बनेपा, नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउने उदेश्यका साथ अक्षयकोष स्थापनार्थ रकम संकलन अभियान शुरुवात गरेको छ ।
हिजो आइतबार बनेपामा आयोजित एक कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले निःशुल्क रगत उपलब्ध गराउन अक्षयकोष स्थापनार्थ रकम संकलन अभियानको घोषणा गरेका हुन । अभियानमा न्यूनतम दुई करोड संकलन गरि अक्षयकोष खडा गर्ने र त्यसबाट आउने ब्याजबाट जिल्लाभर रगतको अभाव हुन नदिन कार्यक्रम गरिने लक्ष्य रहेको रेडक्रस काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैलले बताए । करिब ५० जना व्यक्ति र संघसंस्थाले सहयोगको घोषणा गरिसकेको र केहीले रकम पनि उपलब्ध गराइसकिएको भन्दै भैलले आफूले पनि यस अभियानमा ५५ हजार ५५५ नगद सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपत्तीमा रेडक्रसले निकै सहयोग गरेको स्मरण गर्दै पछिल्लो पटक काभ्रे शाखाले थालेको अभियान निकै उपयोगी रहेको उल्लेख गरे । रेडक्रसका सात सिद्धान्तहरुमा आधारित रहेर देशभर रहेका रेडक्रसकर्मी, जुनियर रेडक्रस, युवा रेडक्रस सर्कललगायतले गरिरहेका सामाजिक कामलाई निरन्तरता दिँदै अघि बढ्न पनि अनुरोध गरे ।
कार्यक्रमका विशेष अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले रेडक्रसको अभियानमा बनेपा नगरपालिका पनि साथमै रहेको बताउनुभयो । उहाँले विगतमा पनि बनेपाले रेडक्रसलाई सहयोग गरिरहेको बताउदै पछिल्लो पटक रेडक्रसले शुरु गरेको अभियान निकै राम्रो भए पनि दुई करोडको अक्षयकोषबाट आउने ब्याजले जिल्लाभरीलाई निःशुल्क रगत दिन नपुग्ने भन्दै यसमा पुनर्विचार गरि बृहत कार्यक्रम गर्न सुझाव दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले रेडक्रसको अभियान एकदमै महत्वपूर्ण रहेको बताउदै सबैले यस अभियानमा सहयोग गर्न अनुरोध गरेका थिए ।







