नेपाल डेरी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशन तथा २७ औं वार्षिक साधारण सभा यस पटक काभ्रेपलाञ्चोक जिल्लाको शंखुस्थित रैथाने रिर्सोटमा माघ ६ र ७ गते सम्पन्न हुने भएको छ ।
महाधिवेशनमा सातै प्रदेशका साथै २७ जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहनेछ । केन्द्रीय महासचिव हेमचन्द्र खनालका अनुसार देशभरिबाट करिब २०० जना प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रलाद दाहालको गृह जिल्ला पनि काभ्रे नै भएकाले यस अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ । नेपाल डेरी एसोसिएसनले आफ्नो वार्षिक साधारण सभा, केन्द्रीय महाधिवेशन तथा सञ्चालक समितिको बैठक पालैपालो विभिन्न प्रदेश र जिल्लामा आयोजना गर्दै आएको छ । यसैक्रममा यसपटकको साधारण सभा, महाधिवेशन तथा स्थापना दिवस काभ्रेको शंखुस्थित रैथाने भिल्लामा आयोजना हुन लागेको हो ।
एसोसिएसनका उपमहासचिव विजय चौरासियाका अनुसार माघ ६ गते देशभरिका प्रतिनिधिहरू काभ्रे पुगेर महाधिवेशनका कार्यक्रमहरूमा सहभागी हुनेछन । यस महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुने एसोसिएसनका सचिव शिवहरी आचार्यले जानकारी दिए । त्यसैगरी, उपाध्यक्ष दिप प्रसाद धमलाका अनुसार सातै प्रदेशको समावेशी प्रतिनिधित्व हुने गरी एक सशक्त केन्द्रीय समिति गठन हुने लक्ष्य लिइएको छ । एसोसिएसनको स्थापना काल २०५५ सालदेखि नै आफ्ना साधारण सभा तथा अधिवेशनहरू भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्दै आएको उपाध्यक्ष मनोजकुमार घिमिरेले बताए । महाधिवेशनले दुग्ध क्षेत्रको विकास, संस्थागत सुदृढीकरण तथा भावी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।