नेपालमा विभिन्न देशबाट विभिन्न दुग्ध पदार्थ आयात हुने गरेको तथ्य हामी सबैलाई अबगत नै छ । स्वदेशी उत्पादन खपत नहुने र आयातित दुग्ध पदार्थले बजार ओगटेका कारण सो कुरालाई मध्यनजर गरी सरकारले स्वदेशी उद्योग र किसानको हितका लागि कृषि तथा पशुपन्छी मन्त्रालयबाट २०८० फागुन ३ गतेदेखि सहज परिस्थिति नहुने समयसम्मका लागि दुध तथा दुग्ध पदार्थ आयात बन्द गरेको थियो । तर हाल आएर विभिन्न बहानाबाजी गरी यहाँ दुध तथा दुग्ध पदार्थ आयात बन्द हुँदा नेपालबाट भारत निर्यात हुँदै आएका विभिन्न स्वदेशी नेपालमा उत्पादित वस्तुहरू निर्यातका लागि भारतले अप्ठ्यारो पारेको र दुध तथा दुधजन्य पदार्थ आयातमा लगाइएको रोक तत्काल फिर्ता हुने कुरा विभिन्न समाचार माध्यममा प्रकाशित भएको खबरले दुग्ध क्षेत्रमा आबद्ध सरोकारवाला सबै अत्यन्तै चिन्तित भएको अवस्था छ । हाल अर्बौको बटर, धुलो दुध, चिज आदि थन्किएर बसेको अवस्थामा दुधसँग सरोकार राख्ने सबै दुग्ध क्षेत्रका सरोकारवालाहरु अत्यन्तै मर्माहत भएको अवस्थामा सरकारले सहयोग पु¥याउनुको सट्टा उल्टै आयात खोल्न खोज्नु अत्यन्तै दुःखद कुरा हो ।
हाल सरकारले आयत बन्द गरेता पनि आयातको सरकारी तथ्यांक हेर्दा साउन महिनामा मात्र बटर ४८ हजार केजी, चिज ८ हजार ५० केजी, अन्य डेरी जन्य पदार्थ १२ हजार ६ सय केजी आयात भएको तथ्यांकले देखाउँछ । अझ चोरीपैठारी हुँदै आउने सामानको त हिसाब किताब नै छैन । त्यस कारण नेपाल सरकारले नेपालमा ५० अर्ब निजी क्षेत्रको लगानी, अर्बौं सहकारी, डिडिसी र किसानको छ । यसमा ६ लाख कृषक परिवारले प्रत्यक्ष रोजगारी पाएका छन् भने अरु ५० औं हजार किसानले अप्रत्यक्ष रुपले रोजगार पाएका छन् । त्यस्तै करिब ५० हजार जनाले उद्योग क्षेत्रमा रोजगारी प्राप्त गरेको क्षेत्रलाई सरकारले हित र संरक्षण गर्नु पर्छ । यसका लागि देशमा दुध तथा दुग्ध पदार्थको बजार सहज नहुन्जेल र उद्योगमा स्टक सामान नसकिन्जेलसम्म कुनै पनि बहानामा आयत खुल्ला गर्नु भनेको नेपाली डेरी उद्योग र दुग्ध किसानलाई यो पेशाबाट पलायन गराउनु हो । त्यस अर्थमा आशा छ उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग, कृषि उद्यम केन्द्रले यो कुरालाई विशेष महत्व दिई दुध तथा दुग्ध जन्य पदार्थ तत्कालका लागि पूर्ण रुपमा आयात बन्द गरि नेपाली दुग्ध किसान र डेरी उद्योगलाई बचाउन सरोकारवाला सबैले विनम्र अनुरोध गरि सम्बन्धित सबै ठाउँमा हारगुहार गरिरहेका छन् । तर यो असहज परिस्थिति जसले भोगेको छ उसले मात्र महसुस गर्न सकेको हुन्छ ।
