काभ्रेपलान्चोक – गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ गीत हरेक उमेर समूहको जनजीब्रोमा झुन्डिएको थियो। यस वर्षको तीज नजिकिँदै गर्दा दुर्गेशले ब‍ीच्च बीच्चमा २ सार्वजनिक गरेका छन्।

‘एउटा फोटो खिच्’ बोलको उक्त गीत दुर्गेशको आधिकारिक युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको हो।गीतमा कोरोना भाइरस महामारी र लकडाउनले जन-जीवनमा पारेको असरलाई समेटिएको छ। लकडाउनका कारण व्यवसायिक क्षेत्रमा पारेको असर, आर्थिक समस्या र यसले निम्त्याएको समस्याका कारण यस पटकको तीज ‘खेल जस्तै’ हुने संकेत गरेका छन्।

जनता लकडाउनकै कारण भोकमरी खपिरहे पनि सरकारको तर्फबाट निकै सुस्त काम भएको भन्ने भाव गीतले दिएको छ। गीतमा दुर्गेशको आफ्नै स्वर र संगीत छ। शब्दमा भने उनलाई राम खत्री र राजन कार्कीले सघाएका छन्।

गीतको निर्देशन शिव विकले गरेका छन् भने अर्जुन तिवारी र टोलीको छायांकन छ। भिडियोमा दुर्गेशसहित दिपासा विसी, जीवन सहानी क्षेत्री, जिवी चिरन, सरिता केसी, शिल्पी खड्का, अस्मिता जुरेली लगायतका कलाकार छन्।