समाचार वाचिकाले गीतमार्फत सरकारलाई गरिन् प्रहार (भिडियाेसहित)


सञ्चारकर्मी शशी नेपालले मुलुकमा बढ्दाे बेथिती, विसंगतिमाथि प्रहार गर्दै नयाँ लोक दोहारी गीत सार्वजनिक गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत शशीले गीतकार अविरल बिसी र संगितकार खेम सेन्चुरीसँगको सहकार्यमा गीत तयार पारेकी हुन् ।

गीतमा नेपालको सीमा मिचिएको, एनसेललाई कर छुट दिइएको विषय, निर्मला हत्य प्रकरण, वाइडबडी काण्ड, वालुवाटारको जग्गा काण्ड, नेताहरुको गैरजिम्मेवारीपन र विलासी जीवनमाथि कटाक्ष गरिएकाे छ ।

भ्रष्टाचार, कुशासन र दण्डहीनताको अन्त्य गर्नका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यले गीत तयार पारिएको प्रस्तुतकर्ता शशीले बताइन् । गीतको भिडियो सार्वजनिक गरेपछि शशीले भनिन्, ‘यस्ता सन्देश दिने गीत विगतमा पनि नबनेका होइनन्, कतिपय गीतलाई त विवादमा पनि ल्याइयो । तर, विवादमा ल्याउनुभन्दा पनि मनन गर्नेतर्फ ध्यान जाओस् भन्ने मेरो चाहना हो ।’

उक्त गीत व्यवसायिक प्रयोजनका लागि नभएर सन्देश र चेतना फैलाउनका लागि तयार पारिएको उनले बताइन् ।

शशीका साथमा गीतकार अविरल बिसीसँगै सम्झना भण्डारी, मेक्सम खाती, नरेश खाती, भागिरथ चलाउने, विक्रम परियार, विजय सुनाम र जानकी तारामी मगरको स्वर गीमा रहेकाे छ । साथमा सीमा सारु र सरु आले मगरले पनि स्वरमा साथ दिएका छन् ।

भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन् । सेन्चुरीको लय र संगीतमा सागर विरहीले एरेन्ज गरेका हुन् । माल श्री स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो मिक्सिङ खड्क बाजुरालीले गरेका हुन् ।

वीरेन्द भट्टको छायाङ्कनलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्