भुकम्प अगाडि करिव देशमा झन्डै ७÷९ अर्बको दुध तथा दुग्ध पदार्थ आयात हुने गर्दथ्यो । त्यो समय नेपालमा पाउडर दुध कारखानाहरु सबै बन्दको अवस्थामा थियो । बाहिरबाट धेरै धुलो दुध आयात हुन थालेपछि उद्योगीहरु आफैं मिलि बन्द भएको धुलो दुध कारखाना चलाई आफूलाई चाहिने कच्चापदार्थ धुलो दुध आफैं बनाउन शुरु गरेका थिए । त्यस कारण बढी भएको दुधलाई धुलो दुध र बटर बनाई मिल्क होलिडेको अन्त्य गर्न सहयोग पुगेको अवस्था थियो । त्यो समय नेपालमा जम्मा ३ वटा पाउडर दुध कारखाना मात्र थिए भने हाल आएर नेपाल सरकारले आयातलाई बन्द गरेका कारण देशमा ७ वटा पाउडर दुध कारखाना स्थापना भई सूचारु छन् भने थप पश्चिममा पनि एक पाउडर दुधको उद्योग आउने अवस्थामा छ । यसले गर्दा आयात मुखि हाम्रो देश हाल आएर ४ अर्ब जतिको धुलो दुध र बटर निर्यात गर्ने अवस्थामा छौं । यो अवस्था हुनुमा आयात बन्द हुनु नै मुख्य कारण हो। अझ यसमा आयात बन्द भएपछि थप १४ वटा बदाम मिल्क उद्योग पनि स्थापना भएका छन् । अहिले दुधको उत्पादन बढेर १८ लाख मे.ट बाट बढेर २५ लाख मे.ट वार्षिक उत्पादन पुगेको छ । यसबाट थप रोजगार ६ लाख कृषकबाट बढेर ७ लाख हाराहारी पुगेको छ । अहिले ५० लाख कृषकले रोजगार पाएका छन् । यदि अब आयात खोलेमा यो दुग्ध क्षेत्रका लागि ठूलो घातक हुनेछ । अहिले निजि क्षेत्रमा मात्र ५० अर्ब लगानी भएको छ । यदि अवस्था सहज बन्दै जाने हो र सरकारले थोरै मात्र सहयोग गर्ने हो भने यो क्षेत्रमा अझ धेरै राम्रो हुने र थप रोजगार सृजना हुन सक्ने अवस्था रहेको छ ।
नेपालमा दूधको उत्पादन दिनदिनै बढ्दै गइरहेको छ । स्वदेशी किसानबाट उत्पादित दूधले भने बजार पाउन नसकी दैनिक लाखौं लिटर दुध फाल्न पर्ने बाध्यता अवस्था सृजना भएको अवस्था पनि हामी सबैलाई थाहा नै छ। बजारको अभावमा दुग्ध पदार्थ स्टक भएका कारण दुग्ध व्यवसायमा आश्रित लाखौं किसानलाई टिकाई राख्न नेपाल सरकारले विदेशबाट दुग्धजन्य पदार्थहरूको आयात बन्द गरी किसानले उत्पादन गरेको दुधको बजार सुनिश्चित गरिएको थियो । तर त्यसलाई बेला बेला चर्चामा ल्याई आयात खुलाउने तर्फ निश्चित ब्यक्ति विशेष लागेको देखिन्छ । यसले कहिल्यै पनि नेपाली कृषि क्षेत्रलाई हित गरेको हुँदैन । अरु सबै देशमा स्वदेशी उत्पादनले आत्मनिर्भर हुँदा आयात पूर्ण रुपले बन्द गर्ने गरेको हुन्छ । हाम्रो देशमा भने सरकारले कहिल्यै पनि स्वदेशी उद्योग र किसानको बारे सोच्ने गरेको देखिंदैन ।
