आफैले शुरु गरेको मोही अभियानले नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको चर्चा दिनदिनै चुलिन थालेको छ । अध्यक्ष दाहाल निरन्तर सम्मानित हुँदै आएका छन् । संयोग पनि अचम्म कै परेको छ । नेपालको सबैभन्दा धेरै दुध भएको, नेपालको पहिलो डेरी उद्योग स्थापना भएको र पहिलो आत्मनिर्भर घोषणा भएको जिल्ला र अध्यक्ष दाहालको गृह जिल्ला काभ्रे नै रहेको छ ।
जेठ १८ गते राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला सबैको सहकार्यमा आयोजित विश्व दुध दिवसको आवसरमा एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाललाई मोही प्रबद्र्धन कार्यक्रममा अग्र स्थानमा रहि निरन्तर लागिरहेको भनी कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले सम्मान गरेका थिए । त्यसको लगत्तै जेष्ठ २४ गते रैथाने एग्रि प्रडक्टस् नेपालको आयोजनामा नेपाल डेरी एसोसिएसन बीच भएको सम्झौता बमोजिम गाउँको उत्पादन शहरमा, रैथाने खाना घरघरमा भन्ने उद्देश्यका साथ काठमाडौंको दरबारमार्गको ओरेन्ट क्याफेमा प्रत्येक हप्ताको शनिवार सञ्चालित रैथाने कृषि हाटबजार सञ्चालनको १०० औं हप्ता पुगेको अवसरमा आयोजित एक कार्यक्रममा पुनः कृषि तथा पशुपछीं मन्त्री रामनाथ अधिकारबाट कृषि हाट बजार मेलामा हरेक हप्ता निः शुल्क मोही सेवन गराई मोहीको मौलिकता, बजारीकरण तथा प्रबद्र्धनमा नेपाल डेरी एसोसिएसनले प्रत्यक्ष रुपमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै अध्यक्ष प्रल्हाद दाहाल मार्फत नेपाल डेरी एसोसिएसनलाई विशेष सम्मान गरिएको थियो ।
नेपालीहरुको मौलिक खाद्य पेय पदार्थको रुपमा रहेको मोहीको मौलिक उपभोगमा जनचेतनाको अभिवृद्धि गर्दै यसको फाइदाका बारेमा भोलिका दिनहरुमा समेत निरन्तर अभियन सञ्चालन गर्ने सम्मानित दाहालले बताउँदै आएका छन् । विगत २ वर्षदेखि सञ्चालनमा आएको कृषि हाट बजारले रैथाने कृषि उत्पादनमा बढवा र उपभोक्ताहरुमा स्थानीय कृषि उत्पादन उपभोगमा सहयोग र प्रबद्र्धन गरेको नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले बताए । अध्यक्ष दाहालका अनुसार हाल देशभर ३० ओटाभन्दा बढी डेरी उद्योगहरुले मोहीलाई ब्रान्डिङ गर्दै बजारमा ल्याएका छन् । यसबाट निरन्तर रुपमा बजारमा दैनिक रुपमा करीब ३० हजार लिटर मोही खपत भएको तथ्यांक रहेको छ । यसले झण्डै १५ हजार लिटर दूध बढी खपत हुने गरेको अर्का मोही अभियान्ता एवं नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले बताए ।







