धुलिखेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेले आयोजना गरेको आइडिया बैंकको उत्कृष्टहरु सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौं विश्वविद्यालयमा आयोजित कार्यक्रममा उत्कृट १० आइडियाबाट सर्वोत्कृष्ट ४ आइडिया सार्वजनिक र उनीहरुलाई पुरस्कृत समेत गरेको हो । कार्यक्रमबाट अभिषेक सुवेदी सहित रिजेन नेपालको समुह प्रथम, नेपाल फिल्म समुहका विकल्प चौंलागाँई दोस्रो, यन्त्र किट समुहका तुषार ढकालको समुह र विद्या सागर स्कुल बनेपाका विद्यार्थीको समुह तेस्रो हुन सफल भए । सर्वोत्कृष्ट भएका आईडियाहरुलाई प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २०÷२० हजार नगद पुरस्कार उपलब्ध गराइएको छ ।
कार्यक्रममा पुर्व मन्त्री एवं नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै बाँस्कोटाले सीप सहितको व्यवहारिक शिक्षाले जीउन सिकाउने भन्दै व्यवहारिक शिक्षामा जोड दिन आग्रह गरेका थिए । विद्यार्थीको सिर्जनात्मकताले विद्यार्थी आन्दोलन नयाँ युगमा प्रवेश गरेको भन्दै यसअघि परिवर्तनका लागि ढुंगामुढा गर्नुपरेको भएपनि अबको आन्दोलन नविनता सहितको ज्ञानको भएको बाँस्कोटाले बताए । उनले सबै चल्ने तर वर्षौ अध्ययनर गरेर प्राप्त गरेको सफलताको सर्टिफिकेट नचल्ने अब हुन नसक्ने पनि बताए । खेतबारी नै बेचेर अध्ययन गरेको प्रमाणपत्र नचल्नु दुःखद भएको भन्दै बाँस्कोटाले सर्टिफिकेट धितोमा राखेर ऋण लिने व्यवस्थाका लागि अनेरास्ववियुले थालेको प्रयासको प्रशंसा समेत गरे ।
कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडाल, महासचिव नरेश रोकाया लगायत विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिको सहभागीता रहेको थियो । अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विमला तिमल्सिना र आयुष बडालले गरेका थिए ।