जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन् । महामारीको समयमा शरीरमा प्राकृतिक प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहनका लागिसमेत दैनिक खानपानमा ध्यान दिनुपर्ने हुन्छ ।
भिटामिन सीयुक्त खाद्यपदार्थ
भिटामिन सी एन्टिअक्सिडेन्टयुक्त खाना हो, जसले शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गरिरहेको हुन्छ । जाडो मौसममा एन्टिअक्सिडेन्टयुक्त खाद्य पदार्थ खानामा समावेश गर्नु निकै आवश्यक हुन्छ । यो समयमा सुन्तला, निम्बु, किबि, पालुंगोको साग आदि जस्ता खाद्य पदार्थ समावेश गर्न सकिन्छ ।
प्रोटिनको खपत बढाउने
शरीरमा क्यालोरी खपत गर्नका लागि प्रोटिन मुख्य माध्यमहरू हुन् । सामान्यतया चिसोका कारण दैनिक गतिविधिहरूमा कम सक्रिय भइने हुँदा शरीरमा क्यालोरी सजिलै खपत हुँदैन । चिसोबाट बच्नका लागि अत्यधिक खानेकुराहरू खाइने हुँदा शरीरलाई आवश्यकभन्दा बढी क्यालोरी हुन्छ, क्यालोरी सन्तुलनमा ल्याउनका लागि प्रोटिनयुक्त खाना उत्तिकै आवश्यक हुन्छ । प्रोटिनयुक्त खाद्यपदार्थको सेवनले भोक कम लाग्छ, जसले गर्दा खाना कम खाइने भएकाले क्यालोरी नियन्त्रणमा आउँछ ।
तातो खानेकुराको सेवन
दैनिक प्रयोगमा ल्याइने खानाले शरीरको तापक्रममा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । जाडोमा तातो खानाको सेवनले न्यायो अनुभव गराउँछ, जसले शरीरको तापक्रम घट्नबाट रोक्ने गर्छ । शरीरमा ऊर्जा बढाउनका लागिसमेत तातो खानेकुुरा सेवन गर्न सकिन्छ ।

अत्यधिक खाना
चिसो छल्नका लागि काममा बढी सक्रिय नहुने हुँदा सामान्यतया अल्छीपना निम्त्याउने गर्छ । योसँगै कमजोरीपन महसुस हुने हुँदा अत्यधिक खाना खान मन लाग्ने हुन्छ, जसले गर्दा अस्वस्थ जीवनशैली विकसित हुँदै जान्छ । आवश्यकभन्दा बढी खानाले तौल बढ्ने सम्भावना पनि बढेर जान्छ ।
पानी
चिसोका कारण अधिकांशले पानी एकदमै कम प्रयोगमा ल्याउँछन् । जसले गर्दा छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गौलामा पत्थरी हुने जस्ता समस्या निम्तिरहेका हुन्छन । शरीरमा पानीको कमीबाट हुन सक्ने जोखिमबाट बच्नका लागि दैनिक कम्तीमा ६ गिलास पानी आवश्यक हुन्छ ।

फलफूल र तरकारी
नियमित खानामा फलफूल र तरकारी समावेश गर्नु आवश्यक हुन्छ । शरिरलाई चाहिने आवश्यक तत्व फलफूल र तरकारीबाट पूर्ति हुने भएकाले चिसो मौसममा स्वस्थ खानपान अझ धेरै आवश्यक हुन्छन् । अत्यधिक चिसो, मसाला, प्रशोधित खाना, स्याचुरेटेड फुडको सट्टामा फलफूल र तरकारी खान आवश्यक हुन्छ । यसले प्रतिरोधी क्षमता बढाउनका साथै क्यालोरी खपत हुने भएकाले तौल सन्तुलनमा राख्न सकिन्छ ।
जाडो मौसममा राम्रोसँग खान जानिएन भने धेरै समस्याले सताउन सक्छ । यो मौसममा हामीले अदुवा, काजु, पिस्ता र बदाम, आलस, बेसार, सुप, चिकेन सुप जस्ता बस्तु सेवन गर्न सक्छौ । अदुवा सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ । काजु, बदाम र पिस्ता दैनिक सेवन गर्नाले शरीरलाई तातो बनाइ राख्छ । आलसलाई भुटेर पाउडर बनाउने र बिहान दूध वा पानीसँग तीनचार चम्चा खाने । खानामा पनि आलसलाई अचारका रूपमा प्रयोग गर्ने । बेलुका पनि दूध वा पानीसँग आलस खाने । आलसमा ‘ओमेगा थ्री फ्याट्टी एसिड’ हुन्छ, जसले शरीरलाई तातो बनाइ राख्छ ।

बेसारले पनि शरीरलाई तातो बनाउन सहयोग पु¥याउँछ । जसले गर्दा जाडो समयमा अन्य अवस्थामा भन्दा बढी बेसार खान सकिन्छ । गोलभेँडाको सुपमा अदुवा र लसुनको मात्रा प्रशस्त राख्न सकिन्छ । यसरी बनाएको सुपले जाडोमा शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्छ । चिकेन सुपले शरीरलाई तातो दिन्छ । तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा चिकेन सुप बनाएर खान सकिन्छ ।

जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ । कम चिनी हालिएको गाजरको खीर खानुपर्छ । सिट्रस फलबाट भरपूर भिटामिन सी प्राप्त हुन्छ । यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले रुघाखोकीसित लड्ने शक्तिसमेत प्रदान गर्छ । अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन् । घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ । पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ । मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनुपर्छ । नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ ।

मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ । जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ । –एजेन्सीको सहयोगमा