नेपालमा धानपछि दोस्रो प्रमुख कृषि उत्पादनको रुपमा दुग्ध व्यवसाय रहेको छ । यसको माध्यमबाट ग्रामीण क्षेत्रका कृषक परिवार प्रत्यक्ष र किसान लाभान्वित हुनुको साथै दुग्ध क्षेत्रका उद्योग, सामान ओसार पसार, प्रसोधन र बिक्री वितरणमा पाँच लाखभन्दा बढीले प्रत्यक्ष रोजगार पाएका छन्। यसरी रोजगार सृजना भई बजारमा दुग्ध पदार्थको आन्तरिक खपत पूर्ति गर्न स्वदेशी उत्पादनले थप लगानी समेत गर्दै उपभोक्ताको चाहना अनुसार गुणस्तरीय पदार्थहरु बिक्री वितरण भइरहेको अवस्था छ । मित्रराष्ट्र भारतबाट दुध र दुग्ध पदार्थ आयात बन्द हटाउन दबाब आएको भन्ने खबरले दुग्ध व्यवसायमा संलग्न किसान उद्यमी र सरोकारवालाहरू चिन्तित भएका छन् । यो विषय राम्रो होइन । सरकारले अब यो विषयलाई गम्भीर भएर सोच्नु पर्छ । यदि स्वदेशी किसान, उद्योग र व्यवसाय सरकारले संरक्षण नगर्ने हो भने देशमा बेरोजगारी सृजना भई अझ थप युवा बिदेश पलायन हुने हुन्छ।यसले राज्यलाई कहिल्यै हित गर्दैन ।
विभिन्न समयमा विभिन्न प्रकारका समस्याहरु आइरहेका हुन्छन् । कोभिडको महामारी, लम्की स्किन डिजिज, ठूलो संख्यामा युवा शक्ति विदेश तर्फ पलायन, शहरबाट गाउँ बसाइँसराई आदि कारणले दुग्ध पदार्थको खपतमा कमि आएको हो । अर्को तर्फ आर्थिक मन्दिले स्वदेशी उत्पादन बिक्री हुन नसकी किसानको नियमित भुक्तानी समस्या बन्दै गएको अवस्था छ । अर्को तर्फ किसानको दूध फाल्नुभन्दा खरिद गरि धुलो दुध बनाई राख्न पर्ने बाध्यता रहेको अवस्था रहेको छ । यदि किसानको दुध खरिद नगरिएको भए थप विकराल समस्या आउने निश्चित रहेकोछ । दुग्ध किसान र उद्योगमा समस्या आई लाखौं किसान र उद्योगी पलायन हुन सक्ने कुराको सबैमा ध्यानाकर्षण हुन आवश्यक छ । दुधमा आत्मनिर्भर भई किसानको दैनिक आयआर्जन र खाद्य सुरक्षामा समेत सशक्त योगदान गरी सकारात्मक दिशातर्फ उन्मुख दुग्ध क्षेत्रको दिगो विकासका लागि सरकारको भुमिका महत्त्वपूर्ण हुन आवश्यक छ । आत्मनिर्भर भई सकेको नेपाली कृषि उपजको उत्पादन र उपभोग अभिवृद्धिलाई प्राथमिकतामा राखिएको कुरा स्मरण गराउँदै मित्रराष्ट्र भारतसँग कुटनैतिक पहल गरी हाल बन्द आयात कायमै राख्न नेपाल सरकारसँग सबै व्यवसायीआग्रह गर्दछन्।
विगत लामो समयदेखि विभिन्न किसिमका समस्याका बावजुद पनि डेरी सेक्टर सबैको सहयोगमा हालसम्म जेनतेन टिकेको अबस्था छ । २०७२ सालको भूकम्प, २०७५ ÷ ७६ को कोभिड, २०७९ ÷ ८० को लम्की स्किन डिजिज, लामो समयसम्मको आर्थिक मन्दिर, हालसालै २०८१ को बाढी पहिरो लगायतका धेरै समस्या एकै पटक डेरी सेक्टरमा आएका कारण हाल डेरी क्षेत्र थलिएको अवस्था छ। यस्तो अवस्थामा दूध तथा दुध जन्य पदार्थको खपत कम हुनु स्वभाविक नै हो । खपत कम भई स्टक बढी भएर डेरी उद्योगको चालु पुँजी सकिन पुग्दा समयमा किसानको भुक्तानी गर्न नसकेर किसान र उद्योगले ठूलो समस्या भोग्नु परेको अवस्था छ ।