नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघले कैलालीमा आयोजना गरेको चौथो राष्ट्रिय प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । कात्तिक २ र ३ गते सुदुरपश्चिम प्रदेशको घोडाघोडी नगरपालिकाको सुखट, कैलालीमा संघका केन्द्रिय अध्यक्ष पुर्ण प्रसाद पाण्डेको अध्यक्षता र घोडाघोडी नपाका मेयर खडक बहादुर रावतको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा सुदुरपश्चिम प्रदेश प्रथम, कर्णाली प्रदेश दोश्रो र लुम्बिनी प्रदेश तेस्रो भएको छ ।
२ दिनसम्म कैलालीमा आयोजित प्रतियोगितामा बिभिन्न उमेर र तौल तथा महिला पुरुष फरक समुहमागरी विभिन्न ४ विधामा प्रतिस्पर्धा भएको थियो । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेले फूल केन्पो, सेमी केन्पो, सेल्फ डिफेन्स केन्पो र खुकुरी काता अन्तर्गतका विभिन्न प्रतिस्पर्धा भएको बताए । प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कारसहित कप मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । उपाध्यक्ष लक्ष्मी अधिकारीको सञ्चालनमा भएको प्रतियोगिताको उद्घाटनमा स्वागत मन्तव्य उपाध्यक्ष मदन रेग्मीले गरेका थिए । सहभागीहरुले बिभिन्न सांंगितिक प्रतिभा प्रस्तुत समेत गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष कुमार कार्कीलगायतले खेल क्षेत्रका बारेमा बोलेका थिए ।
नेपाल केन्पो खुकुरी मार्शल आट््र्स संघका खेलप्रति सर्वसाधारणको रुची अभिवृद्धि गर्ने र यसको समुचित विकासमा जोड दिने र खेलको स्तर वृद्धि गर्न विभिन्न स्तर र तहका प्रतियोगिताहरु संचालन गर्ने क्रममा चौथो राष्ट्रिय प्रतियोगिता गरिएको जसमा करिब १ सय खेलाडी सहभागी भएको संघका प्रेस सल्लाहकार नवराज बजगाईले जानकारी दिए । –नव क्षितिज साप्ताहिकबाट