अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनी अध्यक्षमा डा. चुडाल


अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीले डा. सरोज चुडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै पाँचौ अधिवेशन सम्पन्न गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा रविनकाजी भण्डारी, काजी राना, महासचिवमा सुरज कार्की र कोषाध्यक्षमा छिरिङ शेर्पा चयन भएका छन् ।

१७ नोभेम्बरमा सास्कृतिक शहर ब्रेमेनमा भएको अधिवेशनले आगामी दुई वर्षका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

मञ्चका निवर्तमान अध्यक्ष बेल गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा जर्मनीका विभिन्न शहरबाट आएका नेपाली समुदायको उपस्थिति थियो ।

कार्यक्रममा कलाकारहरू पार्वती गुरुङ, मलिसा गुरुङ, डा. प्रविन प्रसाईं, बिकु अधिकारी, सरोज पन्त, छिरिङ शेर्पालगायतले संगीतिक प्रस्तुति दिए ।

विदेशी भूमिमा रहेका नेपाली र नेपालीका सन्तानलाई आफ्नो देशको कला संस्कृतिप्रति आस्था जगाइराख्न र नेपाली संस्कृति भुल्न नदिन अन्तर्राष्ट्रिय कलाकार मञ्चले विविध प्रकारमा कार्यक्रम अघि सार्ने अध्यक्ष डा. चुडालले बताए ।

नेपालसहित विश्वका २९ देशमा विस्तार भएको अन्तर्राष्ट्रिय कलाकार मञ्चले आगामी वर्षभित्र ४० देशमा शाखा विस्तार गर्ने लक्ष्य लिएको केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्