नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा शुभ रहेको जनाएको छ ।
पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । धनत्रयोदशी (धनतेरस) पर्व र यमदीपदान मंगलवार परेको छ । कागतिहार बुधवार परेको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधवार नै परेको छ ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीवार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रवार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कात्तिक १७ गते शनिवार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीवार छठ पर्व परेको छ ।