आउदो मङ्सिर १६ गते आइतबार हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन शिक्षा कार्यक्रम स्थानीय तहमा प्रत्यायोजन गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा पनि आयोगले स्थानीय तहमार्फत नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो तर सो निर्वाचनमा विगतको भन्दा बढी मत बदर भयो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख इन्दिरा दाहालले निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी हुने भएकाले स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्ने गरी कार्यविधि तयार गरिएको जानकारी दिनुभयो ।
आयोगले उपनिर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ तयार गरेको हो । सो कार्यविधिले निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने बजेटसमेत वार्षिक बजेटमा स्थानीय तहले समावेश गर्नुपर्ने व्यवस्था गरेको छ । सो शीर्षकमा यसअघि निर्वाचन आयोगले बजेट व्यवस्थापन गर्दै आएको थियो ।
आयोगको सहसचिव दाहालले आयोगले तयार गरेको सामग्री अनुसार स्थानीय तहले जनशक्ति व्यवस्थापनलगायतका काम गरी कार्यक्रम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच थरीको पदमा उपनिर्वाचन हुँदै छ । आयोगले गरेर सम्भव नदेखेर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयको निगरानीमा स्थानीय तहले कार्यक्रम सञ्चालन गर्ने गरी कार्यविधि तयार गरिएको हो ।” आयोगले तयार गरेको कार्यविधिमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी निर्वाचन कार्यविधि बनाएको जनाइएको छ । सो दफामा आयोगले ऐन तथा नियमको अधीनमा रही आवश्यकता अनुसार निर्देशिका तथा कार्यविधि बनाई लागु गर्न सक्ने उल्लेख छ ।
निर्देशिकाले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नु स्थानीय तहको कर्तव्य हुने जनाएको छ । निर्देशिकाबमोजिम स्थानीय तहले आयोगले निर्माण तथा स्वीकृत गरेका निर्वाचन शिक्षा तथा मतदाता शिक्षाका सामग्री प्रयोग गर्ने, सचेतनामूलक तथा क्षमता विकास तालिम कार्यक्रममा निर्वाचन शिक्षा तथा मतदाता शिक्षाका विषयलाई समावेश गर्नुपर्ने छ । स्थानीय तहमा रिक्त रहेका ४४ पदको निर्वाचन मङ्सिर १६ गते हुँदै छ ।