पनौती, पनौती–५, ढलमलेमा स्थापित मानव कल्याण समाजको पनौती सेवाघरले नवनिर्मित भवन पाएको छ । शुक्रबार मानव कल्याण समाजले आयोजना गरेको एक कार्यक्रमका विच बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरीप्रभा खड्गी श्रेष्ठले उक्त भवनको उद्घाटन गरेकी हुन् । सोहि समारोहमा मानव कल्याण समाज सेवा घरमा रहेका सुयस मानव र दर्शिका मानवको अन्नप्राशन समेत गरिएको छ । उनीहरुलाई बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरीप्रभा खड्गी श्रेष्ठले अन्नप्राशन गराएकी हुन ।
विपद्मा परेका बालबालिकाहरुको संरक्षणका लागि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले भवन निर्माणको लागि ५ करोड बजेट बिनियोजन गरेको थियो । भवन उद्घाटन एवं अन्नप्राशन समारोहलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री खड्गीले मानवता, सम्पदा, संस्कृति, कला नेपालको पहिचान भएको बताइन् । आफूले आफ्नो पहिचान गर्न सक्नुपर्ने भन्दै मन्त्री खड्गीले गृहणी महिलाको सशक्तिकरणको लागि प्रदेश सरकारले काम गरिरहेको बताईन ।
सडक तथा सार्वजनिक स्थलहरुबाट उद्धार गरिएका ४५ बालबालिकालाई गुणस्तरीय शिक्षा दिक्षा सहित आश्रय प्रदान गरिरहेको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौंलागाईले जानकारी दिइन् । यस्तै ३० बालबालिकालाई स्वास्थ्य उपचार पश्चात घर पत्ता लगाई पारिवारिक पुनर्मिलन गरिएको पनि उनले बताइन् । काठमाडौं, काभ्रे, दाड, बारा लगायत ६ वटा जिल्लामा मानव कल्याण समाज रहेको अध्यक्ष सुमित्रा मानवले जानकारी दिइन् । पनौती नगरपालिका वडा नं.५ का वडाअध्यक्ष बिनोद खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सांसद कन्चन चन्द्र बादे, संविधान सभा सदस्य रामहरि सुवेदी, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामालगायतको आतिथ्यता रहेको थियो ।
सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरूको सेवाको लागि ७ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो । जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको छ । जुन अहिले घुलिखेल–१२, शंखुमा रहेको छ भने पनौती सेवा घर यहि साल खुलेको हो ।