल धानखेतीको करिब २५ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुनमै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने संभावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको हो ।

रोपाईं कार्य मुलुकको सामाजिक, धामिर्क र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यस्ले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पु¥याउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । नेपालमा समुद्री सतह भन्दा ७० मीटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, वासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङग, विन्देश्वरी, खुमल, मन्सुली, राधा चार आदि विकासे जातका धान लगाइन थालेको छ ।   -नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्