शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईको नतिजामा अस्वीकृत (ननग्रेडिङ÷एनजी) ल्याएका सबै २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको छ ।
बिहीबार सार्वजनिक नतिजामा ४ लाख ६४ हजार ७ सय ८५ मध्ये ५२ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए । तीमध्ये दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका २०७८ मा उल्लेख छ । यो व्यवस्थाअनुसार १ लाख १५ हजार ८ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षाका लागि योग्य थिए । शिक्षामन्त्री सुमना श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै सबै ननग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए । ‘सबै एनजी ल्याउने छात्रछात्रालाई ग्रेडवृद्धि परीक्षाको मौका दिने मन्त्रीस्तरीय निर्णय भयो । राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई पनि उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ,’ उनले भने । बोर्डले साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने समयतालिका प्रकाशित गरेको थियो । उक्त निर्णयपछि परीक्षाको समयतालिकामा समेत संशोधन हुने बोर्डले जनाएको छ ।
ग्रेडवृद्धिमा सहभागी हुने विद्यार्थीलाई परीक्षाको तयारी सञ्चालन केन्द्र शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत देशभरका विद्यालयलाई समेत निर्देशन दिने निर्णय भएको प्रवक्ता दाहालले बताए । परीक्षा तयारीका लागि कक्षा सञ्चालनमा विश्वविद्यालयलाई समेत आग्रह गर्ने निर्णय भएको हो । नतिजामा २ लाख २२ हजार ४ सय ७२ (४७.८७ प्रतिशत) विद्यार्थी मात्रै ग्रेड प्राप्त गर्न कक्षा ११ मा भर्ना हुन योग्य भएका थिए ।