बनेपा, बिशेष खुशीयालीका साथ मनाईने पर्व बडा दशैं शुरु भएको छ गत सोमबार घटस्थापना गरेदेखि शुरु भएको दशैंको आज फुलपाती देखि विषेश दिन शुरु भएको हो । रामचन्द्रले रावणलाई हराएर लंका जितेको तथा दुर्गा भगवतीले महिसाशूर दानवलाई मारेर सम्पूर्ण देवीदेवताको उद्धार गरेको सम्झनामा हिन्दू परम्परा अनुसार असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने चलन रहेको छ ।
नेपालीहरुको बिशेष चाडको रुपमा मानिने दशै नेपालीहरुको र विषेश गरी हिन्हुहरुको प्रमुख चाडको रूपमा मानिन्छ । आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशतीमा चण्डी पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजया दशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्ड मुण्ड तथा शुम्भ निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको पाईन्छ ।
अश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिन देखी नवरात्री आरम्भ हुन्छ । यस दिन घट कलशको स्थापना गरी देवी देबताहरुलाई स्वागत गरिन्छ । यसै दिन चोखो पञ्चमाटो वा बालुवा ल्याई दशै घर अथवा पुजा कोठामा राखी जमरा उमार्न जौ अथवा अन्न छरिन्छ । विजया दशमी मध्यका चार दिनलाई बिशेष दिन को रुपमा लिने गरिन्छ । विजया दशमीको सातौ दिन महासप्तमी फुलपाती भनिन्छ । यसदिन बेलपत्र, धानकोगाभा, अनार, अदुवाको बोट, उखु, केरा आदी गरेर नौ प्रकार का पल्लबहरुलाई दशै घरमा भित्र्याइने गरिन्छ । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई परेड र बढाइँ साथ हनुमानढोका दरबारमा भित्र्र्याइने गरिन्छ । नवरात्री को आठौ दिन महाकाली भद्रकालीको बिशेष पुजा गरिन्छ । पुजा पश्चात यि देबीलाई बोका, राँगो, कुखुरा, हाँस, आदी बली दीइन्छ । गाउघरमा मानिसहरु आ आफ्ना कुल देवी देबता र स्थानीयदेवी देबताहरुलाई पनी पुजा बली दिने गर्दछन ।
नवरात्रको नवौ दिन शिद्धीदात्री देवी को पुजा गरिन्छ । यसै दिन बिभिन्न हात हतियार, कलपुर्जा, सवारी साधनहरु आदिलाई पनी बली दीइ विश्वकर्माको पुजा गरिन्छ । नवरात्रमा बिशेष गरी पुजा आजा सहित बलि दिने चलन छ । बलिको अर्थ हो त्याग बलिदिनु अर्थात त्यागी दिनु भन्ने हुन्छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो ।
विजया दशमीका दिन ः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
र महिलालाई टिका लगाइदिंदा जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।
को आर्शिवचन लिएर मान्यजनवाट टीका थाप्न जाने कार्य शुरु हुन्छ र यो क्रम पूर्णिमाको दिनसम्म निरन्तर रहन्छ । दशैको समापन कोजाग्रत पूर्णिमाका दिन हुने चलन छ ।
टीकाको उत्तम साइत बिहान ११ः५३ मा
यस वर्ष विजया दशमीका दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असोज १६ गते पर्ने दशमीका दिन सो समयमा पूर्व मोहडा फर्किएर टीका लगाउने परम्परा अनुसार साइत निर्धारण गरिएको हो ।
समितिका अनुसार यस वर्षको दशैँ असोज ६ गते घटस्थापनासँगै सुरु भएको थियो । घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १३ मिनेटमा रहनेछ । असोज ७ गते बिहान ९ बजेर ५३ मिनेटमा घरघरमा जमरा रोपिएको ठाउँमा झण्डा फेर्ने चलन रहेको छ । यस वर्षको दशैँमा असोज ११ गते श्रीपचली भैरव यात्रा, असोज १३ गते फूलपाती, असोज १४ गते महाष्टमी, असोज १५ गते महानवमी र असोज १६ गते विजया दशमी पर्छ । त्यस्तै असोज २० गते कोजाग्रत पूर्णिमा मनाइने छ ।







