बिशेष गरी तामाङ समुदायका लागि खुशीको खबर ताम्सालिङ नामक चलचित्र बन्ने भएको छ । काभ्रेली निर्माता एवं कलाकार बिक्रम लामाको निर्माणमा ताम्सालिङ नामक तामाङ चलचित्र बन्न लागेको हो ।
अर्काे खुशीको खबर उक्त तामाङ चलचित्र गैह्र तामाङ विष्णु रिजालको निर्देशनमा बन्दै छ ।
बुधबार सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय नाचघर जमल, काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ठुले सिरियलका लेखक÷निर्देशक विष्णु रिजालले उक्त घोषणा गरेका हुन । उनले आफु गैह्र तामाङ भएपनि यो क्षेत्रमा तामाङ बाहुल्यता रहेको र सामाजिक सद्भाव उच्च देखाउन पनि आफुले उक्त चलचित्रको निर्देशन गर्न लागेको बताए । निर्माता बिक्रम लामाले सबैको सहयोगमा चलचित्र तयार हुने भन्दै ताम्सालिङलाई ऐतिहासिक बनाउने बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं पूर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज)ले बन्दै गरेको चलचित्रले तामाङ समुदाय र त्यसको ऐतिहासिकतालाई दस्तावेज बनाउन मद्धत गर्ने भन्दै सक्दो सहयोग गर्ने बताए ।
त्यस्तै निर्देशक रिजालले ठुले टिमका अग्रज कलाकार देशभक्त खनाललाई ठुले टिमका तर्फबाट रु ३ लाखको सम्मान गर्ने घोषणा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि दोङ, चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, सञ्चारकर्मी नवराज बजगाई, कलाकार रामचन्द्र अधिकारी, देशभक्त खनाल, वेब सिरिज ठुलेका निर्माता बिक्रम लामा, लेखक निर्देशक विष्णु रिजाललगायतले कला क्षेत्रका बारेमा बोलेका थिए । कार्यक्रममा कलाकारहरु हिउवाला गौतम, देशभक्त खनाल, सविन बाँस्तोला, विष्णु रिजाल, बिक्रम लामा, अर्पणा कार्की, आयुष्मा ढकाल, पवन खत्री, बबिता मगर, दिप श्रेष्ठ, सुरेन्द्र खड्कालगायतका साथै सञ्चारकर्मी नवराज बजगाई र पुजन धिताललाई सम्मान गरिएको यियो ।