काठमाडौँ महानगर तथा आसपासका सामुदायिक विद्यालयमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित बालबालिका वास्ता नेपाल, युनाइटेड इन्टरनेशनल पिस युनिपुन नेपाल च्याप्टर, रोटरी क्लब अफ कपन तथा युनाइटेड नेचर इन्टरनेशनल पिस युनिपुन नेपाल च्याप्टरको संयुक्त आयोजनामा नागार्जुन–५, स्वयम्भूस्थित युवा सहभागिता माध्यमिक विद्यालयका १३ विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिएको छ ।
कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठान र स्वयम्भू सर्जिकल आइ सेन्टरले प्राविधिक सहयोग प्रदान गरेका थिए । विद्यालयमा केही दिनअघि सञ्चालन गरिएको निशुल्क आँखा परीक्षणमा विद्यार्थीहरूको आँखामा देखिएका समस्या अध्ययन–विश्लेषण गरिएको थियो । चिकित्सकीय सिफारिसअनुसार दृष्टि समस्या देखिएका १३ जनालाई नियमित अध्ययनमा असर नपरोस् भन्ने हेतुले चस्मा उपलब्ध गराइएको आयोजक संस्थाले जानकारी दियो ।
चस्मा वितरण कार्यक्रम बालबालिका वास्ता नेपालका अध्यक्ष मुकुन्द खनालको अध्यक्षतामा सम्पन्न भयो । सो अवसरमा युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरका महासचिव तथा रोटरी क्लब अफ कपनका सचिव दीपक चन्द्र गौतम, युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरका सचिव हरि शरण मानन्धर तथा युनिपुन र रोटरी क्लब अफ कपनका सदस्य विष्णु प्रसाद अधिकारीको उपस्थिति थियो । आयोजक संस्थाहरूले काठमाडौँ जिल्लाभित्रका ६ वटा नगरपालिकामा सामुदायिक तथा निजी विद्यालय, स्थानीय संघ–संस्था र समुदायसँगको सहकार्यमा पछिल्ला केही महिनादेखि नियमित स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएका छन । यी शिविरहरूमा आँखा परीक्षण, दन्त परीक्षण, मुटु स्वास्थ्य परीक्षण तथा सामान्य जनस्वास्थ्य परामर्शलगायतका सेवा प्रदान हुँदै आएको बताइएको छ ।