बनेपा नगरपालिका बैकिवा वडा नं.९ मा जन्मिएर हाल बनेपा नगरपालिका वडा नं.११ सिनागालका स्थायी बासिन्दा संगम थापा । कृष्ण थापा र शान्ति थापाका सुपुत्र हुन् । नेपाली कांग्रेसको क्रियाशील सदस्य, तरुण दलमा आवद्ध हुँदै हाल थापा ट्रेड युनियन कांग्रेस बनेपा सभापति सम्मको राजनीतिक यात्रा तय गरेका छन् । थापा नेपाली कांग्रेस बागमती प्रदेश वैदेशिक रोजगार तथा समन्वय विभागको सदस्य समेत हुन् । थापासँग हाल ट्रेड युनियन कांग्रेसको भूमिका, सहभागिता र आगामी योजनाको विषयमा छलफल गरिएको छ । सँगै बनेपामा ट्रेड युनियन कांग्रेसको उपस्थिति लगायतका विषयमा विशेष कुराकानी गरिएको छ । प्रस्तुत छ काभ्रेपोष्ट साप्ताहिकका लागि गरिएको अन्तर्वार्ताको सम्पादित अंश ।
० बनेपा नगरपालिकामा हालसालै घटेको घटना, बनेपा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच भएको मुठभेडलाई कसरी लिनुभएको छ ?
सान्दर्भिक प्रश्नको लागि धन्यवाद । हाम्रो लागि ति नगरप्रहरी हाम्रा श्रमिक हुन् ती फुटपाथ व्यवसायी पनि हाम्रो लागि श्रमिक हुन् । सिसिटिभी फुटेजमा देखिए अनुसार एक पक्षले कुटेको छ । अर्कोले कुटाई खाएको छ । सरसर्ती हेर्दा कुटाई खाने पीडित देखिए पनि ती ठेलागाढा र बिहान कमाएर बेलुका खाने बेलुका कमाएर बिहान खाने ती व्यक्तिहरू पनि पीडित हुन् जस्तो लाग्छ । यसलाई ठुलो विवादको विषयको रुपमा हेर्नु भन्दा पनि दुबै पक्ष पीडित भएकाले नगर र सम्वन्धित व्यवसायी दुबै पक्षलाई राखेर सामान्य ढंगले सहमतिको बाटो खोज्नुपर्दछ जस्तो लाग्छ ।
० पछिल्लो समय हेर्ने हो भने त सार्वजनिक मुद्दा नै लागेको छ, यसलाई कसरी हेर्नुभएको छ ?
श्रमिक वर्गलाई जायज एवं उचित ठाउँमा बनेपा नगरपालिकाले व्यवस्थापन गरिदिएको भए सायद यो घटना पनि घट्दैन थियो । एक हिसाबले यसमा दोषी नगरपालिका पनि छ र बनेपा नगरपालिकाले पनि सूचना जारी गरेको व्यवसायी श्रमिकले मानेन्न यसमा दुबै पक्षको गल्ती देखिन्छ। सम्बन्धित निकालयले ती व्यक्तिहरूलाई उचित व्यवस्थापन गर्न नसक्नुको कारण दुवै पक्षका व्यक्तिहरू यसमा मुछिएका छन्। दुवै पक्षलाई सामान्य तरिकाबाट मिलौ भन्ने छ। कानुनी विषयलाई पनि सम्बोधन गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाई छ। कुट्ने पनि श्रमिक कुटाइ खाने पनि श्रमिक यसमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।
० ट्रेड युनियन कांग्रेस बनेपा पछिल्लो समय के गर्दैछ ?
नेपाल ट्रेड युनियन कांग्रेस बनेपाले विभिन्न कार्यक्रमहरु गर्ने बनेपा नगरपालिकासंग समन्वयकारी भुमिका निर्वाह गरिरहेको छ। बनेपा नगरपालिकाको १ नं. वडा देखि १४ नं. वडासंगको जनप्रतिनिधिहरुलाई युवा श्रमिक वर्ग लक्षित कार्यक्रमहरु ल्याउन अनुरोध गरेको छ। श्रमजीवि, गरिब वर्गका व्यक्तिहरूलाई श्रम, रोजगारीको लागि विभिन्न सिपमुलक तालिमको लागि नगरसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ भन्ने कुराहरूमा नगरसँग धेरै पटक सरसल्लाह गरेका छौँ। नगरले पनि हाम्रो सल्लाह सुझाव अनुसार
साबुन बनाउने तालिम, ब्युटीपार्लर सम्बन्धि तालिम, मुडा बनाउने तालिम, पोते बनाउने तालिम, धुप बनाउने तालिम, कुक, वयटर, लगायत विभिन्न सीप मुलुक तालिम प्रदान गरेको छ। यसमा हाम्रो विशेष भुमिका रहेको छ।सबै कुराहरू स्थानीय निकालयले मात्र व्यवस्थापन गरेको भन्न मिल्दैन । त्यसमा हामीले समन्वय र पहलकदमी गरेकाले यस्ता कार्यक्रम भएको हो । त्यस्तै श्रमिक वर्ग लाई प्रक्षिक्षण, तालिमबाट श्रमजीवि वर्ग कसरी अगाडि बढ्न सक्छ भनेर काम गर्दै आएका छौँ ।श्रमिक वर्गको समस्याहरुमा सधै अग्रस्थानमा हुने गरेका छौँ ।
० बनेपा नगरमा कति श्रमिक वर्ग छन्, यसको तथ्यांक कहाँ छ ?
