बनेपा, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटमा लिपुलेकको मुद्दा उठाएपछि सञ्चारमाध्यममा व्यापक चर्चा भएको छ । विशेषगरी भारतीय भारतीय मिडियामा त खैलाबैला नै भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार चीनको तियानजिनमा भएको द्विपक्षीय भेटमा लिपुलेकको मुद्दा उठाएका थिए । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ को सन्दर्भमा भएको भेटमा ओलीले लिपुलकको विषयलाई उठाएका हुन् । सो पछि भारतीय मिडियाले ओलीको कदमलाई नेपालको राष्ट्रवादी अडानका रूपमा चित्रण गरेका छन् । साथै चीनले लिपुलेकबारे कुनै प्रतिक्रिया नजनाएपछि भारतीय सञ्चारमाध्यमले चीन विवादमा पर्न नचाहेको विश्लेषण गरेका छन ।
भारतीय सञ्चारमाध्यमले यो मुद्दालाई नेपालको दाबी, चीनको मौनता र द्विपक्षीय सम्बन्धका पक्षहरूमा केन्द्रित रहेर सामग्री प्रकाशन गरेका छन् । समग्रमा, भारतीय सञ्चारमाध्यमले यो भेटलाई नेपालको कडा अडानका रूपमा चित्रण गरेका छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच शनिबार तियानजिनमा द्विपक्षीय भेटवार्ता भएपछि प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा सीसँगको उक्त भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको रहेको स्पष्ट पारेको उल्लेख छ । परराष्ट्र सचिव अमृत राईलाई उद्धृत गरिएको प्रेस नोटमा यस मामिलामा चीनले सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ–भनिएको छ ।
राष्ट्रपति सीले नेपालको दाबीमा चीनले कुनै दक्खल नदिने बताएको राईले उल्लेख गरेका छन् । परम्परागत रूपमा त्यो नाका प्रयोग भएको हो भन्दै राष्ट्रपति सीले नेपाल–भारत बीचको सीमा विवादमा चीन कुनै पक्ष बन्न नचाहेको जनाएको नोटमा उल्लेख छ । सीको प्रतिउत्तर भन्दै नोटमा राईले लेखेका छन्, ‘सीमा विवाद तपाईँहरू दुई पक्षले समाधान गर्ने विषय हो, नेपालको दाबीमा हाम्रो तर्फबाट कुनै कमी हुँदैन । त्यसलाई कमजोर गर्न कुनै सम्झौता गरिएको होइन, त्यसलाई बुझिदिनु होला ।’
चीन र भारतले लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेका थिए । लिपुलेक नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट ५६ किमियताको भूमि हो । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको उक्त सहमतिलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ । उक्त मुद्दालाई भारत र चीन दुवैसमक्ष स्पष्ट तथा बलियो ढंगले राख्न प्रधानमन्त्री ओलीमाथि घरेलु दबाब थियो । आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै शनिबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणमा नेपालको हित र प्रतिष्ठाको विषय सम्बोधन हुने बताएका थिए ।







