बनेपा, अहिले पश्चिमी वायु तथा स्थानीय मौसमी प्रणालीको प्रभाव रहेकाले केही दिन मेघगर्जन र चट्याङसहित विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको मौसम विद्हरूले बताएका छन् । यहि क्रममा शनिबार हावाहुरी, पानी, मेघगर्जन र चट्याङसमेत पर्दा धेरै क्षति भयो ।
नेपालमा बढीजसो चैत, वैशाख र जेठ महिनामा चट्याङले असर गर्छ । जलवायु परिवर्तनले पनि चट्याङ निम्त्याइरहेको हुने बिज्ञहरु बताउछन । अहिले नेपालमा मनसुनपूर्वको अर्थात् प्री–मनसुन वर्षा भइरहेको छ । प्री–मनसुनका बेलामा हिमपात, चट्याङ र हावाहुरीबाट निम्तिन सक्ने जोखिमबारे सजग रहन आवश्यक छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालका मध्य तथा पूर्वी भागहरूमा दिनहुँजसो वर्षा भइरहेको छ । बर्खायाम सुरू भएसँगै नेपालमा प्राकृतिक विपत्तिका घटनाहरू बढ्ने गरेका छन् । नेपालमा वर्सेनि ५४० वटाजति प्राकृतिक प्रकोपहरू आउँछन्, जसको १५ प्रतिशत हिस्सा चट्याङले ओगटेको छ ।
हिजोआज मध्य बर्खाको असार–साउन महिनाजस्तै छिनछिनमा मौसम परिवर्तन हुने र त्यससँगै ठूलो आवाजमा चट्याङ पर्ने गरेको छ । चट्याङ पर्दा भूकम्प आएजस्तै घर थर्किने गरेको छ । विज्ञहरूका अनुसार चट्याङ ध्वनी शक्ति पनि हो । विज्ञानशास्त्रका प्राध्यापकका अनुसार चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो । बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ । दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ ।
चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको बखत र खुला ठाउँमा हिँडिरहेको बखत भन्ने विवरण आउने गरेको छ । विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ । ठूलो रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ ।
कसरी बच्ने चट्याङबाट ?
चट्याङबाट बच्ने उपाय सावधानी हो । चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ । यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन । अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ ।
आवाजले डराउनु पर्दैन । बिजुली चम्किँदा डराउनुपर्ने हो, ‘बिजुली चम्किँदै करेन्ट प्रवाह भइसकेको हुन्छ, यतिबेलै क्षति भइसकेको हुन्छ ।’ बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट मुक्त हुनु पनि हो ।
चट्याङ पर्न लाग्दा फलामे पदार्थभन्दा टाढै बस्नुपर्छ । यस्तो बेलामा सकेसम्म विद्युत उपकरणको प्रयोग गर्नु हुदैँन । यो बेलामा बिजुलीको पोल छेउमा बस्नु हुदैँन । सकेसम्म मोबाइल वा टेलिफोनको उपयोग नगर्नु नै राम्रो हुन्छ । चट्याङ पर्न लाग्दा पानीमा पौडिरहेको भए समतल भूमिमा निस्कनुपर्छ । चट्याङ पर्न लाग्दा सुरक्षित स्थानमा आश्रय लिनु पर्दछ । अग्लो वस्तु रूख, झन्डा बाँध्ने पाइप वा बाँस नजिक जानु हुदैँन । यस्तो बेलामा खुल्ला चौर, खुल्ला संरचना र गाडीमा पनि जानु हुदैँन । विद्युतको सुचालक वस्तु जस्तैः कम्युटर, टेलिफोनभन्दा टाढा बस्नु पर्दछ । चट्याङको आवाज आइरहेको बेला तारवाला फोन उपयोग गर्नु हुँदैन । आकाशमा बादल तीव्रताका साथ गर्जिरहेको छ भने पक्की भवनमा आश्रय लिनुपर्छ । वर्षाको चट्याङ केही समय मात्र हुने भएकाले बाहिर पर्नुभयो भने पर्खनु राम्रो हुन्छ । कुनै व्यक्ति चट्याङले प्रभावित भएको भए तुरन्त अस्पताल लानु पर्दछ । चटयाङ प्रभावित व्यक्तिको शरीरमा विद्युतीय झड्का रहँदैन त्यसैले यस्ता व्यक्तिलाई छुदाँ कुनै असर पर्दैन । चटयाङ पर्दा खुल्ला ठाउँमा भुइँमा पल्टिनु बढी सुरक्षित हुन्छ । –नव क्षितिज साप्ताहिकबाट