तथ्यांकको कुरा गर्नुभयो तपाईंले । बनेपाम बस्ने ९५ प्रतिशत मानिस श्रमजीवि नै हुन् । घरमा काम गर्ने गृहिणी देखि कार्यलयमा काम गर्ने अधिकृत पनि हाम्रा लागि श्रमिक हुन्। त्यसकारण खास तथ्याङ्क स्थानीय सरकारले राख्नुपर्ने हो । कसलाई श्रमिक भन्ने र कसलाई नभन्ने भनेर हामीले तथ्यांक राख्नुभन्दा पनि  कुनकुन वर्गमा कति मान्छे पेशागत रुपमा आवद्ध छन् । सरकारी कर्मचारी कति छन् । व्यवसायी कति छन् ? गृहिणी कति छन् ? ठेलागाढा व्यवसाय गर्ने कति छन् ? भन्ने विषयमा स्थानीय सरकारले त्यसको तथ्यांक राख्नुपर्दछ । हाम्रो सवालमा हामीले राख्नुपर्दैन भन्न खोजेको हैन । म आफै पनि श्रमिक हुँ । यो ठाउँमा बस्ने सबै श्रमिक भएको हुँदा ठ्याक्कै यति नै भनेर भन्न सकिदैन ।
० ट्रेड युनियन कांग्रेस बनेपा नगरले श्रमिक लक्षित के कस्ता कार्यक्रम गरिरहेको छ ?
हामीले श्रमिक वर्गलाई कसरी हेरेको छौं भन्ने कुराले फरक पार्छ । अहिलेको बदलिदो परिस्थितिमा आर्थिक लगायत सम्पूर्ण अवस्था कमजोर छ। यो अवस्थामा ट्रेड युनियन कांग्रसले श्रमिक वर्गको लागि आफ्नो क्षेत्रबाट हामीले सक्ने तालिमहरू विभिन्न योजनाहरू हामीले नगरसँग समन्वय गरेर अगाडि बढाउँदै छौं । आगामी दिनमा नगरबासी देखि लिएर काभ्रे जिल्ला भरिकालाई सहज अवस्थामा काम गर्न सक्ने वातावरण बनाउने कोशिस गर्छौ। श्रमिक उत्थानको लागि श्रमिक एवं युवाहरूको लागि बनेपा नगरपालिकासँग समन्वय गरेर छिट्टै नै हामी विभिन्न नयाँ कार्य गर्नेछौं ।
० सञ्चालित तालिम एवं कार्यक्रम श्रमिकको पहुँचमा पुगेको छ ?
हामीले नगरपालिका र वडा कार्यलयसँग समन्वय गरेर काम गरिरहेका छौं । वडा वडामा सिपमूलक कार्यक्रम, कृषि तालिम, कृषकलाई बिउबिजन वितरण लगायतका कामहरू भइरहेका छन् । ठ्याक्कै संगठनले गर्ने काम गर्नुपर्छ भन्ने होइन । स्थानीय सरकार र वडाहरूबाट कामहरू अगाडि बढेको छ। हामीले श्रमिक वर्गलाई पहिलो प्राथमिकता दिन नगरपालिकालाई पनि अनुरोध गरेका छौँ । नगरले पनि त्यहीँ अनुसार श्रमिक वर्गलाई समेटेको छ। समेटेन भने हामी पहलकदमी गर्छौ।
० श्रमिकको नेता भएपछि खबरदारी गर्ने काम त तपाईंहरूको हो नि ?
हामीले गरिरहका छौं । यो भन्द केही समय अगाडि श्रमिकको पारिश्रमिक न्यनुतम २५ हजार हुनुपर्छ भनेर हामीले जिल्ला प्रजिअलाई विज्ञप्ति पनि बुझाएका छौं । हामी सबै मिलेर एकै पारिश्रमिक निर्धारण हुनुपर्छ भनेर हामीले अभियान नै सुरु गरेका छौं। कतिपय क्षेत्रमा त्यसको काम पनि भइरहको छ । हामी जहिले पनि श्रमिक वर्गको पक्षमा नै हुने छौँ। बनेपा नगरमा गएर बुझ्न पनि सक्नु हुनेछ। श्रमिक वर्ग व्यापार गरेर खानेलाई उचित व्यवस्थापन गरिदिनुहोस भनेर हामीले खबरदारी पनि गरेका छौँ ।
० श्रमिक वर्ग, असहाय, पिछडिएका वर्गका निम्ति के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ ?
