धुलिखेल, काभ्रे जिल्लामा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईले जिल्लामा आफू रहुन्जेल नागरिकलाई सुशासन सहितको सेवा दिने प्रतिवद्धता गरेका छन् ।

बुधबार जिल्लामा क्रियाशिल पत्रकारहरुसगँको भेटघाट कार्यक्रममा उनले जिल्लाको शान्ति सुरक्षालगायत समग्र समस्या र कार्यालयबाट भईरहेको सेवाको विषयमा काभ्रे जिल्लामा पत्रकारसँग अन्तक्रिया गरेका थिए । सञ्चारकर्मीले हाल भईरहेको नागरिकता, पासपोर्ट (राहदानी) एवं राष्ट्रिय परिचय पत्र वितरणमा ढिलाइ तथा यस विषयमा नागरिकले भोग्नुपरेको समस्या तथा अन्य प्रशासनिक गतिविधिका विषयमा प्रजिअ सेढाईंलाई जानकारी गराएका थिए ।
प्रजिअ सेढाईंले म जिल्लामा रहँदा सूचना प्रदान कार्यलाई सहज बनाउने, अनियमितता, अवैध रुपमा सञ्चालित जुनसुकै गतिविधि वा औद्योगिक संस्था र बजारलाई नियमसंगत ढङ्गले अनुगमन गरी कार्वाहीको दायरामा ल्याउने बताए । विपद्को समयमा स्थानीय तहसँगको समन्वयमा विपदजन्य घटनाको न्यूनीकरणमा लाग्ने उनको भनाई थियो । यसैगरि प्रजिअ सेढाईंले जिल्लाको शान्ति सुरक्षा, अमनचयनमा कुनै अवरोध आउन नदिने गरी सक्रिय बन्ने बताएका छन ।