सोमबार देखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द


 

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ ।

मर्मतको अवधि अर्थात ९१अप्रिल २०१९ देखि जुन ३०० सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ ।

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महीना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
मर्मतका लागि सम्बन्धित ठेकेदार कम्पनीले आवश्यक जनशक्ति र उपकरणका साथ पूर्व सम्भावित जोखिम व्यवस्थापनको तयारीसमेत गरेको छ ।

पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनका साथमा राति धावनमार्ग बनाइनेछ ।

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कँदा पटकपटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना बनाएको हो ।

देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको क्यानले जनाएको छ ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले दैनिक १० घण्टा विमानस्थल बन्द गरेर पहिलो चरणमा धावनमार्गको मर्मत गरिने बताए । धावनमार्गको काम सकेपछि बाँकी अरु आठ महिनाभित्र ट्याक्सी पार्किङलगायतका काम सक्ने योजना छ ।

धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बर महिनामा क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो ।

चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड लागतमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको थियो । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन ।

धावनमार्ग सकेपछि ‘पार्किङ वे’ को काम सुरू गरिनेछ। निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ ।

सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन सुरू भएको थियो । त्यसपछि २४ सै घण्टा द्रुत उद्धार टोली बनाएर सतर्क अवस्थामा राखियो । धावनमार्गमा केही समस्या आएमा छोटो समयमै मर्मत गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्