श्रमिक र पिछडिएकाहरूको लागि विभिन्न कार्यक्रम ल्याएका छौं । अहिले त संगठनले भन्दा पनि स्थानीय सरकारबाट ट्याक्टर वितरण, बिउबिजन बितरणको काम भइरहेको छ। काम सिक्ने गर्नको लागि सिपमुलक तालिम सञ्चालन भइरहेको छ। श्रमिकवर्गलाई उत्थान गर्ने हिसाबले नै यस्ता कार्यक्रम भइरहेको छ। हामीले सकेको आर्थिक सहयोग पनि गर्दै आएका छौँ। असहाय, पिछडिएका वर्गका निम्ति राहतका कार्यक्रमहरु ल्याएर राहत पनि वितरण गरेको छौ।
० सबै काम स्थानीय सरकारले गर्दैछ भन्नुभयो ट्रेड युनियन कांग्रेस चाहिँ राजनीति गर्ने भर्याङ मात्र हो त त्यसो भए ?
श्रमिक वर्गको उत्थान गर्नु राजनीति हो। श्रमिकको हक हित अधिकारको लागि बोल्नु राजनीति हो। नेपालको संबिधानमा नै उल्लेख छ। आफ्नो अधिकार खोज्न पाउने अनि कसरी राजनीति भयो। यो श्रमिक वर्गको विषय भएकाले राजनीति गर्ने विषय भन्न मिल्दैन । यहाँ राजनीति गरेर माथि जाने मान्छे भन्दा पनि श्रमजीवि वर्गलाई संरक्षण गरेर श्रमिकहरूलाई आश्रय दिएर माथि जाने मान्छेहरू धेरै छन् । राजनीति गर्ने थलो मात्रै भन्न नमिल्ला।
० अहिले अवस्थामा ट्रेड युनियन कांग्रेसको आवश्यकता किन छ ?
एउटा श्रमिक, असहाय वर्गको पक्षमा बोलेर त्यसको वकालत गर्न ट्रेड युनियन कांग्रेस पक्कै पनि आवश्यक छ । किनकि कसैको पछाडि कसैले भरोसा दियो भने निमुखा वर्गले अलिकति अगाडि बढ्न सक्छ । त्यसैले ट्रेड युनियन कांगेस श्रमजीवि कांग्रेस एकदमै आवश्यक छ ।
०  सबै दलका मजदुरहरूको संगठन एकजुट हुन नसक्दा उनीहरूको हितमा काम गर्न सकिन्छ त ?
अहिले बिडम्बना भनौं या समस्या यही नै हो । हाम्रो संगठनले एउटा काम गर्छ । अर्को संगठनले अर्कै तवरले गर्छ । मैले काम गर्दा अर्को संगठनले रोक्न सक्छ । तपाईंले जायज विषयको उठान गर्नुभयो । हामी सबै श्रमिक संगठन एकजुट हुन नसक्दा श्रमजीवि वर्ग मारमा परेको मैले बुझेको छु।
० नेपालमा मजदुरको हकहितमा भएका प्रयासहरू सही छन् कि यसमा सुधार गर्नुपर्ने छ ?
समग्र नेपालको परिवेशलाइ नियाल्दा मजदुरको हकहितमा गरेका कामहरू केही सही अनि केही गलत पनि छन्। अहिले भुइँमा काम गर्ने मान्छेलाई उठाउने राख्न नदिने, भगाउने । जुन उनीहरूको हकभन्दा बाहिर भएको जस्तो लाग्छ । तर दीर्गकालीन रुपमा हेर्ने हो भने यो प्रसास सही हो । किनभने गाउँगाउँमा श्रमिकको जग्गाजमिन सबै बाँझो भएको अवस्था छ । खेती गरेर खान नचाहाने परिपाटी बढेको छ । बजारमा आएर सहुलियत बिलासी जीवनबाच्ने होडमा गाउँको ब्यवसाय ठप्प पार्ने परिपाटी बढेको छ । गाउँमा सबै ठप्प पार्ने परिपाटि बढेको छ । यसलाई सुधार गर्नु जरूरी छ ।
० अन्त्यमा काभ्रेपोष्ट मार्फत के भन्न चाहानुहुन्छ ?
सबैभन्दा ठुलो कुरो हामी श्रमिक हो । किनभने श्रमिकले श्रम नगरेसम्म देश नै चल्न सक्दैन । हामी यो राजनीतिक पार्टी । यो गुट त्यो गुट भन्दा पनि । तल्लो वर्गलाई माथि उठाउने र माथिल्लो तप्काले पनि सही ढंगले अगाडि बढ्नको लागि आह्वान गर्न  अनि सबै श्रमिकलाई एकजुट भएर लाग्न अनुरोध गर्दछु । धन्यवाद ।