काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ३ साझाकोटस्थित श्री भमसेन प्राथमिक विद्यालयमा नवनिर्मित ३ कोठे पक्की भवनको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त भवन निर्माणका लागि आवश्यक जग्गा रोशी–३ का टंकबहादुर राउत र दमाई सिं तामाङले दान गर्नुभएको थियो। त्यस्तै भवन निर्माणका लागि फ्रान्सका  Ochsеhausen Gymnasium High School जर्मनीका प्रिन्सिपल Ms. Elke Ray मार्फत Himalayan Project e.V. Biberachको ३१,७७,३०१ ९एकतीस लाख सतहत्तर हजार तीन सय एक० रुपैयाँ आर्थिक सहयोग तथा ल्यापटप सहयोग प्राप्त भएको जानकारी दिइएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थकाजी लामा सभापतिको रूपमा रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा रोशी गाउँपालिकाका प्रमुख दिनेश लामा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा मिमबहादुर लामा तथा जर्मनीका प्रतिनिधि माइकल हुसेल रहनुभएको थियो।
त्यसैगरी अतिथिहरूमा वडा नं. ५ का वडाध्यक्ष निरध्वज लामा, हिमाली गाउँ संरक्षण नेपालका अध्यक्ष कान्छी लामा, वडा नं। ३ का वडाध्यक्ष धनजित लामा लगायत जनप्रतिनिधि, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन कल्पना पौडेलले गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक मनिका राउतले स्वागत मन्तव्य व्यक्त गर्दै भवन निर्माणका लागि जग्गा दान तथा आर्थिक सहयोग प्रदान गर्ने सबै दाताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले नयाँ भवन तथा ल्यापटप सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख अतिथि दिनेश लामाले शिक्षा क्षेत्रको विकासलाई गाउँपालिकाले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नवनिर्मित भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री वातावरणमा अध्ययन–अध्यापन गर्ने अवसर थप सुदृढ भएको विश्वास लिइएको छ।