बनेपा, महिलाको आर्थिक सशक्तीकरण र सहकारी आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने संकल्पका साथ स्थापित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि पनौती–५, काभ्रेको २७औं वार्षिक साधारण सभा शनिबार बनेपामा भव्य रूपमा सम्पन्न भएको छ ।
संस्थाकी जेष्ठ सदस्य कान्छी राईको प्रमुख आतिथ्यता तथा अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा संस्थापक अध्यक्ष तिर्थमाया प्रधान, उपाध्यक्ष कविता कार्की, सचिव सकुन्तला श्रेष्ठ, कोषाध्यक्ष कल्याणी चन्द ठकुरी, लेखा सुपरिवेक्षण समिति संयोजक सोविता थापा मगर, पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले सहकारीले समुदायमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
सहकारीले साधारण सभाको अवसरमा ६५ वर्ष उमेर पुगेका २५ जना जेष्ठ सदस्यलाई दोसल्ला, सम्मानपत्र, हर्लेक्स र विस्कुट सहित सम्मान गरेको छ । त्यस्तै बाल बचत सदस्यहरु एसईई उर्तिण ३९ जनालाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट शेयर सदस्य नियमित बचतकर्ता, बाल बचतकर्ता र संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी मेनेन्जर्स क्लवमा कोषाध्यक्ष निर्वाचित भएकोमा बधाई सहित सम्मान गरेको थियो । संस्थाको सेवा केन्द्र बनेपा ७ गोदामचोक र धुलिखेल ६ हस्पिटलचोकमा रहेको छ । केन्द्रिय कार्यालय पनौती ५ चौकोट रहेको छ ।
सहकारी क्षेत्रमा पछिल्लो समय सदस्य घट्ने क्रम देखिँदै आएको बेला, लक्ष्मी महिला साकोसमा भने सदस्य निरन्तर वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्षमा ४,३७८ सदस्य रहेको सहकारीमा हाल ४,७९६ सदस्य पुगेका छन । संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीका अनुसार, सदस्य वृद्धि सँगसँगै सहकारीले सहकारी शिक्षादेखि व्यवसायिक तालिमसम्मका विविध कार्यक्रम सञ्चालन गर्दै सदस्यलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउँदै आएको छ ।
साधारण सभाले आगामी आर्थिक वर्षका लागि ४२ वटा कार्यक्रम पारित गरेको छ । कार्ययोजनामा कृषि तथा पशुपालन तालिम, व्यवसायिक योजना निर्माण, अन्तर्राष्ट्रिय स्तरको गोष्ठी र तालिम, महिला सदस्यका लागि सचेतनामूलक अभियान जस्ता नयाँ पहल समावेश छन । त्यस्तै, पेशा र उमेरका आधारमा सदस्य समूह वर्गीकरण गरी शिक्षा तथा उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पारित गरिएको अध्यक्ष हिमाली श्रेष्ठले बताइन ।
आर्थिक वर्षको अन्त्यसम्म संस्थाको शेयर पुँजी ३ करोड १४ लाख ८४ हजार २ सय, बचत २६ करोड ८६ लाख ५४ हजार ४ सय १७, र ऋण लगानी २० करोड ९६ लाख १६ हजार ५ सय ४६ रुपैंया पुगेको छ । संस्थाको स्थिर पुँजी ४४ लाख ९२ हजार ९ सय ४ र कुल आम्दानी ३ लाख ७९ हजार ६ सय ९५ रुपैंया रहेको छ ।
संस्थाले ५४ जना सदस्यलाई प्रसूति राहत, १४ जना सदस्यलाई मृत्यु राहत र ८ जना बिरामी सदस्यलाई पाँच–पाँच हजार रुपैंया सहयोग गरेको छ । त्यस्तै, १४ जना नवविवाहित सदस्यलाई भेटघाट कार्यक्रममार्फत ७२५ रुपैंया प्रदान गरिएको थियो ।







